क्षति पुगेका प्रहरी संरचनाको विवरण संकलन र मूल्यांकन गर्न डीआईजीको नेतृत्वमा कार्यदल गठन

प्रदर्शनकारीको तोडफोड र आगजनीपछि काठमाडौं उपत्यका प्रहरी कार्यालय, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित प्रहरीका ब्यारेक र कार्यालयसहित १ सय ९७ युनिट पूर्ण रुपमा जलेर खरानी भएका छन् भने २ सय ५८ युनिटमा आंशिक क्षति भएको छ ।

आश्विन ३, २०८२

कान्तिपुर संवाददाता

Formation of a task force under the leadership of DIG to collect and evaluate the details of damaged police structures

काठमाडौँ — प्रहरी प्रधान कार्यालयले जेन-जीको अगुवाईमा भएको आन्दोलन र त्यसपछिको प्रदर्शनका क्रममा घटनामा क्षति पुगेका प्रहरीका भौतिक संरचनाको क्षति संकलन र मूल्यांकन गर्न डीआईजीको नेतृत्वमा कार्यदल गठन गरेको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले डीआईजी दीपक रेग्मीको नेतृत्वमा कार्यदल गठन गरेका हुन् । जेन–जीको अगुवाईमा भदौ २३ गते भएको आन्दोलन र त्यसपछि भोलिपल्टको प्रदर्शन भड्किएर हिंसात्मक बनेपछि प्रहरीका मात्रै देशभर साढे ४ सय युनिटमा तोडफोड र आगजनी भएको छ ।

प्रदर्शनमा राष्ट्रपति भवन शीतल निवास, प्रधानमन्त्री निवास वालुवाटार, सर्वोच्च अदालत, सिंहदरबार, संघीय संसद् भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सरकारी, सार्वजनिक, निजी र व्यावसायिक भवन/प्रतिष्ठानहरु जलाइएको थियो । यस क्रममा प्रहरीका मात्रै काठमाडौं उपत्यका प्रहरी कार्यालय, उपत्यका अपराध अनुसन्धान कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालयसहित प्रहरीका ब्यारेक र कार्यालयसहित १ सय ९७ युनिट पूर्ण  रुपमा जलेर खरानी भएका छन् भने २ सय ५८ युनिटमा आंशिक क्षति भएको छ । लुटपाट र आगजनीपछि सुरक्षा सामाग्री पनि लटिएका छन् । यसमध्ये देशभरबाट विभिन्न क्यालिभरका ११ सय नाल घातक हतियार पनि लुटिएका छन् । केन्द्रीय कारागार र नख्खु कारागारसहित देशका २६ कारागार/बन्दी गृहबाट कैदीबन्दी जेलमा तोडफोड र आगजनी गरेर फरार भएका छन् । 

गृह मन्त्रालयका अनुसार कैदीबन्दी र अनुसन्धानका लागि हिरासतमा रहेकासहित १४ हजार ४३ जना जेल र प्रहरीका हिरासत कक्ष तोडेर भागेका छन् । यसमध्ये करिब ४ हजार मात्रै पक्राउ परेकामा बाँकी अझै फरार छन् । फरार कैदीबन्दी र विध्वंस मच्याउनेको खोजी गर्न प्रहरी प्रधान कार्यालयले देशभर विशेष संयन्त्र परिचालन गरेको छ । गृह मन्त्रालयसहित सुरक्षा निकायहरुले पनि यसबारे सूचना/जानकारी दिन सर्वसाधारणलाई अपिल गरेका छन् । जेल र हिरासतबाट भागेका कैदीबन्दी र थुनुवाहरुका कारण देशभर अपराध हुनसक्ने जोखिम छ । यसैलाई मध्यनजर गरेर शुक्रबार गृहले अपराधका सूचना दिन सार्वजनिक अपिल गरेको छ ।

कान्तिपुर

Link copied successfully