गृहमन्त्रीले लिए ७७ जिल्लाका सीडीओसँग सुरक्षालगायतको ब्रिफिङ 

गृहमन्त्री अर्यालले सोमबार जिम्मेवारी सम्हालेपछि सबै जिल्लाका सीडीओहरुसँग त्यहाँकै अवस्थाबारे ब्रिफिङ लिएको र उनले केही निर्देशन पनि दिएको एक सीडीओले बताए ।

भाद्र ३१, २०८२

कान्तिपुर संवाददाता

The Home Minister held a briefing with the CDOs of 77 districts including security

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग छलफल गरेका छन् । भर्चुअल रुपमा गरिएको छलफल तीन कुरामा केन्द्रित भएको थियो ।

बैठकमा शान्ति सुरक्षा, नजिकै आएको चाडपर्व अनि संविधान दिवस मनाउने बारेमा छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । 

अर्यालले सोमबार जिम्मेवारी सम्हालेपछि सबै जिल्लाका सीडीओहरुसँग त्यहाँकै अवस्थाबारे ब्रिफिङ लिएको र उनले केही निर्देशन पनि दिएको एक सीडीओले बताए । उनका अनुसार जेनजीहरु आन्दोलनपछि सुरक्षा थ्रेट महसुस गरिरहेको सूचना गृह मन्त्रालय र मन्त्रीलाई आउन थालेपछि उनीहरुको विशेष निगरानी गरी  सुरक्षाको प्रत्याभूति दिने अनि सबै नागरिकको सुरक्षामा सुरक्षा निकायलाई केन्द्रित गरी काम गर्न गृहमन्त्री अर्यालले निर्देशन दिएका छन् । 

त्यस्तै भर्खरैमात्र अन्तरिम सरकार बनेको र देशभर नै आन्दोलन र डरको वातावरण भएकाले विशेष निगरानीका साथै नागरिकलाई आश्वस्त गराउने गरी काम गर्न गृहमन्त्री अर्यालले निर्देशन दिएका छन् । ‘पहिलो छलफल भएकाले औपचारिकता र ताजा अवस्थाको बारेमा धेरै ब्रिफिङ भयो । शान्ति सुरक्षा अनि चाडपर्वको सुरक्षामा छलफल केन्द्रित भयो,’ एक सीडीओले भने, ‘असोज ३ गते संविधान दिवस मनाउने विषयमा पनि छलफल भएको छ ।’ 

निर्वाचनबारे मंगलबारको बैठकमा कुनै पनि छलफल नभएको गृह मन्त्रालय स्रोतको दाबी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully