किन अपडेट छैनन् प्रधानमन्त्रीका आधिकारिक सामाजिक सञ्जाल एकाउन्ट ?

प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालका अनुसार प्रधानमन्त्री सुशीला कार्कीको सचिवालय पूर्ण नभएका कारण अपडेटमा ढिलाइ भएको हो ।

आश्विन ४, २०८२

कान्तिपुर संवाददाता

Why is the Prime Minister's official social media account not updated?

काठमाडौँ — अन्तरिम सरकार गठन भएको एक हप्ताभन्दा बढी समय बितिसक्दा पनि सरकार अन्तर्गतका आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरू अपडेट हुन सकेका छैनन् । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको आठ दिन पुगिसक्दा पनि प्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयका सामाजिक सञ्जालहरू निष्क्रिय देखिएका हुन् ।

प्रधानमन्त्रीको एक्स(पहिलेको ट्विटर) एकाउन्टमा सेप्टेम्बर ३ यता कुनै पोस्ट गरिएको छैन भने फेसबुकमा सेप्टेम्बर १३ पछि नयाँ सामग्री राखिएको छैन । यसैगरी, अर्थ मन्त्रालयको ट्विटर अगस्ट २६ देखि मौन छ भने परराष्ट्र मन्त्रालयको फेसबुक सेप्टेम्बर १३ र ट्विटर सेप्टेम्बर १९ पछि अपडेट भएको छैन ।

आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरू निष्क्रिय भएको पाइएपछि हामीले प्रधानमन्त्री कार्यालयको सूचना प्रविधि महाशाखा हेर्ने सहसचिव सुवास ढकालसँग सम्पर्क गर्‍यौँ । उनका अनुसार प्रधानमन्त्रीको सचिवालय पूर्ण नभएका कारणले गर्दा अपडेटमा ढिलाइ भएको हो । 

सहसचिव ढकालले भने-'पछिल्लो विषम परिस्थितिका कारण र सम्माननीयज्यूको सचिवालय पूरा नभएका कारणले ढिलाइ भएको हो अन्यथा त्यस्तो केही पनि होइन । सचिवालय पूरा हुने बित्तिकै अपडेट हुन थाल्छ । अत्यावश्यक विषयहरू भएमा त्यो अपडेट भैहाल्छ ।'

यी एकाउन्टको स्वामित्व कसले लिन्छ ?

प्रधानमन्त्रीको आधिकारिक सामाजिक सञ्जाल अकाउन्टहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै हेर्ने सहसचिव ढकालले बताए । ढकालका अनुसार, फेसबुक, इन्स्टाग्राम, टिकटक र एक्स (पहिलेको ट्विटर) लगायतका सबै आधिकारिक सामाजिक सञ्जाल एकाउन्टहरूको स्वामित्व प्रधानमन्त्री कार्यालय अन्तर्गत सहसचिवको नेतृत्वमा रहेको निजी सचिवालयसँग हुन्छ । 

ढकालले भने- 'निजी सचिवालयमध्ये सरकारी कर्मचारी (सहसचिव) सम्मिलित सचिवालयले नै यी एकाउन्टहरूको व्यवस्थापन गर्छ । सहसचिव नेतृत्वको निजी सचिवालयभन्दा बाहिर हुँदैन । त्यही व्यक्तिको मोबाइलबाट मात्र अथेन्टिकेट गर्न सकिन्छ । सचिवालय फेरिएलगत्तै हस्तान्तरण हुन्छ । अहिले केही ढिलाइ भएका कारणले गर्दा अपडेट हुन नसकेको हो ।' 

कान्तिपुर

Link copied successfully