पहिरोका कारण नारायणगढ-मुग्लिन सडक तीन दिनदेखि अवरुद्ध, साढे ११ हजार गाडी जाममा

पहिरोका कारण साढे ११ हजार गाडीहरू सडकमा फसेका छन्। पहिरो पन्छाउने काम जारी रहेपनि आजै सडक खुल्ने वा नखुल्ने निश्चित भइसकेको छैन।

आश्विन ५, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road blocked for three days due to landslide, 11,500 vehicles stuck in jam

चितवन — मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक तीनदेखि (शुक्रबार साँझ) देखि नै ठप्प छ । राजधानी काठमाडौंलाई पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक अवरुद्ध हुँदा दसैँको मुखमा घर जाने यात्रुहरू बाटोमै रोकिएका छन्। जिल्ला ट्राफिक कार्यालयले पहिरोका कारण विभिन्न टाउँमा परेर साढे ११ हजार गाडीहरू सडकमै फसेको जनाएको छ ।

सयौँ यात्रुहरूलाई असुविधा भएको छ। त्यहाँ खसेको भीषण पहिरो हिजो दिनभरमा लगभग आधा मात्रै सफा भयो । आज आइतबार बिहानबाटै पहिरो सफा गर्न सुरू भए पनि आजै बाटो खुल्ने नखुल्ने निश्चित छैन । तीन दिनदेखि बाट‍ोमा हजारौँ गाडीहरू जाममा परेका छन् ।

लेन अनुसार नभएर सडकमा गाडीहरू अस्त व्यस्त तरिकाले रोकिएको हुँदा पहिरो खुले पनि यातायात झट्टै सहज हुने सम्भावना कमै देखिन्छ । भरतपुरको डिभिजन सडक कार्यालयले यस्तो बेलामा वैकल्पिक मार्गहरू अपनाउन अपिल गरेको छ ।

काठमाडौँबाट मुग्लिनसम्म आएका पश्चिम जाने साना ठुला सवै खाले गाडीहरू पृथ्वीराजमार्गबाट पोखरा हुँदै गन्तब्यमा जान सक्ने डिभिजन सडक कार्यालयले विकलप दिएको छ । नभए  भिमाद हुँदै कालीगण्डकी करिडोर पनि प्रयोग गर्न भनेको छ ।

पूर्वबाट काठमाडौँ जाने आउने गाडीहरूले नौबिसे-दामन-हेटौंडा सडक प्रयोग गर्न सजिलो हुने छ । कालीगण्डकी करिडोरको नारायणगढ नजिक गैंडाकोटबाट डेडगाउँ, भिमाद हुँदै पृथ्वीराजमार्ग समाएर मुग्लिन निस्कन सक्ने विकल्प पनि डिभिजन सडक कार्यालयले दिएको छ ।

Narayangadh-Muglin road blocked for three days due to landslide, 11,500 vehicles stuck in jam

पहिरो आडबाट पैदलै ओहर दोहर गर्न मिल्ने ठाउँ पनि छैन । मुग्लिनबाट नदी तरेर तनहुँ पुगी त्रिशुली आडबाट भर्खर खन्न सुरू भएको समानान्तर सडकबाट पैदल, मोटरसाइकल या साना खाले गाडीमा पाँच किलो मिटर पर गएर झोलुङ्गे पुल तरी नारायणगढ-मुग्लिन सडक समाउन सकिने विकल्प पनि छ । हतार भएका यात्रुहरू यो कच्ची सडक हुँदै मुग्लिन ओहर दोहर गरिरहेका छन् ।

पृथ्वीराजमार्गको मझिमटार नजिक धादपङ हुग्दी खोलाबाट उकालो लागेर धादिङको जोगिमारा, कोट, बाँसपुर हुँदै चितवनको शक्तिखोर निस्कन मिल्ने ग्रामिण पहाडी सडक पनि मोटरसाइकल र फोर ह्वील भएका साना गाडीहरूले प्रयोग गर्न सक्ने छन् ।

यो बाटो पृथ्वीराजमार्गको मौवाखोला हुँदै पनि जान सकिन्छ । फाट्ट फुट्ट भ्यान र मोटरसाइकलहरू यो बाटो हुँदै यात्रा गरेको बाटो आडको गाउँ मायाटारका स्थानीय होटल सञ्चालक टीका गुरूङले बताए । बाँसपुरबाट शक्तिखोरसम्म यो सडक कालोपत्रे पनि छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully