भारतको शिमलामा जिप दुर्घटना : सल्यानका ४ जनाको मृत्यु

गाडी दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका-४ बस्नेतज्युलाका ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको हो ।

भाद्र ३१, २०८२

विप्लव महर्जन

Jeep accident in Shimla, India: 4 dead from Salyan

सल्यान — भारतको हिमाचल प्रदेशको शिमलाको कोटखाईमा भएको जिप दुर्घटनामा सल्यानका एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ ।

सोमबार गाडी दुर्घटनामा परी सल्यानको कुमाख गाउँपालिका-४ बस्नेतज्युलाका ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको मृत्यु भएको हो । 

काममा जाँदै गर्दा पिकअप गाडी दुर्घटनामा परेर चारै जनाको घनास्थलमै मृत्यु भएको कुमाख गाउँपालिका-४ का वडाध्यक्ष शोभीलाल बस्नेतले जानकारी दिए। 

दसैंमा घर फर्किने भनेर मजदुरीका लागि गएका एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएपछि अहिले पूरै गाउँ शोकमा रहेको छ । अध्यक्ष बस्नेतका अनुसार लक्ष्मी एक वर्षअघि र अन्य तीन जना असारमा धान रोपाइँ सकेर मजदुरीका लागि शिमला गएका थिए ।

मृत्यु भएका सबैको अहिले पोस्टमर्टम भइरहेको र शिमलामा रहेका  कुमाख गाउँपालिकाका स्थानीय र आफन्तको सहयोगमा मृतकको शव घर ल्याउने तयारी भइरहेको अध्यक्ष बस्नेतको भनाइ छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully