रुपन्देही–३ को उपनिर्वाचन स्थगित

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति तोकिएपछि निर्वाचनका बाँकी कार्यक्रम स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

भाद्र ३०, २०८२

घनश्याम गौतम

Rupandehi-3 by-election postponed

What you should know

बुटवल — निर्वाचन आयोगले रुपन्देही–३ मा कात्तिक १७ गतेका लागि घोषणा गरेको प्रतिनिधि सभाको उपनिर्वाचन स्थगित गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभा विघटन भएर फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भएपछि रुपन्देही–३ का लागि यस अघि सार्वजनिक गरिएका निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकेकाले उपनिर्वाचनका बाँकी कार्यक्रम स्थगित गरिएको उल्लेख गरेका छन् ।


‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम मिति २०८२/०७/१७ गते सोमबारका दिन रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उपनिर्वाचन गर्ने गरी आयोगबाट उपनिर्वाचनको मिति तोकिएकोमा राष्ट्रपतिको कार्यालयबाट मिति २०८२।०५।२७ गते प्रकाशित विज्ञप्तिबाट सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधि सभाको विघटन गरी मिति २०८२/११/२१ गते बिहीबारका दिन नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकिएकोले,’ विज्ञप्तिमा उल्लेख छ, ‘रुपन्देही जिल्ला, प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन सम्बन्धी बाँकी सम्पूर्ण कार्यक्रमहरू रद्द गर्ने गरी आयोगको मिति २०८२/०५/३० को बैठकबाट निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ 

आयोगले निर्वाचन मिति तोकेपछि रास्वपासहितका साना दलले उम्मेदवार टुंगो लगाएर प्रचारप्रसार सुरु गरेका थिए । एमालेले उम्मेदवार सिफारिसका लागि केन्द्रीय समितिमा पठाएको थियो भने कांग्रेस र माओवादीले उम्मेदवार छनोटको प्रक्रिया पनि सुरु गरेका थिएनन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully