नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन् ।
काठमाडौँ — मुलुकका विभिन्न स्थानमा पहिरोका कारण अवरुद्ध सडक खुलाउन सरकारले पहल थालेको छ । शुक्रबार रातिदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिनसहित देशभरका मुख्य सडकमा यात्रु अलपत्र परेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सम्बन्धित निकायका प्रमुखसँग बैठक डाकेका छन् ।
बैठकमा दसैँ र तिहारका लागि यातायात व्यवस्थापन तथा अवरुद्ध सडक खुलाउने विषयमा छलफल गरिने र त्यसका लागि कार्यदल बनाउने जनाइएको छ ।
हिजो साँझ करिब ६ः३० बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएको थियोे । करिब ७० मिटर माथिबाट निरन्तर ढुङ्गा झरिरहेको र आज बिहान ७ः४० मा पुनः ठूलो पहिरो खसेर सडक अवरुद्ध छ ।
हाल सो स्थानमा तीन वटा ‘लोडर’ र एउटा ‘स्काभेटर’ परिचालन गरी दुवैतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । थप पहिरो नखसेमा कम्तीमा चार घण्टापछि सडक सञ्चालन हुने सम्भावना छ ।
पहिरो पन्छाएर यातायात सञ्चालन गर्न सम्भावना नदेखिएपछि वैकल्पिक बाटो अपनाउन सवारी साधनलाई अनुरोध गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पहिरो ठूलो भएको र आजै पन्छाउन सम्भव नदेखिएकाले वैकल्पिक मार्ग अपनाउन अपिल गरेका हुन् ।
बिहानपख तुइनखोला झन् ठूलो पहिरो खसेपछि बाटो पूर्ण रुपमा बन्द भएको हो । माथिबाट निरन्तर ढुंगाहरु खसिरहेका कारण काम सुरु नै गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी अर्यालको भनाइ छ । काम सुरु भएमा पनि पहिरो पूर्ण रुपमा सफा गर्न झण्डै १० घण्टाजति लाग्न सक्ने अर्यालले बताएका छन् ।
दाउन्नेमा सास्ती
वर्षाका कारण पूर्व पश्चिम राजमार्गको दाउन्ने खण्डमा गाडी फस्दा सडक पार गर्न सवारीसाधनलाई कम्तीमा ७ घण्टा लाग्ने गरेको छ । बुटवल-नारायणगढ सडकमा यात्रा गर्ने यात्रुले तीन दिनयता यस्तै समस्या भोग्नुपरेको छ । गत बिहीबारदेखि दाउन्ने खण्डको विश्कर्मा मन्दिर नजिक गाडी फस्ने गरेका छन् । ठाउँठाउँमा पहिरो खस्दा चालक र यात्रु हैरान छन् ।
बुटवलतर्फबाट कावासोती-नारायणगढ आउने गाडी घण्टौं आलोपालो वारपार हुँदै आए पनि दुम्कीबासबाट बर्दघाट-बुटवलतर्फ जाने गाडी वारपार हुन ७ घण्टाभन्दा धेरै समय लाग्ने गरेको छ ।
दाउन्नेको १४ किलोमिटरमध्ये करिब ७ किलोमिटर एकतर्फी ढलान सडक निर्माण भइसकेको छ । नजिकिएको दसैं मनाउन घर हिँडेका हजारौं यात्रुको दाउन्नेमा बिजोग छ ।
राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ कम्पनीले दाउन्ने सडक भत्काएर निर्माण नगरेका कारण यहाँ यात्रुको बिजोग भएको हो । बुटवल-नारायणगढ खण्डको यो सडकमा दैनिक १८ हजार गाडी ओहोरादोहोर गर्ने जिल्ला ट्राफिक प्रहरीको तथ्यांक छ ।
यही हुन् अवरुद्ध राजमार्ग
केही दिनयताको वर्षासँगै आएको बाढी र पहिरोले देशका विभिन्न सात राजमार्ग अवरुद्ध भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताए।
उनका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ । कोशी राजमार्गकै मकालु गाउँपालिकाको एकुवामा पनि सडक अवरुद्ध छ । त्यसैगरी सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ सिरिसेमा पहिरोले सडक अवरुद्ध छ ।
बाढीका कारण रसुवासँग चीन जोड्ने मितेरी पुलमा पनि बाढीले सडक अवरुद्ध भएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको कोदारी र डाक्लाङमा पहिरो खसेर दुवै स्थानमा अवरुद्ध छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा पहिरो खसेर नारायणगढ मुग्लिन सडक अवरुद्ध छ । यहाँ शुक्रबार बेलुकादेखि पहिरो खस्न थालेको र आज बिहान पनि खसिरहेकाले पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोर रत्न राजमार्ग, पूर्वपश्चिम राजमार्ग गल्छी त्रिशूली सडकलगायतमा भने एकतर्फी रुपमा खुलाइएका छन् ।
