पुलको लागि पहाड काट्दा पहिरो खसेर थुनियो नारायणगढ–मुग्लिन सडक खण्ड

तुइन खोलामा फराकिलो पुल बनाउन पहाड ताछेपछि चार वर्षयता हरेक वर्षायाममा यसरी नै पटक पटक पहिरो खसेर दुख दिँदै आएको छ ।

आश्विन ४, २०८२

रमेशकुमार पौडेल

The Narayangadh-Muglin road section was blocked by a landslide while cutting the hill for the bridge

चितवन — फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर बाटो थुनिएको छ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिक इच्छाकामना गाउँपालिका-५ मा पर्ने तुइन ख‍‍ो‍लामा शुक्रबार साँझ खसेको पहिरो सफा नहुँदै शनिबार बिहानैदेखि ठूल‍ो पहिरो खसेपछि बाटो दिनभर खुलेन ।

शनिबार साँझसम्म पनि पहिरो हटाउने काम नसकिएका कारण मर्मतको काम रोकिएको छ । आइतबार बिहानबाट फेरि पहिरो हटाउन सुरु गर्ने भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ । तुइन खोलामा फराकिलो पुल बनाउन पहाड ताछेपछि चार वर्षयता हरेक वर्षायाममा यसरी नै पटक पटक पहिरो खसेर दु:ख दिँदै आएको छ ।

'यो पटक जेठदेखि पहिरो खस्न सुरु भएको हो । भदौ २६ यता पानी पर्‍यो कि पहिरो आउँछ । जेठयता शुक्रबार साँझसम्म पटक पटक गरेर तुइन खोलाको पहिरोले ४८ घण्टा बाटो अवरुद्ध  भएको छ,' भरतपुरको डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेले भने । शुक्रबार साँझदेखि शनिबार बिहानसम्म खसेको पहिरोले १६० मिटर सडक ढाकेको थियो । लगभग आधा पहाड नै सडकमा खसेको छ ।

मुग्लिनदेखि साढे दुई किलोमिटर पर नारायणगढतर्फ तुइन खोला पुल छ । पुलको मुग्लिनतर्फको भागमा कडा चट्टान परेर पहाड सजिलोसँग काट्न नपाएर पसल बनाउनै विलम्ब भएको थियो । सोही पुलको नारायणगढतर्फको मुखमा कमजोर चट्टान परेका कारण पहिरो गएर हैरान बनाएको छ । डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले दुई वर्षअघि असारमा सोही ठाउँमा पहिरो खसेर लगातार २४ घण्टा बाटो अवरुद्ध भएको बताए  ।

The Narayangadh-Muglin road section was blocked by a landslide while cutting the hill for the bridge

पुलका लागि पहाड काटेपछि सुरु भएको पहिरो रोक्न यो वर्ष रक नेटिङ गर्ने योजना थियो । तर बर्खा लागेकाले काम सुरु भएन । १६० मिटर लम्बाइमा र ७० मिटर उचाइमा अनुमानित लागत आठ करोड रुपैयाँमा रकनेटिङ गर्ने योजना रहेको इन्जिनियर अर्जुन घिमिरेले बताए । पहाड काटेको ठाउँलाई धातुको बलियो जालीले बारेपछि खस्ने सम्भावना भएका ढुंगा रोकिन्छन् । यसलाई नै रक नेटिङ भनिन्छ ।

वर्षाअघि रकनेटिङ गर्न सम्भव नभएपछि डिभिजन सडक कार्यालयले असार १२ गते अड्कने सम्भावना रहेका साना, ठूला ढुंगाहरु दिनभर बाटो बन्द गरेर तल झारेको थियो । त्यो बेला १६ मिटरमाथि सम्मका त्यस्ता ढुंगाहरु झारेको सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले बताए । तर शनिबार बिहान भीषण पहिरोसँगै ७० मिटरमाथिबाट ढुंगाहरु लगातार खसेका थिए ।

'एक हप्तायता पानी परेका कारण कल्पना नै गर्न नसक्ने गरेर आज ठूलो पहिरो खस्यो । जब कि आज पानी परेको थिएन । हप्ता दिनसम्म पानी परेर भिजेको भाग जति आज एकाएक झर्‍यो', इन्जिनियर अर्जुन घिमिरेले भने । 

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो सडक बनाउन १० वर्षअघि विस्तारको काम सुरु भएको थियो । विस्तारका बेला सडक चौडा बनाउन ठाउँ ठाउँमा पहाड काटिएको थियो । जसका कारण पहिरोको समस्या सुरु भएको थियो । सडक विस्तारका बेला काटेको पहाडबाट पहिरो झर्न अहिले धेरै कम भएको छ । तर सडक अनुसारका फराकिला पुल बनाउन फेरि पहाड काट्दा त्यहाँ पनि पहिरो गएको छ ।२०७६ सालको चैत्रमा तुइन खोलालगायत १५ ठाउँमा पुल बनाउन सुरु भएको थियो । तुइन खोलाको पुलबाट गत वर्षको मंसिरदेखि गाडी चल्न सुरु भएको हो । 

The Narayangadh-Muglin road section was blocked by a landslide while cutting the hill for the bridge

'पुलका लागि पहाड काटेको भाग सय मिटर जति हो । अहिले त्यो ठाउँमा १६० मिटरमा पहिरो गएर दुख दिइरहेको छ । पहाड नकाटेको ६० मिटरमा पनि पहिरो गयो,' इन्जिनियर घिमिरेले भने ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमा र पर्यटकीय सहर पोखरालाई पूर्व पश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक हो । यो सडक हुँदै दिनहुँ साना ठूला गाडी र मालवाहक ट्रकहरूसमेत गरी १० हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्दछन् । राजधानी काठमाडौंको लाइफलाइन अर्थात् जीवन रेखा भनिने यो सडकमा पछिल्लो दशकमा पहिरोले दिनसम्म दुख र सास्ती दिएको छ ।

सडकमा यात्रुको बिचल्ली, सीडिओले बाँडे खाजा 

पहिरोको आडैमा छ डडेलधुरादेखि काठमाडौँ जान आएको ना ८ ख ५७०४ नम्बरको यात्रु बस । जुन शुक्रबार साँझ साढे ६ बजेतिर त्यहाँ आइपुगेको हो । आउनासाथ पहिरोले बाटो थुन्यो ।

'शनिबार बाटो खुलेन । भोलि आइतबार कुन बेला खुल्ला ?' बसमा रहेकी वसन्ती महताले साथमा रहेका श्रीमान् कृष्ण महतासँग सोधी रहेकी थिइन् । कृष्ण पनि नाजवाफ थिए । भोलि खुल्ला, नखुल्ला नै उनलाई निधो थिएन । शनिबार बाटो नखुल्ने पक्का भएको थियो । वसन्तीको मन पिरोलिँदै थियो ।

The Narayangadh-Muglin road section was blocked by a landslide while cutting the hill for the bridge

काठमाडौँमा सरकारी जागिर खाने कृष्ण अपर्झट परेर घर गएका थिए । भदौ २ गते बिहीबार मध्याह्न उनी श्रीमतीसहित काठमाडौँ जान डडेलधुराबाट बस चढे । शुक्रबार बिहान पाँच बजे बस दाउन्ने आएको थियो । त्यसपछि पहिरोले बाटो थुनेका कारण बस लामो जाममा पर्‍यो । नारायणगढ आउँदा साँझको पाँच बजेको थियो । मुग्लिन कट्ने बेला हुँदै गर्दा साढे दुई किलो मिटर वरै पहिरो खसेर फेरि जाममा पर्‍यो । 

'जामै जामले हामी त हैरान भइयो । यस्तो अनकन्टार जस्तो ठाउँमा जाम भयो । खाजा खाने, पानी किनेर खाने ठाउँ पनि भेटिन । आज मध्याह्न अलि पर गएर चाउचाउ र पानी ल्याएर खायौ,' कृष्णले भने । पहिरो झरेपछि हिजो शुक्रबार साँझबाटै ठाउँ ठाउँमा गाडी रोकिएका छन् । कुरिनटार, मुग्लिन, नारायणगढदेखि लोथरसम्म साढे ११ हजार जति गाडी बाटोमा अड्केको चितवन जिल्ला ट्रालिक कार्यालयका प्रमुख रहेका प्रहरी निरीक्षक गायत्रीराज शर्माले बताए । त्यसैले हजारौं यात्री कृष्ण र बसन्ती बस्तै भोक प्यासै सडकमा छन् ।

कम्तीमा पनि बजारभन्दा बाहिर अलि गाह्रो ठाउँमा जाममा परेका यात्रुहरूलाई चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले खाजा बाँडेका छन् । प्रमुख जिल्ला अधिकारी अर्यालसहित नेपाल प्रहरी,सेना,सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरू सम्मिलित टोलीले खाजा वितरण गरेको हो ।

नारायणगढका व्यवसायी चन्दन अग्रवालले खाजा सहयोग गरेका छन् । १५ सयदेखि दुई हजार यात्रुलाई खाजा वितरण गरेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

पहिरो सफा गर्ने काम शनिबार साँझ सात बजेदेखि रोकिएको छ । पहिरोसँगै ढुंगा पनि झरी रहेका कारण रातको समयमा काम गर्न जोखिम हुने इन्जिनियर अर्जुन घिमिरेले बताए । बाँकी काम आइतबार बिहान उज्यालोमा सुरु हुने छ । डिभिजन सडकसँग भएका सबै मेसिन उपकरणका साथै नागढुंगा मलेखु मुग्लिन सडक योजनाका मेसिन उपकरणहरू पनि पहिरो सफा गर्न प्रयोग गर्ने उनले बताए ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully