भारत हिमाञ्चलको सिमलामा जिप दुर्घटनामा ४ नेपालीको मृत्यु । उनीहरूको शव नेपालतर्फ ल्याउने तयारी भइरहेको छ ।
कञ्चनपुर — स्याउ ढुवानी गरेर फर्किने क्रममा जिप अनियन्त्रित हुँदा भारतको हिमाचल प्रदेशको कोटखाई नजिकै खोला क्षेत्रमा ४ नेपालीको ज्यान गएको छ । सोमबार बिहान स्याउ ढुवानी गर्ने जिप दुर्घटना हुँदा नेपाली मजदुरहरूको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ५५ वर्षीय डिल्लीबहादुर शाही, ३९ वर्षीय एकेन्द्र शाही, ३८ वर्षीय राजेश विष्ट र २४ वर्षीय लक्ष्मी रहेको कोटखाई प्रहरीले जनाएको छ । ‘तीन जना गाडीमा थिए, अरू पैदल हिँडिरहेका थिए,’ एक प्रहरी अधिकारीले भने, ‘अचानक गाडी अनियन्त्रित भएर भीरमा खस्न पुग्यो, गाडीमा भएकासँगै पैदल हिँडिरहेका व्यक्तिहरूको पनि मृत्यु भयो ।’
प्रहरीका अनुसार दुर्घटनामा परी दुई जना नेपाली कामदार घाइते भएका छन् । घाइते हुनेमा नेपबहादुर शाही र साजन रहेका छन् । कोटखाई प्रहरीले उनीहरूको ठेगाना खुल्न नसकेको जनाएको छ ।
स्याउ टिप्न तथा ढुवानीको कामका लागि उनीहरू शिमला पुगेका थिए । कोटखाई शिमलाबाट ६० किलोमिटरको दूरीमा पर्छ । शिमलाको कोटखाई उपमण्डलको रामनगर क्षेत्रको खोला भन्ने ठाउँमा स्याउ ढुवानी गरेर फर्किने क्रममा दुर्घटना भएको हो ।
मृतक सबैको शिमलामा पोष्टमार्टम भएको प्रहरीले जनाएको छ । उनीहरूको शव नेपालतर्फ ल्याउने तयारी भइरहेको उनले बताए ।
दिल्लीस्थित नेपाली दूतावासले भने घटनाबारे जानकारी नभएको जनाएको छ । ‘सञ्चारमाध्यमबाट केही जानकारी आएको छ, तर पूर्ण विवरण प्राप्त भएको छैन,’ नेपाली दूतावासका काउन्सिलर प्रकाश मल्लले भने ।
