आगजनीमा क्षतिग्रस्त कार्यालय पुनर्स्थापनामा जुट्दै स्थानीय हात

आन्दोलनका क्रममा क्षति पुगेका पोखरा महानगरपालिकाका वडा कार्यालय सफा गर्न स्थानीय जुटेका हुन् भने चितवनमा सरकारी कार्यालय सञ्चालनका लागि व्यक्ति र संस्थाहरू सहयोगका लागि प्रशासनमा पुग्न थालेका हुन् ।

भाद्र ३०, २०८२

रमेशकुमार पौडेल, दीपक परियार

Local hands involved in the restoration of the office damaged in the fire

What you should know

पोखरा र चितवन — आफ्नै घरअघिको वडा कार्यालय दनदनी बलेको देख्दा पोखरा–१२ का सुशील केसी विक्षिप्त बने । २४ भदौमा वडा कार्यालयमा आगजनी गर्ने वडावासी थिएनन् । ‘दुई तीनवटा समूहमा आएर आगजनी गरे,’ तोडफोड र आगजनीमा उत्रिएको समूहबारे उनले भने, ‘यसो नगर है भनेर मान्ने कोही थिएनन् ।’

आइतबार वडा कार्यालयले सामाजिक सञ्जालमार्फत सोमबार वडा कार्यालय सरसफाइमा जुट्न स्थानीयलाई आह्वान गर्‍यो । केसी सबैभन्दा पहिले वडा कार्यालय पुगेर बेल्चा समाते । वडा कार्यालय सरसफाइ गर्न झन्डै दुई सयजना स्थानीय जुटे । ‘पार्टीमाथिको रिसइबी आफ्नो ठाउँमा होला,’ यातायात व्यवसायी केसीले भने, ‘वडा कार्यालय हाम्रो दोस्रो घर हो । यो वा त्यो पार्टीको नभनी सरसफाइमा जुट्यौं ।’ स्थानीयले खरानी पखाले । फुटेका सीसा सफा गरे । जलेका सामान हटाए । प्रयोगमा आउन सक्ने सामग्री छुट्याए । महानगरको दमकलले फोहोर पखाल्यो ।

स्थानीय नै पुनर्स्थापनामा जुटेपछि सोमबार नै वडाध्यक्षको कार्यकक्ष स्थापना भयो । वडाध्यक्ष सन्तोष रानाभाटका अनुसार आगजनीबाट ३ वटा कोठा ध्वस्त भएका थिए । अहिले आंशिक क्षति भएका ४ वटा कोठाबाट सेवा दिने तयारी गरिएको छ । असोज १ बाट सेवा सुरु गर्ने वडाको तयारी छ । ‘स्थानीयको सक्रिय सहभागिता नभएको भए वडा कार्यालय सञ्चालनमा आउन अझै केही दिन लाग्थ्यो,’ उनले भने, ‘अब नियमित सेवा प्रवाह गर्ने अवस्थामा पुगेका छौं ।’

आगजनी र तोडफोडबाट वडाको २ करोड ६५ लाख रुपैयाँ बराबरको क्षति पुगेको उनले सुनाए । २४ भदौको आगजनी र तोडफोडबाट पोखराका २० वडा कार्यालयमा पूर्ण रूपमा क्षति पुगेको छ । ७ वटामा आंशिक क्षति छ भने ६ वटामा कुनै क्षति पुगेको छैन ।

आगजनीबाट क्षति पुगेका धेरैजसो वडा कार्यालय सरसफाइ गर्न स्थानीय खटिएका छन् । वडा नम्बर १० को कार्यालय स्थानीयले आइतबार नै सफा गरेका थिए । जनप्रतिनिधि, विभिन्न पार्टीका कार्यकर्ता र स्थानीयले कार्यालय सफा गरी सेवाका लागि तयार गरे । उनीहरूले काम लाग्ने सामान जतन गरे । सोमबार कम्प्युटर, इन्टरनेट, बिजुली जडान गरी कार्यालय तयार पारे । वडा सदस्य पूर्ण न्यौपानेका अनुसार सोमबारबाट सेवा दिन कार्यालय तयार छ ।

पोखरा–५ मालेपाटनको वडा कार्यालय सरसफाइ गर्न सोमबार झन्डै ४ सय स्थानीय जुटेका थिए । स्थानीय आमा समूह, युवा क्लब, टोल विकास संस्थाको सक्रियतामा सरसफाइ भयो । १९ असारमा उद्घाटन गरिएको वडा कार्यालय ५ करोड ६४ लाख रुपैयाँको लागतमा तयार भएको थियो । आगजनी, तोडफोड र लुटपाटबाट वडा कार्यालयमा संरचनाबाहेक केही बाँकी छैन ।

वडाध्यक्ष विष्णुप्रसाद बरालले वडावासी उत्साहपूर्वक सहभागिताले सरसफाइ सम्भव भएको बताए । ‘नयाँ बनेको वडा भवनको यो बिजोग देख्दा वडावासीले मन सानो बनाएका छन्,’ उनले भने, ‘निजी क्षेत्रबाट स्वतस्फूर्तरुपमा सहयोग पनि आउन थालेको छ ।’ हाललाई असोज १ देखि पुरानै कार्यालयबाट सेवा दिने वडाको तयारी छ । ‘हामी सेवा दिन तयार छौं तर मालपोत, नापी, जिल्ला प्रशासन पनि बन्द भएकोले वडाबाट हुने काम गर्न सेवाग्राही नै नआउने अवस्था छ,’ उनले भने ।

जलेर क्षति पुगेका १३, १६, १७ लगायतका वडा कार्यालयमा पनि सोमबार स्थानीय जुटेर सरसफाइ गरे । आगजनीबाट क्षति पुगेका वडा कार्यालय, प्रहरी कार्यालय, अन्य सरकारी कार्यालय पुनर्स्थापना गर्न स्थानीय, निजी क्षेत्र र विभिन्न संघसंस्थाले सहयोगको हात अगाडि बढाइरहेका छन् । आन्दोलनका क्रममा पोखरा महानगरपालिकाको मुख्य प्रशासकीय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रदर्शनकारीले भवनमा गरेको आगजनीका कारण कार्यालयका महत्त्वपूर्ण कागजातहरू जलेर खरानी भएका छन् । कार्यालयका सबैजसो कोठामा आगो लगाइएको छ भने प्रमुखको कार्यकक्षमा तोडफोड गरिएको छ । कार्यालयका कतिपय सामग्री चोरी भएका छन् ।

महानगरले कार्यालयको सेवालाई २ असोजदेखि नियमित गर्ने तयारी गरेको छ । नगरवासीको सेवालाई नियमित गर्न महानगर मातहतका विभिन्न संरचनाको उपयोग गर्दै तत्कालका लागि सेवा आरम्भ गर्ने महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले बताए । २ असोजसम्म क्षतिका सम्पूर्ण विवरण तयार गर्ने महानगरको तयारी छ । महानगरका सबै महाशाखा र शाखाहरूको सेवालाई समेत नियमित गर्ने गरी कार्यस्थलको व्यवस्थापन गरिएको छ । मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, सार्वजनिक लेखा समिति, कानुन शाखा, सरसफाइ शाखा, सूचना प्रविधि शाखा पोखरा–९ शान्ति वनस्थित दमकल भवनमा राख्ने तयारी छ ।

प्रशासन, राजस्व र सहरी विकास महाशाखा, भण्डार, तथ्यांक विपद्/उजुरी फर्स्योट, अभिलेखीकरण, पञ्जीकरण, लेखा शाखा र महानगर प्रहरी बल पोखरा सभागृहमा रहने छन् । आर्थिक प्रशासन महाशाखा प्रमुखको कार्यकक्ष र कोष प्रशासन शाखाको सेवा पोखरा–१७ ड्यामसाइडस्थित शिक्षा महाशाखाको भवनबाट प्रवाह हुनेछ । शिक्षा महाशाखा त्यहीँ यथावत् रहनेछ । न्यूरोडस्थित पूर्वाधार महाशाखा भएको भवनबाट पूर्वाधार, आन्तरिक लेखा परीक्षण शाखा, योजना, भूमि प्रशासन, खरिद शाखाका सेवा दिइनेछ । पोखरा–७ जनप्रिय मार्गस्थित आर्थिक विकास महाशाखाबाट आर्थिकसहित सहकारी शाखा, श्रम तथा रोजगार शाखा (सामी कार्यक्रमसमेत) र व्यवसाय प्रवर्द्धन केन्द्रसम्बन्धी काम हुनेछन् ।

प्रवक्ता तिमिल्सिनाका अनुसार जिल्ला प्रशासन, नापी, मालपोत र वडा कार्यालयहरूमा क्षति पुग्दा तत्कालका लागि वैदेशिक शिक्षामा जाने विद्यार्थीका लागि कागजात तयार गर्ने, बैंकिङ कारोबारका लागि घर, जग्गाको चार किल्ला सिफारिस, सामाजिक सुरक्षा भत्ता नवीकरण, राजस्व संकलन, राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र वितरण, घटना दर्ता लगायतका सेवामा असर पुग्ने छ । महानगरले गर्ने विकास निर्माणका काम धकेलिने छन् । उज्यालो महानगर लगायत अन्य सामाजिक क्षेत्रका कार्यक्रम सुरु हुन समय लाग्ने छ । भुक्तानी प्रक्रियामा अवरोध पुगेको छ । ‘हाम्रा कार्यालय औपचारिक रूपमा खुले पनि सेवाग्राही आउने परिस्थिति नबन्न सक्छ,’ उनले भने, ‘सबैको साथले छिट्टै यी सेवा नियमित गर्नेछौं ।’

चितवनमा क्षतिग्रस्त कार्यालयका सामान जुटाउँदै सहयोगी

२४ भदौमा प्रदर्शनकारीले आगो लगाएर ध्वस्त भएका चितवनका सरकारी कार्यालयको सेवा सुचारु गर्नका लागि आवश्यक पर्ने सामग्री जुटाउन सहयोगीहरू जुट्न थालेका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सहयोग गर्नका लागि व्यक्ति तथा संस्थाहरू प्रस्ताव लिएर आउने गरेको र सहयोग लिने बारे प्रशासनले खाका बनाएको बताए । आगजनीबाट यहाँका धेरै सरकारी कार्यालय जलेका छन् । ‘हामी सहयोग गर्छौं भन्दै आफै धेरै नै आउनुभएको छ । कुनै कार्यालयलाई सिधै दिन भन्दा एकद्वार प्रणाली अनुसार सबै सामग्री जिल्ला प्रशासनमा बुझाउन भनेका छौं,’ प्रजिअ अर्यालले भने ।

जिल्ला प्रशासनले आवश्यकताका आधारमा कार्यालयहरूलाई प्राथमिकतामा राखेर ती सामग्रीहरू जिम्मा लगाउने उनले बताए । प्रदर्शनकारीले चितवनमा अदालत, मालपोत, नापी, जिल्ला प्रशासनलगायत ७९ सरकारी र पालिकाका कार्यालयमा आगजनी गरेर क्षति पुर्‍याएको प्रजिअ अर्यालले जानकारी दिए ।

केही कार्यालयहरूमा बस्ने कुर्ची र उपकरणहरू केही नबचेको उनको भनाइ छ । ‘सेवा सुरु गर्न तत्कालका लागि ६०/६५ थान कम्प्युटर र सामान्य खालका भए पनि कुर्ची आवश्यक छ । यी सामग्री सहयोगीहरूबाट जुट्ने देखिएको छ,’ प्रजिअ अर्यालले भने । कार्यालय बनाउने र पुनः निर्माण गर्न पनि केही सहयोगी र संघसस्थाले इच्छा राखेको अर्यालले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully