नयाँ लाइसेन्सको अनलाइन प्रणाली दसैंपछि, अहिलेलाई नियमित काम यात्रु प्रतीक्षालयबाट

यातायात व्यवस्था विभागमा आगजनी भएसँगै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रक्रिया बन्द भएको छ ।

भाद्र ३०, २०८२

विमल खतिवडा

Online system of new license after Dasain, now regular work from passenger waiting room

What you should know

काठमाडौँ — गत मंगलबारको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडबाट यातायात व्यवस्था विभागको भवन ध्वस्त भएको छ । आगजनीपछि भवन जीर्ण बनेका कारण तत्काल मर्मत गरेर चलाउन सक्ने अवस्था नभएपछि भवनको विकल्प खोज्न सुरु गरिएको छ ।

तत्कालका लागि भने विभाग परिसरको यात्रु प्रतीक्षालयबाट नियमित काम सुरु गरिएको छ । विभागमा आगजनी भएसँगै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिने प्रक्रिया बन्द भएको छ ।

उक्त सेवा अहिलेसम्मको तयारी अनुसार दसैंपछि सुरु गर्ने योजना रहेको विभागका उप–महानिर्देशक केशव खतिवडाले बताए । 

‘कार्यालयको डाटा ब्याकअप ठिक छ, आगलागीबाट ठूलो क्षति भएको छ, २० हजार लाइसेन्स छपाई भएर बसेको थियो,’ उनले भने, ‘केही जलेको छ, केही हराएको छ, अझै के कति क्षति भयो भनेर बुझ्ने काम भइरहेको छ ।’

छपाई गर्न राखिएको ५ लाख कार्ड भने अहिलेसम्म सुरक्षित भेटिएको उनले सुनाए । विभागका अनुसार छपाई भएर बसेको लाइसेन्सको क्षतिको मुचुल्का उठाएर पछि पुनः नयाँ छपाई गरेर दिने तयारी विभागले गरिरहेको छ । दैनिक सात वटै प्रदेशबाट ६ देखि ७ हजारले नयाँ लाइसेन्सका लागि फर्म भर्ने गर्थे । जसअनुसार ४ देखि ५ हजार नयाँ लाइसेन्सका लागि ट्रायल पास हुन्थे ।

त्यस्तै, विभागमै आपत्‌कालीन लाइसेन्सका लागि दैनिक ३ सयसम्म अनलाइन र लिखित रूपमा २ सयले फर्म भरेर लाइसेन्स लिँदै आएकोमा उक्त सेवा ठप्प छ । ४२ वटा यातायात व्यवस्था कार्यालयमार्फत लाइसेन्स सेवा उपलब्ध हुँदै आएको छ ।

प्रदर्शनकै क्रममा जडानका लागि प्रदेश र सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन तयार गरेर राखिएका सबै इम्बोस्ड नम्बर प्लेट जलेको छ । प्लेट उत्पादन गर्ने प्लान्ट समेत जलेर नष्ट भएको विभागको भनाई छ ।

विभाग स्रोतका अनुसार साउनसम्म ८ लाख १९ हजार ५९ वटा इम्बोस्ड नम्बर प्लेट तयार भएको थियो । त्योमध्ये करिब दुई लाख हाराहारी मात्र सम्बन्धित प्रदेशहरू र त्यस अन्तर्गतका कार्यालयहरूमा पठाइएको थियो । बाँकी नम्बर प्लेट विभागमै रहेको र पठाउने तयारी हुँदै गर्दा आगलागीबाट नष्ट भएको हो ।

अहिले विभागको अनुमान अनुसार ६ लाख १९ हजार नम्बर प्लेट जलेर नष्ट भएको छ । विभाग स्रोतका अनुसार साउनसम्म दुई पांग्रे ६ लाख ३२ हजार १ सय ४१, चारपांग्रे १ लाख ६४ हजार १ सय ९१, हेभी सवारीका लागि १४ हजार ५ सय ८२ र तीन पांग्रेका लागि ८ हजार १ सय ४५ वटा इम्बोस्ड नम्बर प्लेट उत्पादन गरिएको थियो ।

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully