लुटपाट र आगजनीमा जनप्रतिनिधि र दलकै कार्यकर्ता   

जनमतका कल्याणपुर–९ का वडाध्यक्ष जनमत पार्टीका विनोदकुमार यादव र रास्वपाका पनौती नगर सभापति विवेक भट्टराईले सरकारी भवन तथा निजी सम्पत्तिमा तोडफोड, लुटपाट तथा आगजनी गर्न प्रदर्शनकारीलाई उक्साउने गरी नेतृत्व गरेका थिए

भाद्र २९, २०८२

ज्योती श्रेष्ठ, विनय आजाद

सिरहा र काभ्रे — देशभर गरिएको प्रदर्शनमा सरकारी तथा निजी सम्पत्ति लुटपाट, तोडफोड र आगजनी हुँदा सिरहाको कल्याणपुर नगरपालिका पनि अछुतो रहेन । नगरपालिकाको कल्याणपुरस्थित कार्यालयमा भदौ २४ को बिहान ४०–५० जनाको एउटा हूल आएर लुटपाट र तोडफोड मच्चाउँदै आगजनी गरेका थिए । उक्त भीडलाई प्रहरीले रोक्न नसकेपछि कार्यालयको कोठा–कोठामा पसेर कागजातदेखि जिन्सी सम्पत्तिमा आगजनी र तोडफोड गर्दै अधिकांश सरसामान लुटेर लगेको नगरपालिकाले जनाएको छ ।

सार्वजनिक सम्पत्तिमाथि ध्वंस मच्चाउने कार्यमा जनप्रतिनिधिकै संलग्नता रहेको पाइएको छ । जनमत पार्टीबाट निर्वाचित कल्याणपुर नगरपालिका–९ का वडाध्यक्ष विनोदकुमार यादवले लुटपाट मच्चाउने भीडको अगुवाइ गरेको खुलेको छ । सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा यादव समूहले भीडलाई नगरपालिका कार्यालय तोडफोड तथा लुटपाट गर्न उक्साइरहेको प्रस्ट देखिन्छ । 

वडाध्यक्ष यादवले भीडलाई उस्काएर आगजनी गर्न पेट्रोल किन्ने पैसा नै दिएको एक प्रत्यक्षदर्शीले पनि बताए । ‘म त्यहीँ थिएँ, प्रहरीले पनि रोक्न निकै कोसिस गरेको थियो, हामीले पनि रोक्न खोज्यौं,’ प्रत्यक्षदर्शीले भने, ‘तर, भीडलाई यसरी उक्साइयो कि क्षणभरमै ठूलो क्षति हुन पुग्यो, यो घटनामा उनी पर्दामा देखिए पनि पर्दाभित्र अरू पनि छन्, यहाँका सबैलाई यो कुरा थाहा छ ।’

कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह एक लाख रुपैयाँ घूससहित पक्राउ परेर निलम्बनमा परेपछि उनीनिकट रहेका वडाध्यक्ष यादवले नगरपालिकामा पटक–पटक विवाद झिक्ने प्रयास गर्दै आएका थिए । यसपल्ट प्रदर्शनको नाजायज फाइदा उठाउँदै उनले आगजनीका लागि भीड उचालेको कार्यवाहक नगरप्रमुख रेखादेवी यादवले बताइन् । 

नगरपालिकामा उपद्रव मच्चाएको सोही समूहले छेउमै रहेको वडा ११ को कार्यालय र इलाका प्रहरी कल्याणपुरमा पनि आगजनी र लुटपाट गरेको थियो । वडाध्यक्ष यादवले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । नगरपालिकामा घटना भएपछि हेर्नका लागि आफू त्यहाँ गएको उनको दाबी छ । ‘घटना भएपछि म त्यहाँ हेर्न गएको हुँ, अरू केही होइन,’ उनले भने, ‘म त्यहाँ देखिएर कसैले आरोप लगाइरहेका होलान् ।’ यस घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तोडफोड, आगजनी र लुटपाट भएका बेलाका प्राप्त भिडियो तथा तस्बिरका आधारमा बुझ्ने काम भइरहेको इलाका प्रहरी मिर्चैयाका निरीक्षक धीरज पटेलले जनाए । आन्दोलनमा सिरहाका तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आक्रमण भएको थियो । अवस्था सामान्य बन्दै गएपछि प्रहरीले क्षतिसँगै तोडफोड तथा आगजनीमा संलग्नको विवरण खोजिरहेको छ ।

आगजनीको भिडियो सार्वजनिक भएपछि रास्वपा नगर सभापतिको राजीनामा 

nकाभ्रेको पनौती नगरपालिकाका विभिन्न स्थानमा भएको तोडफोड तथा आगजनीका घटना र यसमा संलग्न भएका व्यक्तिहरूको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेका छन् । तोडफोड तथा आगजनीमा संलग्न भएको देखिने तस्बिर र भिडियो सार्वजनिक भएपछि रास्वपाका पनौती नगर सभापति विवेक भट्टराईले राजीनामा दिएका छन् । सार्वजनिक भएका तस्बिर र भिडियोमा नगर सभापति भट्टराईले भीडलाई अराजक बनाउने गरी नेतृत्व गरेको देखिन्छ । 

भदौ २३ मा काठमाडौंमा भएको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि रास्वपाको पनौती नगर समितिले भोलिपल्ट बिहान ११ बजे पनौतीको बसपार्कमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । जसको नेत्तृत्व भट्टराईले गरेका थिए । श्रद्धाञ्जली सभाको बहाना बनाउँदै उनले त्यहाँ उपस्थित भीडलाई उक्साएका थिए । भट्टराईको नेतृत्वमा त्यही भीडले कांग्रेस केन्द्रीय सदस्य शिव हुमागार्इंको घरमा तोडफोड गरेको सार्वजनिक भिडियोमा देखिन्छ । हुमागाईंको घरको सिसा तोडफोड भएको छ भने कार र मोटरसाइकल जलाइएको छ । प्रदर्शनकारीले हुमागार्इंको गाडीलाई पनौती बसपार्कमा ल्याएर आगजनी गरेको दृश्यमा उनै नगर सभापति भट्टराईले नै आगो लगाएको देखिन्छ । त्यहाँ आगजनी गरेपछि उक्त समूह दिउँसो करिब २ः३० बजेतिर पनौती नगर प्रमुख रामशरण भण्डारीको घर तोडफोड तथा लुटपाट गर्न पुगेको थियो । त्यसपछि ४ बजेतिर नगर उपप्रमुख गीता बञ्जाराको घरमा पनि लुटपाट र आगजनी गरे । बञ्जाराका अनुसार रास्वपा नगर सभापति भट्टराईले भदौ २३ मा भएको आन्दोलनमा मृत्यु भएकाको सन्दर्भमा नगरपालिकामा ज्ञापनपत्र बुझाउने र श्रद्धाञ्जली सभा कार्यक्रम गर्नेबारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रमपश्चात् जनप्रतिनिधिहरूको निजी घर तथा सवारीसाधनमा तोडफोड तथा आगजनी भएको उनले बताइन् । नगर उपप्रमुख बञ्जाराका अनुसार व्यक्तिगत मात्रै नभएर नगरपालिकाको ४ वटा भवन तथा सवारीसाधनहरूमा पनि तोडफोड भएको छ । 

त्यसपछि प्रदर्शनकारीले क्याप्टेन रामेश्वर थापाको घरलाई निसाना बनाउँदै तोडफोड, लुटपाट र आगजनी गरेका थिए । तोडफोडकै क्रममा करिब ७ बजेतिर पनौतीका पूर्वनगर प्रमुख भीम न्यौपानेलाई नाताले भान्जा पर्ने उनै नगर सभापति भट्टराईले ‘मामा आन्दोलनकारीको टोली आउँदै छ, सुरक्षित बस्नुहोला’ भनेका थिए । न्यौपानेका अनुसार त्यति भनेर उनले फोन राखेको १ मिनेटमै प्रदर्शनकारी आएर २ वटा घरमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । न्यौपानेले भने, ‘उनी आफैंले खबर गरे तर अगाडि देखिएनन्, कता गए, थाहा छैन ।’ 

यी सबै घटनाका भिडियो भदौ २४ देखि नै सामाजिक सञ्जालमार्फत सार्वजनिक हुन थालेका हुन् । भिडियो सार्वजनिक हुँदै गएपछि नगर सभापति भट्टराईले भदौ २५ को बिहानै फेसबुकमा स्टाटस हाल्दै आफूले पार्टीबाट राजीनामा दिएको उल्लेख गरेका थिए । 

रास्वपा काभ्रेका सभापति प्रविन ढकालले उनले भदौ २५ मै लिखित रूपमा पनि राजीनामा दिएको बताए । ढकालका अनुसार भदौ २४ मा पार्टीले श्रद्धाञ्जली सभा गर्न मात्रै निर्देशन दिएको थियो । तर उच्छृंखल क्रियाकलापमा नगर सभापति भट्टराई नै संलग्न भएको भिडियो देखेपछि पार्टीले स्पष्टीकरण पनि मागेको उनले बताए । भट्टराईलाई पार्टीले निलम्बन पनि गरेको उनले जानकारी दिए । फेसबुकमार्फत राजीनामा दिएपछि भट्टराई सम्पर्कमा छैनन् । 

nक्याप्सन ः सेतो सर्ट र कालो चस्मा लगाएका वडाध्यक्ष विनोदकुमार यादव

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully