नारायणगढ-मुग्लिन सडक आज खुल्ने-नखुल्ने अनिश्चित, यस्ता छन् वैकल्पिक मार्ग

पहिरो पन्छाउने काम भइरहे पनि सडक खुल्ने वा नखुल्ने भन्ने अझै निश्चित भइरहेको छैन। डिभिजन सडक कार्यालय भरतपुरले नारायणगढ-मुग्लिन सडक नखुल्दासम्म वैकल्पिक सडकहरू उपयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

आश्विन ५, २०८२

रमेशकुमार पौडेल

Narayangadh-Muglin road is uncertain whether it will be opened today, these are the alternative routes

काठमाडौँ — मुग्लिन नजिक तुइन खोलामा आएको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक तीनदेखि (शुक्रबार साँझ) देखि अवरुद्ध छ। पहिरो पन्छाउने काम भइरहे पनि सडक खुल्ने वा नखुल्ने भन्ने अझै निश्चित भइरहेको छैन। डिभिजन सडक कार्यालय भरतपुरले नारायणगढ-मुग्लिन सडक नखुल्दासम्म वैकल्पिक सडकहरू उपयोग गर्न यात्रुहरूलाई आग्रह गरेको छ।

कार्यालयले काठमाडौँबाट मुग्लिनसम्म आएका पश्चिम जाने साना ठुला सबै खाले गाडीहरूलाई पृथ्वीराजमार्गबाट पोखरा हुँदै गन्तब्यमा जान सक्ने डिभिजन सडक कार्यालयले विकल्प दिएको छ। नभए  भिमाद हुँदै कालीगण्डकी करिडोर पनि प्रयोग गर्न सुझाएको छ।

त्यस्तै, पूर्वबाट काठमाडौँ जाने आउने गाडीहरूले नौबिसे-दामन-हेटौंडा सडक प्रयोग गर्न सजिलो हुने कार्यालयको भनाइ छ। कालीगण्डकी करिडोरको नारायणगढ नजिक गैंडाकोटबाट डेडगाउँ, भिमाद हुँदै पृथ्वीराजमार्ग समाएर मुग्लिन निस्कन सक्ने विकल्प पनि डिभिजन सडक कार्यालयले दिएको छ ।

राजधानी काठमाडौंलाई पूर्व-पश्चिम महेन्द्र राजमार्गसँग जोड्ने मुख्य सडक अवरुद्ध हुँदा दसैँको मुखमा घर जाने यात्रुहरू बाटोमै रोकिएका छन्। जिल्ला ट्राफिक कार्यालयले पहिरोका कारण विभिन्न टाउँमा परेर साढे ११ हजार गाडीहरू सडकमै फसेको जनाएको छ । सयौँ यात्रुहरूलाई असुविधा भएको छ। त्यहाँ खसेको भीषण पहिरो हिजो दिनभरमा लगभग आधा मात्रै पन्छाइएको छ । 

पहिरो आडबाट पैदलै ओहर दोहर गर्न मिल्ने ठाउँ पनि छैन । मुग्लिनबाट नदी तरेर तनहुँ पुगी त्रिशुली आडबाट भर्खर खन्न सुरू भएको समानान्तर सडकबाट पैदल, मोटरसाइकल या साना खाले गाडीमा पाँच किलो मिटर पर गएर झोलुङ्गे पुल तरी नारायणगढ-मुग्लिन सडक समाउन सकिने विकल्प पनि छ । हतार भएका यात्रुहरू यो कच्ची सडक हुँदै मुग्लिन ओहर दोहर गरिरहेका छन् ।

पृथ्वीराजमार्गको मझिमटार नजिक धादपङ हुग्दी खोलाबाट उकालो लागेर धादिङको जोगिमारा, कोट, बाँसपुर हुँदै चितवनको शक्तिखोर निस्कन मिल्ने ग्रामिण पहाडी सडक पनि मोटरसाइकल र फोर ह्वील भएका साना गाडीहरूले प्रयोग गर्न सक्ने छन् ।

यो बाटो पृथ्वीराजमार्गको मौवाखोला हुँदै पनि जान सकिन्छ । फाट्ट फुट्ट भ्यान र मोटरसाइकलहरू यो बाटो हुँदै यात्रा गरेको बाटो आडको गाउँ मायाटारका स्थानीय होटल सञ्चालक टीका गुरूङले बताए । बाँसपुरबाट शक्तिखोरसम्म यो सडक कालोपत्रे पनि छ ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully