एक महिना बितिसक्दा पनि संक्रमण कसरी फेलियो भनेर स्रोत नै पत्ता लागेन ।
पर्सा — एक महिनादेखि हैजा फैलिएको वीरगन्जमा संक्रमण फेरि उकालो लाग्दै गएको छ । पछिल्लो तीन/चार दिनयता यहाँका अस्पतालमा झाडापखाला र हैजाका बिरामीको संख्या पुनः बढ्न थालेको छ ।
वीरगन्ज महानगरपालिकाको कार्यालयले शनिबार साँझ साढे ५ बजे सार्वजनिक गरेको तथ्यांक अनुसार महाननगरमा मात्रै हैजा संक्रमितको सख्या २ सय १९ पुगेको छ । उता पोखरिया अस्पतालमासमेत १ संक्रमित थपिएर हैजा संक्रमितको संख्या १८ पुगेको छ । वीरगन्ज र पोखरियामासमेत गरी जिल्लामा कूल हैजा संक्रमितको संख्या २ सय ३७ पुगेको छ । २४ घण्टामा वीरगन्ज र पोखरियामा गरी झाडापखाला र हैजाका २७ नयाँ बिरामी थपिएका छन् ।
हालसम्म वीरगन्ज महानगर र पोखरिया अस्पतालमासमेत गरी झाडापखाला र हैजाका १ हजार ४ सय ५१ बिरामी आएकोमा १ हजार ४ सय २१ डिस्चार्ज भई घर फर्किएका छन् । ३० अझै विभिन्न अस्पतालमा उपचाररत छन् । तीमध्ये २ आईसियु, एक एचडियु र २७ जनरल वार्डमा भर्ना छन् । हैजा संक्रमितमध्ये वीरगन्जको प्रभु अस्पतालमा २, तराई अस्पतालमा १ र पोखरिया अस्पतालमा उपचाररत छन् ।
तीन/चार दिनयता वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमण पुनः बढेको नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंह बताउँछन् । शुक्रबार मात्रै नारायणी अस्पतालमा झाडापखालाका ६ बिरामी आउँदा तीन जनामा हैजा संक्रमण पुष्टि भएको उनले बताए । दैनिक २०, २२ जनासम्म झाडापखाला र हैजाका बिरामी अस्पताल आउने गरेको उनले बताए ।
हैजा संक्रमण सुरुवात भएको महानगरको वडा १२ र ११ का झाडापखालाका बिरामी दोहोरिएर अस्पताल आउन थालेको पनि उनले बताए । ‘एक पटक निको भएर गएकाहरू फेरि झाडापखाला लागेर आउन थालेका छन्,’ उनले भने, ‘यसले उनीहरुले सेवन गर्ने पानीमै समस्या रहेको देखिन्छ ।’
एक सातायता वीरगन्जमा दैनिकजसो पानी परिरहेको र यहाँका नालाहरूमा अझै पनि हैजा संक्रमण फैल्याउने ब्याक्टेरिया रहेको यकिन भएको उनले बताए । ‘सामान्यतया हैजाको किटाणु पाँच दिनसम्म पानीमा जीवित रहन्छ,’ उनले भने, ‘वर्षात हुन थालेपछि नालाको जलस्तर बढेको र तीनमा रहेको किटाणु नालामा रहेका खानेपानीका पाइपका लिकेजहरुबाट पानीमा मिसेर घरघरमा पुग्न थालेको छ ।’
हैजा संक्रमण देखिएको एक महिना भइसक्दा पनि वीरगन्ज महानगरमा यो संक्रमण फैलाउने स्रोतको पहिचान हुन सकेको छैन । एक महिनाको अवधिमा हैजा संक्रमण कुनै बेला ह्वात्तै बढ्ने, कुनै बेला घट्ने र कहिले बेला स्थिर बिन्दुमा रहने गरेको छ । हाल भने तीन/चार दिनयता फेरि संक्रमण उकालो लाग्ने क्रममा रहेको छ । विभिन्न संघसंस्थाले वीरगन्ज, जनकपुर र काठमाडौंमासमेत यहाँको पानीको नमूना संकलन गरेर छुट्टाछुट्टै प्रयोगशालाहरुमा गरेको परीक्षणमा पानीमा हैजा फैल्याउने किटाणु फेला परेको छैन ।
लामो प्रयास पछि पनि वीरगन्ज महानगर क्षेत्रमा हैजा संक्रमण घटेको छैन । बरु झन्झन् बढ्दो क्रममा छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रवक्ता एवम् अधिकृत जयमोद ठाकुर स्थानीय आफैं सचेत र सतर्क नभएसम्म सजिलै हैजा संक्रमण नियन्त्रणमा नआउने बताउँछन् ।
‘सचेतना कार्यक्रममा जोड दिए पनि स्थानीयमा चेतना बढ्न सकेको छैन, धेरै स्थानीयले अझै पनि खानेपानी शुद्धीकरण नगरी सेवन गरिरहेका छन्,’ उनले भने । सबैले सावधानी अपनाउँदै पानी उमालेर मात्र खाने गर्नु नै यसको रोकथामको उत्तम उपाय रहेको ठाकुर बताउँछन् ।
