वर्षा, बाढीपहिरो र सुख्खा पहिरो : देशभर कुन-कुन सडक अवरुद्ध छन् ?

नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्म देशभरका १२ वडा सडक अवरुद्ध छन्। वर्षा, बाढीपहिरो र सुख्खा पहिरोका कारण सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या भएको छ।

आश्विन ५, २०८२

कान्तिपुर संवाददाता

Rain, floods and landslides: Which roads are blocked across the country?

काठमाडौँ — दसैँ नजिकिँदा राजधानीबाट गाउँ फर्किनेहरूसहित आवतजावतको क्रम बढ्दो छ। तर वर्षा र बाढीपहिरोका कारण देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रुहरूलाई मार परेको छ।

नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्म देशभरका १२ वडा सडक अवरुद्ध छन्। वर्षा, बाढी पहिरो र सुख्खा पहिरोका कारण सडक अवरुद्ध हुँदा सवारी सञ्चालनमा समस्या भइरहेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार तीन दिनदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक आज पनि खुलेको छैन। चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलामा सुख्खा पहिरोका कारण सडक अवरुद्ध बनेको छ। यहाँ हजारौँको संख्यामा सवारीसाधनहरु फसेका छन्। 

त्यस्तै, जाजरकोट-डोल्पा सडकमा पनि सुख्खा पहिरो खसेर सडक पूर्णरुपमा अवरुद्ध छ। नलगाड नलगाड नगरपालिका-११ भिरकुनामा खसेको ढुंगा, माटोसहितको पहिरोले सडक अवरुद्ध बनेको हो।

यता म्याग्दीको बेनी –दरवाङ सडक खण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ। बेनी नगरपालिका-४ घुमाउनेमा लेदोसहितको पहिरो खसेको र पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। संखुवासभाको भोटखोला गाउँपालिका-४ बरुणखोलास्थित कोशी राजमार्ग पनि अवरुद्ध छ। बरुणखोलामा बाढी आई ह्युम पाइप बगाएपछि खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो। 

त्यस्तै, अरनिको राजमार्ग पनि पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। सिन्धुपाल्चोकको भोटेकोशी-२ कोदारीमा सडक भासिएका कारण अवरुद्ध हुन पुगेको हो। 

त्यस्तै, रसुवा बाढीका कारण नेपाल-चीन नाका जोड्ने मितेरी पुल क्षति भएका कारण यहाँको सडक पनि अवरुद्ध छ। रुकुम पश्‍चिमको आठबिसकोट नगरपालिका-६ स्थितमा जाजरकोट-डोल्पा सडक खण्ड पनि अवरुद्ध छ। रिजिगार खोलामा पानीको बहाव बढेपछि पुल नभएका कारण सडक अवरुद्ध भएको हो। 

गुल्मी कालीगण्डकी करिडोर सडक पनि पूर्णरुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ। कालीगण्डकी गाउँपालिका-२ राक्से स्थित कालीगण्डकी करिडोर सडक खण्डमा माथिबाट लेदो बगेर आएपछि सडक अवरुद्ध भएको हो। 

त्यस्तै, रसुवा पासाङ ल्हामु सडक खण्डमा पनि ठूला सवारी पास हुन सक्ने अवस्था छैन। अबिरल वर्षाको कारण यहाँ रहेको पुल भासिएकाले ठूला सवारीसाधन सन्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार वीपी राजमार्ग रातको समयमा मनसुन अवधिभर बन्द गरिएको छ। ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथमा पनि राति सवारी सन्चालन गर्न रोक लगाइएको छ । बेलुका ७ बजेदेखि बिहान ६ बजे सम्म सवारी साधन आवत-जावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। 

कान्तिपुर

Link copied successfully