‘सहिदको सपना पूरा होस् !’

नेपालको राष्ट्रिय झन्डा फहराउँदै वरिपरिबाट आवाज गुन्जिन थाले, 'सहिदको सपना पूरा होस् ।' सडकमा हिँडिरहेका सर्वसाधारण पनि टक्क  रोकिए । सम्मानजनक यात्रा गरिरहेको शवलाई देखेर उनीहरूले परैबाट ढोगे । सायद देश परिवर्तनका लागि ज्यान आहुति दिएका ती युवाहरूप्रति उनीहरूको असीम श्रद्धा थियो । ‘वीर सहिद अमर रहून्,’ नारा बाटोभरि दोहोरिरह्यो ।

भाद्र ३१, २०८२

रीना मोक्तान, समर्पण श्री

”May the martyr's dream come true!”

What you should know

काठमाडौँ — ‘तपाईंहरु यसरी कन्टेन्ट बेच्न नखोज्नुस् त । यस्तो अवस्था छ, अलिकति संवेदनशील हुनु न,’ भित्तामा अडेसिएर भुइँमा मुर्छा परिरहेका ७८ वर्षीय वासुदेव जोशीलाई क्यामेरा र बुमसहित घेरिरहेका सञ्चारकर्मीहरूसँग आक्रोशित हुँदै एक युवकले गाली गरे‌ ।

'हामी पनि उहाँको आफ्नै त हो नि, बोल्नै खोज्नुभा'को थियो,' बुम तेर्स्याइरहेका एक सञ्चारकर्मीले प्रतिवाद गरे । अनि उठेर हिँडे । उनीसँगै अन्य सञ्चारकर्मी पनि त्यो ठाउँबाट तितरबितर भए ।

खासमा उनले भनेझैँ वासुदेव बोलिरहेका चाहिँ थिएनन् । छोरा गुमाउनुको पीडाले बरबराइरहेका थिए । वासुदेवका नातेदारले उनलाई सम्हालिरहेका थिए ।

'छोराकै लागि अर्को बिहे गर्नुभयो । बुढेसकालको एक्लो छोरो । ऊ नै नरहेपछि मन बुझाउन गाह्रो भइरहेको छ,' बुहारी पर्ने नातेदारले हामीलाई सुनाइन् ।

समय बिहान १० को उकालोतिर थियो । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको पोस्टमार्टम विभाग परिसरमा मानिसहरूको बाक्लो भीड थियो । भीडका आवाजहरूलाई चिरेर त्यहाँ महिलाहरूको आर्तनाद निरन्तर आइरहन्थ्यो । भित्रदेखि बाहिरसम्म लस्करै शववाहन (एम्बुलेन्स, मिनीट्रक) फूलका माला, राष्ट्रिय झन्डा र ब्यानरका तस्बिरहरूले सजिएका थिए ।

ती सुसज्जित गाडीहरू जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको पर्खाइमा थिए । त्यही क्रममा भित्रबाट एउटा कफिन बाहिर निकालियो । कफिनभित्र सदाका लागि शान्त निदाइरहेका लहानका विजय चौधरी(२५) थिए । तर विजयकी श्रीमती भने अशान्त थिइन् । उनी जोडले चिच्याउँदै रोइरहेकी थिइन् । उनलाई केही महिलाहरूले सम्हाल्दै गेटबाहिर ल्याए । बेञ्चमा बसाएर थम्थम्याउन थाले । केहीले उनको टाउकोमा पानी छर्किए । उनी अचेतझैँ देखिइन् ।

एक दर्जनभन्दा बढी क्यामेराहरूले उनको आर्तनाद कैद गरिरहेका थिए । आफू सम्हालिन सकिरहेकी थिइनन् । तैपनि आमा बिना एकछिन नअडिने बालखा छोरीलाई उनको काखमा आफन्तहरूले थमाइए । आमाको काखमा पुगेपछि साढे दुई वर्षकी छोरी फुरुङ्ग देखिइन् ।

'अरूसँग मान्दै मान्दिन । आमा नै चाहिन्छ । तर आमालाई यस्तो गाह्रो भइरहेको छ । उसलाई त के  भइरहेको छ के थाहा र,' आमाकै काखमा खेलिरहेकी छोरीतर्फ हेर्दै एक महिलाले भनिन् । ती महिला विजयकी श्रीमतीकी दिदी थिइन् । उनलाई बहिनीभित्र परिरहेको बज्रपातले गाँजेको थियो । पीर एउटै थियो- अब बहिनीको भविष्य के होला ?

विजय काठमाडौंमा वायरिङको काम गर्थे । उनले श्रीमती र छोरीलाई काठमाडौँमै राखेका थिए । ‘उनीहरूलाई एक्लै पारेर कहिल्यै नफर्किने गरी गए,’ उनले आँसु पुछ्दै भनिन् ।

यही ठाउँमा यस्तै कारुणिक दृश्य हामीले पटक पटक देख्यौँ । अघिल्लो दिन सोमबार दिउँसो पोस्टमार्टम कक्षबाट बाहिर निकालेको शवलाई एउटी अधबैँसे महिला टोलाउँदै हेरिरहेकी थिइन् । उनी कफिनभित्र चिर निदाइरहेका शवकी आमा थिइन् । त्यहाँका एक कर्मचारीले उनलाई कलम र कागज थमाइदिए । कागजमा हस्ताक्षर गर्न कलम थमाएका उनका हात निकैबेर काँपे । उनका अनुहार रुँदारुँदै थकित देखिन्थे । उनी बोल्न सकिरहेकी थिइनन् । श्रीमान् गुमाइरहेका श्रीमती र कलिला सन्तान गुमाइरहेका आमाहरूको चित्कार सुनिरहँदा त्यतिबेला कानमा कवि हरिभक्त कटुवालका कविताका हरफहरू गुन्जिरहे– अकालमै मर्नका लागि त सन्तान कसैले नजन्माए हुन्छ ।

मंगलबार आन्दोलनमा ढलेका बाँकी शवहरूलाई अस्पतालबाट बिदाइ गर्ने अन्तिम दिन थियो । यो दिन कहिले आकाश झरीमा रुझेझैँ देखिन्थ्यो । कहिले घामका किरण पठाएर न्यानो बाँड्न खोजेझैँ देखिन्थ्यो । तर मडारिरहेका मनहरू कुनै शीतल थिएनन् ।

भदौ २३ गते गोली लागेर ढलेका रसिक खतिवडा (२२) को शव ९ दिनपछि उठ्यो । उठ्दै गर्दा आमा रचनाको चिच्याहट सुनियो, ‘मेरो बाबु, मलाई पनि सँगै लैजाऊ न !’ गाडीमाथि कफिन । कफिनमाथि रचना घोप्टिएर रोइरहेकी थिइन् । उनको रुवाइसँगै गाडी अगाडि बढ्यो । 

लस्करै एकपछि अर्को शव सजाइएका गाडीले पशुपतितर्फको बाटो समाउँदै महाराजगन्जको प्राङ्गण छोडे । अघिअघि नेपाल प्रहरीको गाडी, पछिपछि शववहानको लस्कर । एक हुल मोटरबाइकहरू पनि । नेपालको राष्ट्रिय झन्डा फहराउँदै वरिपरिबाट आवाज गुन्जिन थाले, 'सहिदको सपना पूरा होस् ।'

सडकमा हिँडिरहेका सर्वसाधारण पनि टक्क  रोकिए । सम्मानजनक यात्रा गरिरहेको शवलाई देखेर उनीहरूले परैबाट ढोगे । सायद देश परिवर्तनका लागि ज्यान आहुति दिएका ती युवाहरूप्रति उनीहरूको असीम श्रद्धा थियो । ‘वीर सहिद अमर रहून्,’ नारा बाटोभरि दोहोरिरह्यो । नारासँगै गाडी सुकेधारा, गौशालाको सडक हुँदै पशुपति पुगे । बाटोबाटै दुई मन्त्री शवयात्रामा मिसिए । 

वर्षाले भिजेको पशुपति क्षेत्रमा केहीबेर झरी रोकियो । आकाशबाट पुन: घाम चियाउन थाल्यो । उपस्थित सबैलाई घामको तापले पोल्यो । तर, आफ्नो प्रियजन गुमाएकाहरूको अगाडि यो तापले सायद छुनै सकेन । उनीहरू त पीडाको रापमा जलिरहेका थिए । आर्यघाट छेवैमा सन्तानका कफिन लहरै राखिएका थिए । कफिनमाथि सहिदको तस्बिर राखिएको थिए । तस्बिर हेर्दै अन्तर्मनबाट सबैले फेरि दोहोर्‍याए-वीर सहिद अमर रहून्, सहिदको सपना पूरा होस् ।'

भाइतर्फ हेर्दै उनले चर्को स्वरमा दोहोर्‍याइरहिन्-  'सल्युट जेन–जी । 'दिदी म त जेन–जी हुँ, हामीले नगरे देशको लागि कसले गर्छ ?' भन्थ्यौ नि सानू । हामीलाई छाडेर गयौ मेरो भाइ । सल्युट जेन–जी ।'

यात्रामा मिसिएका नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल पनि शवहरूलाई राष्ट्रिय सम्मान दिन आइपुगे । एक हुल सशस्त्र प्रहरीको एउटा टुकडी सलामी दिन उभिएको थियो । मन्त्रीहरूले फूल चढाउँदै मृतकलाई श्रद्धाञ्जली दिए । राष्ट्रिय झन्डा ‌ओढाउँदै सलामीसहित सम्मान अर्पण गरे । मन्त्रीहरू छेउ आउनासाथ आफन्त गुमाउने परिवारको आँखा पुन: भिज्न थाले ।

केही क्षणको मौन धारणपश्चात् राष्ट्रियगानसमेत गाइयो । १० शवमध्ये ६ लाई एयरपोर्ट पुर्‍याइयो । हवाईजहाजमार्फत् ती शव आ–आफ्ना जिल्लामा लगिँदै थिए । बाँकी चार शवलाई आफन्तीहरुले बोकेर पशुपतिको पाउदान पुर्‍याए । हामी पनि त्यतैतिर लाग्यौँ ।

बिदाइको क्षण प्राय: पीडादायक हुन्छ । झन् नचाहँदा नचाहँदै आफ्नो प्राण प्यारो सन्तान गुमाउने आमाहरूलाई कस्तो होला ? बाहरूलाई कस्तो होला ? परिवारलाई कस्तो होला ? यहाँका हृदयविदारक दृश्यले बताइरहेका थिए । हामी पारीबाट आर्यघाट नियालिरहेका थियौँ । पारी उही शान्त र अचल रसिकलाई पशुपतिको पाउदानमा राखिएको थियो । कसैले रसिककी आमालाई पाउदान छेउ पुर्‍याए ।

अचेत आमा छोराको पाउमा पानी हाल्दाहाल्दै भक्कानिइन् । ‘मेरो बाबु, म कसरी बाँच्नु ? मेरो बाबु रसिक,’ आमाको आर्तनाद झन्झन् फैलियो । धुँवामग्न आर्यघाटमा बसेका मलामीहरूको आँखा रसाए । लगातार बजिरहने शंखको धुन, मौन अनुहार, भिजेका आँखाहरूले आन्दोलनमा मारिएकाहरूलाई अन्तिमपल्ट बिदाइ गरे ।

रसिकलगत्तै गौरव जोशीलाई पानी पिलाइयो । वृद्ध बा वासुदेवले काँपेका हातले राष्ट्रिय झन्डा फरफराए । बुवाले झन्डा फरफराइरहँदा भीड गर्विलो स्वरमा गुन्जियो-  वीर सहिद…।  बाले पनि दाहिने हात उचाल्दै नारा दोहोर्‍याए । असंख्य पीडा बोके पनि परिवर्तनका लागि ज्यान आहुति दिएको छोराप्रति बा गर्विलो देखिन्थे ।

बाले नारा लगाइरहेको क्षण गौरवकी दिदी भाइलाई अन्तिम बिदाइ गर्न देखापरिन् । दिदी उभिन सक्ने अवस्थामा थिइनन् । धेरैजनाले समाउँदै ल्याइपुर्‍याएका थिए त्यहाँ । जब भाइको शव हेरिन्,  फेरिन मुर्छा परिन् । ‘मेरो भाइ अमर रहोस्, हत्यारालाई कारबाही होस्,’ गौरवका निम्ति गर्व र सरकारका निम्ति  आक्रोश पोख्दै दिदीले चर्को स्वरमा नारा लगाइन् ।

अनि मौन भइन् ।

केहीबेर शान्त देखिएकी उनी अचानक दुई हातले मुख छोप्दै रुन थालिन् । उनलाई कोहीले पानी पिलाउन थाले । दिदी पुन : सम्हालिन खोज्दै केही सम्झन थालिन् । भाइतर्फ हेर्दै उनले चर्को स्वरमा दोहोर्‍याइरहिन्-  'सल्युट जेन–जी । 'दिदी म त जेन–जी हुँ, हामीले नगरे देशको लागि कसले गर्छ ?' भन्थ्यौ नि सानू । हामीलाई छाडेर गयौ मेरो भाइ । सल्युट जेन–जी ।' भाइले अन्तिम पटक अनौठो जोससहित आफूलाई भनेको कुरा उनले सम्झिरहिन् । दिदीको क्रन्दनले फेरि मानिसहरूलाई रुवायो ।

यसरी रुँदै रुँदै जेन–जी आवाजलाई बिदाइ गरेर फर्किएकाहरूको आँखामा के सजिलै निद्रा पर्ला ? कहिल्यै नमेटिने घाउ बोक्दै दुखिरहेका परिवारहरूलाई हेरिरहँदा हामीलाई त लाग्यो- सजिलो निद्रा त त्यतिबेला पर्छ, जतिबेला देशका लागि ‘जेन–जी सहिद’ले देखेको सपना पूरा हुन्छ ।

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully