जेन–जी आन्दोलनपछि भड्किएको हिंसामा प्रहरीका ११ सय नाल हतियार लुटिए, ४ सय ५५ ब्यारेक र कार्यालयमा क्षति

प्रहरीका ब्यारेक र कार्यालयमै तोडफोड र आगजनी गरेर विभिन्न क्यालिभरमा १ हजार १ सय थान हतियार लुटपाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

1100 weapons of the police were stolen, 455 barracks and offices were damaged in the violence that broke out after the Gen-G movement.

काठमाडौँ — ‘जेन–जी’ को अगुवाईमा भएको आन्दोलन र त्यसपछि भड्किएको हिंसामा नेपाल प्रहरीका ११ सय थान हतियार लुटपाट भएका छन् ।

जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा सरकारी पक्षबाट दमन भएपछि अर्को दिन २४ भदौमा काठमाडौंसहित देशभर तोडफोड, आगजनीसहित हिंसा भड्किएको थियो । त्यस क्रममा प्रहरीका ब्यारेक र कार्यालयमै तोडफोड र आगजनी गरेर विभिन्न क्यालिभरमा १ हजार १ सय थान हतियार लुटपाट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आन्दोलन भड्किएपछिको प्रदर्शन हिंसात्मक बन्दा काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित देशभरका ४ सय ५५ वटा ब्यारेक/कार्यालयहरूमा तोडफोड, आगजनी र लुटपाट भएको थियो । प्रहरी प्रधान कार्यालयका एसएसपी रमेश थापाका अनुसार ठूला/साना गरी १ हजार १ सय थान हतियार लुटपाट भएको थियो भने १ सय ९७ कार्यालय पूर्ण र २ सय ५८ कार्यालयहरूमा आंशिक क्षति पुगेको छ ।

आन्दोलनका क्रममा प्रहरीका ३ जनाले कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका छन्, १ हजार ९ सय ६३ प्रहरी घाइते भएका भए । घाइतेमध्ये १ हजार ९ सय ३९ जना प्रहरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् भने २४ जना प्रहरी उपचारका क्रममा छन् । जेन–जी आन्दोलनका क्रममा ७३ जनाको ज्यान गएको छ ।

सयौं सर्वसाधारण घाइते भएका छन् । आन्दोलनपछि भड्किएको हिंसामा संसद् भवन, सर्वोच्च न्यायालय, राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, प्रधानमन्त्री कार्यालयसहित सरकारी/सार्बजनिक, निजी भवन/प्रतिष्ठान र कार्यालयसमेतमा विध्वंस गरिएको छ । विध्वंसमा खर्बौं रुपैयाँको क्षति भएको आकलन गरिएपनि क्षतिको यकिन विवरण संकलन भइसकेको छैन ।

कान्तिपुर

Link copied successfully