युएईले नेपालीलाई भिजिट भिसा जारी गर्न बन्द

युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ ।

भाद्र ३०, २०८२

होम कार्की

UAE stops issuing visit visas to Nepalis

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालीलाई भिजिट भिसा जारी गर्न सोमबारदेखि अस्थायी रूपमा रोक लगाएको छ ।

युएईले यसबारे सार्वजनिक सूचना जारी गरेको छैन । तर भिसा सेवा प्रदान गर्ने प्रदायक संस्थाहरूले दिइएको आवेदन लिन छाडेको छ । आवेदन पेस गर्ने बेला युएईले नेपालीको लागि अस्थायी रूपमा आवेदन लिन रोकेको सूचना दिन थालेको हो ।

भदौ २४ गतेको प्रदर्शनमा तोडफोड,आगजनी र लुटपाट गर्नेमाथि सरकारले अनुसन्धान गरी कारबाही गर्ने र जेलबाट फरार भएको खबर सार्वजनिक भएपछि युएईले भिजिट भिसाको निवेदन लिन छाडेको हो । नेपालबाट सबैभन्दा बढी भिजिट भिसा लिई जाने देश युएई हो ।

युएईको लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले भिसा बन्द गरेको सूचना औपचारिक रूपमा आइनसकेको बताए । ‘भिसा बन्द गरेको सूचना नेपालीबाट पाएका छौँ । तर, औपचारिक रूपमा आइसकेको छैन । हामी यसबारे सोधखोज गर्नेछौँ,’ उनले भने ।

पछिल्लो समयमा भिजिट भिसा लिई रोजगारी खोज्न जाने नेपालीको संख्या निकै छ । भिजिट भिसामा गई रोजगारी नपाउने र ओभरस्टे हुनेको संख्या बढ्न थालेको विषयलाई युएईले आफ्नो नोटिसमा राखेको थियो । युएईमा भिजिट भिसामार्फत रोजगारी भिसामा परिवर्तन गर्ने नेपालीको संख्या तीन लाख रहेको नेपाली दूतावासले जनाएको छ । हाल युएईमा ८ लाख नेपाली कार्यरत छन् ।  

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully