उच्च अदालतमा क्षति नपुगे पनि सर्वोच्चको सर्भर समस्याका कारण नियमित सुनुवाइ बाधित भएको छ।
काठमाडौँ — उच्च अदालत पाटनले अदालत सञ्चालन सुरु गर्दै बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ थालेको छ । उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले मंगलबारबाट इजलास सुरु गरिएको जानकारी दिइन् ।
२३ भदौदेखि सुरु भएको जेन–जीको आन्दोलनका कारण उच्च अदालतमा कुनै पनि क्षति पुगेको छैन । तर सर्वोच्च अदालतमा क्षति पुगेका कारण सर्भर नचलेपछि नियमित मुद्दाको सुनुवाइ सुरु गर्न नसकिएको उनले बताइन् । नियमित मुद्दाहरूको सुनुवाइका लागि समय लाग्ने भएपछि उच्च अदालतले बन्दी अनि वाणिज्य इजलासका निवेदनहरूमा सुनुवाइ थालेको हो ।
आज तीन वटा इजलास गठन भएको थियो । यसरी गठन भएको एउटा इजलासमा बन्दीको र अर्कोमा वाणिज्य इजलासको निवेदन सुनुवाइ भइरहेको र एउटा एकल इजलास भने अकस्मात् आइपर्ने मुद्दाको सुनुवाइका लागि तोकिएको उनले जानकारी दिइन् । ‘सर्वोच्चको सर्भर नचलेसम्म नियमित पेसी सुरु हुँदैन । सम्भवतः दसैँपछि नियमित सुनुवाइ होला,’ उनले भनिन्, ‘हाललाई अत्यावश्यक निवेदन र बन्दीका मुद्दा सुनुवाइ सुरु गरेका छौँ ।’
सर्वोच्च अदालतले पनि बन्दी र अत्यावश्यक निवेदन सुनुवाइ गर्ने भनेको छ । तर हालसम्म बन्दीको मुद्दा दर्ता भएको छैन भने इजलास निर्माणको काम चलिरहेको छ । सर्वोच्चसँगै रहेको एनेक्स भवनमा इजलास निर्माण सुरु गरिएको र केही दिनमै सञ्चालनमा ल्याउने सर्वोच्चको तयारी छ ।
