जेन-जी विद्रोह : आशावादी छन् अस्ट्रेलियाका नेपाली

अस्ट्रेलियामा रहेका नेपालीहरु जेन-जी विद्रोहपछि नेपालको राजनीति कता जाला र विद्रोहमा उठेका मुद्दाहरु कसरी अघि बढ्लान् भन्नेमा मुख्य चासो राखिरहेका छन् ।

आश्विन ५, २०८२

नारायण खड्का

Gen-G Rebellion: Australian Nepalis are optimistic

अस्ट्रेलिया — झण्डै दुई साताअघि भएको जेन-जी विद्रोह र त्यसपछि विकसित घटनाक्रमबारे अस्ट्रेलियामा रहेका नेपालीहरुलाई उत्तिकै चासो छ । हरेक दिन नेपालमा के भइरहेको छ भनेर उनीहरुले सूचना मात्रै लिइरहेका छैनन् त्यसबारे अनेकन धारणा पनि निर्माण गरिरहेका छन् ।

अस्ट्रेलियामा रहेका नेपालीहरु जेन-जी विद्रोहपछि नेपालको राजनीति कता जाला र विद्रोहमा उठेका मुद्दाहरु कसरी अघि बढ्लान् भन्नेमा मुख्य चासो राखिरहेका छन् । 

कान्तिपुरले अस्ट्रेलियामा रहेका केही प्रतिनिधि नेपालीहरुसँग जेन-जी विद्रोह र त्यसपछिको परिस्थितिबारे उनीहरुका धारणाहरु संकलन गरेको छ । 

नेपालीकै हातबाट नेपाल बन्नुपर्छ

सीता थापा : प्राध्यापक, युनिभर्सिटी अफ साउथ अस्ट्रेलिया

नयाँ पुस्तामा राजनीतिक सचेतना कमी छ र राजनीतिबारे उनीहरुमा कुनै चासो छैन भन्ने सोचलाई जेन-जी विद्रोहले गलत सावित गरिदिएको छ । उनीहरु जागरुक भएर सडकमा आउनु सकारात्मक कुरा हो । तर आन्दोलनको आडमा जसरी देशका सार्वजनिक सम्पत्तिमा क्षति पुग्यो त्यो एकदमै दुखद् कुरा हो । आन्दोलनमा जसरी कलिला बालबालिकाले ज्यान गुमाए त्यो झनै दुखद् कुरा हो । यतिका धेरैको योगदानपछि पनि देश अहिले अन्योलको स्थितिमा देखिएको छ । प्रवासमा रहेका नेपालीमा अब देश कुन बाटोमा जाने हो भनेर अन्योलमा छन् । नेपालीकै हातबाट नेपाल बन्नुपर्छ र विदेशी हस्तक्षेप हुनु हुँदैन भन्नका लागि सारा नेपालीहरु सचेत र सजग हुन आवश्यक छ । जेन-जीले दिएको योगदानलाई नभुलेर अहिलेको अन्योल चिर्नुपर्छ । 

भ्रष्टाचारविरुद्ध ‘जिरो टोलेरेन्स’

चिरञ्जीवी देवकोटा : पूर्व अध्यक्ष, अस्ट्रेलियन नेप्लिज जर्नलिष्ट एसोसिएसन (एञ्जा)

जेन-जीले भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा गरेको आन्दोलनमा दिएको योगदानलाई सम्हाल्न आवश्यक छ । बालबालिकाले आफ्नो ज्यानको आहुति दिएर जुन नेपालको परिकल्पना गरेका छन् त्यसलाई पूरा गर्न आवश्यक छ । अबको अवस्था सत्ता परिवर्तन, केही नेताको सत्ता बहिर्गमन, केहीको सत्ता आगमनमा मात्र सीमित भयो भने त्यसले लामो कालखण्डसम्म पनि नकारात्मक असर नेपाली समाजमा पार्छ । यसले नेपालीमा भएको आक्रोशको भावलाई अझ बढाउनेछ । अब राजनीतिक दलमा पनि राजनीतिक चेत भएका युवा आउन आवश्यक छ । 

आन्दोलनमा लागेका जेन-जी र अहिलेका दलमा रहेका र कर्नरमा पारिएका तर राम्रोलाई राम्रो भन्न सक्ने र सुशासनको पक्षमा रहने युवा मिलेर भ्रष्टाचारविरुद्ध ‘जिरो टोलेरेन्स’को अभियानका साथ नयाँ नेपाल निर्माण अघि बढ्नुपर्छ । यदी त्यसो गर्न सकिएन भने जेन-जीले गरेको यो योगदान र आन्दोलनको औचित्य पूरा हुन सक्छ जस्तो लाग्दैन ।  

यो विद्रोह नेताहरुप्रतिको गहिरो अविश्वासको परिणाम हो 

इथान शाक्य : उपाध्यक्ष, जनसम्पर्क समिति अस्ट्रेलिया

जेन-जी आन्दोलन हुनुको मुख्य कारण नै नेताले व्यक्तिगत लाभका लागि राज्यस्रोत प्रयोग गरेको, दण्डहीनता र अकर्मण्यता बढेको, समान अवसर उपलब्ध नभएका कारण नै हो । साच्चै भन्ने हो भने यो आन्दोलन सडकमा देखिएको आन्दोलन मात्र थिएन कि राजनीतिक संरचनाको असफलता, नेताहरुप्रतिको गहिरो अविश्वास पनि हो । यो आन्दोलनले पुरानो सत्ता सञ्चालनको शैलीलाई अस्वीकार गरिसकेको र नयाँ पुस्ताले जवाफदेही नेतृत्वको माग गरेको सशक्त सन्देश नै हो ।

अब भ्रष्टाचार विरुद्ध कठोर कारवाही सहित २०४६ पछि सार्वजनिक पदमा रहेका जो कोहीको सम्पत्ति छानबिन गरी दोषी देखिएका नेता वा कर्मचारी जो भए पनि हदैसम्मको कारबाहीको व्यवस्था हुनुपर्छ । सबै गैरकानुनी सम्पत्ति जफत गरी राज्यकोषमा राख्नुपर्छ भने नेता, कार्यकर्ता वा आन्दोलनकारी जो सुकै भए पनि आन्दोलनका क्रममा दोषी देखिएका सबैलाई कानुनी दायरमा ल्याउनुपर्छ । आन्दोलनमा भएको ऐतिहासिक सम्पत्ति तथा सरकारी भवनमा गरिएको तोडफोड र आगजनी गर्नेलाई पहिचान गरेर तत्कालै कारबाही गर्नुपर्छ ।  

युवालाई निर्णय प्रक्रियामा अग्रस्थान दिनुपर्छ

प्रेरणा ढुंगाना : विद्यार्थी

नेपालको जेन-जी आन्दोलन केवल सडकमा उत्रने र विरोध गर्ने मात्र थिएन, यो त वर्षौंदेखि रहेको भ्रष्टाचार र अन्याय अन्त्य गर्ने थियो । भ्रष्ट नेताले देश लुट्ने अनि नेपो बेबीहरु जन्मका कारण नै विशेषाधिकार पाउँदै आएका छन् । हाम्रो आन्दोलन केवल कुर्सी बदल्ने मात्र हैन कि इमान्दारी, क्षमता र पारदर्शिताका आधारमा नेतृत्व चयन गर्ने हो । यो आन्दोलन वास्तवमा जेन-जीका लागि मात्र नभएर सम्पूर्ण नेपाली समाजका लागि हो । आन्दोलन सम्पन्न भएपछिको हाम्रो माग भनेको सुधार हो तर त्यो नेतामा मात्र सीमित हुनु हुँदैन ।

ठूला व्यवसाय, मिडिया, प्रभावशाली समूह, जस जसले भ्रष्टाचार मौलाउन मद्दत गरेका छन्, सबैलाई जवाफदेही बनाउनुपर्छ । युवालाई निर्णय प्रक्रियामा अग्रस्थान दिनुपर्छ । निर्दोषलाई गोली हानी मारिएका सबै घटनाको निष्पक्ष छानबिन हुनुपर्छ । त्यतिमात्र नभएर विगत तीन दशकमा जम्मा भएको भ्रष्ट सम्पत्ति खोजी र असुली गरिनुपर्छ । पारदर्शी र निष्पक्ष निर्वाचन र विदेशमा रहेका नेपालीले समेत अनलाइनमार्फत आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्छ ।

नारायण खड्का अस्ट्रेलियाका कान्तिपुर प्रतिनिधि हुन् । उनले प्रवासी नेपाली समाज, राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully