काठमाडौं — महाराजगन्ज त्रिवि शिक्षण अस्पतालबाहिर झरी र चर्को घाम खेप्दै बसिरहेका आफन्तहरूको अनुहारमा ‘आफ्ना’ हरू गुमाउँदाको घनघोर पीडा छ । कलिला जवानहरुका फोटो हातमा बोकेर उनीहरु न्यायको याचना गरिरहेका छन् ।
योगेन्द्र न्यौपाने (रोशन), ३३ बर्ष, सिन्धुली
८ सेप्टेम्बर, देशमा उज्यालो छर्ने अभिप्सा साँचेर सडकमा ओर्लिएका ३४ जेनजी सदाका लागि निभेको दिन । उनीहरुसँगै परिवारको खुसी, भरोसा धेरैथोक निभेको दिन ।
निजामती सपना बोकेर ठेलीका–ठेली पुस्तक पढेरै दिन बताइरहेका योगेन्द्र न्यौपाने (रोशन) त्यस दिन अचानक माइतीघर–बानेश्वर सडकमा निस्किए । उनीसँगै देशमा व्याप्त बेथिति र भ्रष्टाचार निर्मूल गर्ने जोसका साथ जेनजी पुस्ता आन्दोलनमा उत्रिएको थियो । तर, त्यही आन्दोलनमा राज्यको गोलीले उनको शरीर छेड्यो । उनी कहिल्यै नउठ्ने गरी ढले ।
सिन्धुलीस्थित योगेन्द्रको गाउँ यतिबेला शोकमग्न छ । आमा लक्ष्मीकी आँसु अझै रोकिन सकेका छैनन् । बा उमेश न्यौपाने स्कुल पढाउँछन् । त्यो दिन दिउँसो स्कुलबाट फर्किंदै गर्दा एउटा अकल्पनीय खबर उनीहरूको कानमा पर्यो– योगेन्द्र हामीमाझ रहेनन् । खबर सुन्नासाथ उनीहरू छाँगाबाट खसेझैं भए । बा युवराजले आफूलाई सम्हाल्न प्रयत्न गर्दै तत्काल गाडी रिजर्भ गरेर काठमाडौं हिँडे ।
यता भाइ सुजनलाई त्यो बज्रपात सहन सक्ने सामर्थ्य थिएन । तैपनि आमा र दिदी सम्हाल्ने दायित्वले उनलाई कमजोर बनाउन दिएन । कहिल्यै कुनै आन्दोलन त के, कार्यक्रम र माहोलमा सरिक नहुने दाइको एक्कासि त्यो खबर पाउँदा अहिले पनि सपना भइदिए हुन्थ्यो झैं लागिरहेछ सुजनलाई । ‘कहिल्यै त्यसरी नहिँड्ने मान्छे कसरी गए ? पत्याउनै मुस्किल परिरहेको छ,’ सुजन भावविह्वल स्वरमा भन्छन् ।
योगेन्द्र २३ वर्षका थिए, सुजन २१ । उनीहरुको चाँगुनारायण नगरपालिका, दुवाकोटमा पनि घर थियो । दाजुभाइले त्यतै बसेर पढे । उनीहरूले चाँगुनारायण माध्यमिक विद्यालयबाट एसईई दिएका थिए । योगेन्द्रका स्कुलका शिक्षक सुरेश ढुंगाना यो खबरले विद्यालय नै यतिबेला शोकमा डुबेको बताउँछन् । ‘उनी स्कुल पढ्दा असल र ज्ञानी थिए ।
उनको भविष्य पनि हामीले उज्ज्वल देखेका थियौं । हामीलाई साह्रै दुःख लागेको छ,’ सुरेश भन्छन् ।
nnnnnत्रिचन्द्र कलेजमा सामाजिक कार्य पढिरेहका योगेन्द्र ८ वर्षदेखि लोक सेवाको तयारी गरिरहेका थिए । यता सुजन रोमानिया जाने तयारीमा थिए । मेनपावरबाट वर्क पर्मिट आएका बेला २ महिनाअघि अन्तिम पटक दाजुभाइको भेट भएको थियो । योगेन्द्रले भाइलाई आफू दसैंमा घर आउने बताएका थिए । दाजुभाइ साथीजस्तै थिए ।
सुजनका अनुसार योगेन्द्रको चाहिँ बाहिर जाने सोच थिएन । भाइलाई भन्थे, ‘म यहीं बसेर केही गर्छु । तँ जा । मैले घरलाई र तँलाई के–के गर्नुपर्छ, सबै गर्छु ।’ खराब संगत योगेन्द्र कहिल्यै रुचाउन्न थिए ।
भाइलाई पनि असल संगत गर्न जोड दिन्थे । मोबाइलमा समस्या आएका कारण परिवारसँग योगेन्द्रको केही दिनदेखि बातचित भएको थिएन । घटना भएको दिन उनले भाइको मोबाइलमा आईपीओका सबै डिटेल्स पठाइदिएका थिए । ‘मैले यताबाट मेसेज रिप्लाई गर्दा सिन मात्र भयो । डेलिभर भएन । उसले हेरेन । ऊ सायद निस्किसकेको थियो,’ सुजन पीडायुक्त आवाजमा भन्छन्, ‘उसको रिप्लाइ पर्खेर बसें । तर कहिल्यै आएन । अब त ऊ नै कहिल्यै नआउने गरी गयो ।’ यो अकल्पनीय क्षतिको भरण सान्त्वनाले हुन सक्दैन । तर, सुजन यत्ति चाहन्छन्– दाइलाई सहिद घोषणा गरियोस् ।
रसिक खतिवडा
शुक्रबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालबाहिर झरी र चर्को घाम खेप्दै बसिरहेका आफन्तहरूको पनि उस्तै दुःखान्त कथा सुनियो । उनीहरूका अनुहारमा आफ्नाहरू गुमाउँदाको घनघोर पीडा उर्लिरहेको थियो । हातमा योगेन्द्रजस्तै कलिला जवानहरूका फोटो बोकेर उनीहरू न्यायको याचना गरिरहेका थिए ।
‘ऊ मेरो दिदीको छोरा हो । प्लस टु सकेर अस्ट्रेलिया जाने तयारीमा थियो । सपना अधुरै भयो,’ हातमा मुस्कुराइरहेका रसिक खतिवडाको तस्बिर बोकिरहेकी सानीआमा स्नेहा केसी थापाले रोइरहेको आँखा पुछ्दै भनिन् ।
पुर्ख्यौली घर काभ्रेको खोपासी रहेका रसिकको टेकुमा पनि थियो बासस्थान । एउटी दिदी बिहेपछि अस्ट्रेलिया पुगेकी थिइन् । उनैले भाइलाई उता लैजान चाहेकी थिइन् । कान्छो छोरा, प्रशस्तै माया । त्यो माया नै उनका बा पुरुषोत्तम र आमा रचनाको खुसी थियो । ‘त्यो दिन उसको आमाले आन्दोलनमा पठाउन चाहनुभएकै थिएन । बाबुले सबै गएका छन्, हामीले पनि साथ दिनुपर्छ भनेर पुगेका थिए,’ रचना दम्पतीको खुसी निभेको दिनबारे स्नेहा सुनाउँछिन् ।
यता बानेश्वरमा प्रहरीले गोली बर्सायो । शान्तिपूर्वक चलिरहेको आन्दोलन बिथोलियो । भकाभक जवानहरू ढलिरहेका दृश्यहरू सामाजिक सञ्जालमा फैलिन थाले । अस्ट्रेलियामा रहेकी रसिककी दिदीले भिडियो हेर्ने क्रममा यस्तो भिडियो देखिन्, जहाँ आफ्नै भाइजस्तै देखिने केटालाई गोली लागेको थियो । उनलाई हतार–हतार स्कुटीमा हालेर अस्पताल लगिँदै थियो । उनले तत्कालै बालाई कल गरेर सोधिन्– भाइ खै ?
बा भाइ कता छ भन्नेबारे बेखबर थिए । भने– ममीलाई सोध न । जब उनले आमालाई फोन गरेर सोधिन्, शंका सत्य भइदियो । आन्दोलनमा शहादत प्राप्त गरेका ती केटा आफ्नै भाइ रहेछन् । ‘मैले त राति ९ बजे थाहा पाएँ । त्यसपछि हामी बच्चा हेर्छु भनेर अस्पताल आयौं । सूर्य अस्ताइसक्यो हेर्न मिल्दैन भनेर फर्काइदिए । भोलिपल्ट बिहान ८ बजे आयौं । १० बजे हेर्यौं । छातीमा २ वटा गोली लागेको थियो,’ आफूहरू मुर्छित परेको त्यो दिन स्नेहा सम्झिन्छन् ।
शुक्रबारसम्म उनीहरुले रसिकको शवलाई पोस्टमार्टम गर्न दिएनन् । ‘गोली लागेर छियाछिया भएको हाम्रो बाबुलाई अब कति छियाछिया बनाउने,’ उनी भक्कानिँदै भन्छिन् । रसिक व्यवसायमा रुचि राख्थे । आफ्नै सपना पछ्याउन चाहन्थे उनी । ‘तर आफ्नो सपना पूरा नगरी बाबुले छाडेर गयो,’ उनी थप विह्वल सुनिन्छिन् ।
धिमराज धामी, बझाङका २८ वर्षीय
२४ गते बिहान पनि प्रहरीले कालिमाटीमा गोली चलायो । त्यो गोलीले बझाङका २८ वर्षीय धिमराज धामीलाई पनि सधैंका लागि ढलायो । माइला दाइ बलराम धामी भाइ गुमेको पीडा बोकेर शिक्षण अस्पताल पसिरमा छटपटाइरहेका थिए । कीर्तिपुर बस्ने धिमराज कृषि व्यवसायी थिए । बिहे भएको एक वर्ष मात्र उकालो लाग्यो । २ महिनाका छोरा थिए । ७५ वर्षकी आमा उनकै भरमा थिइन् ।
राज्यप्रतिको फ्रस्टेसनलाई आक्रोशमा बदलेर भाइ दोस्रो दिन आन्दोलनमा होमिएको दाइलाई पत्तै थिएन । ‘बेलुका फोन नलागेपछि भाइलाई हस्पिटलमा खोजतलास गर्यौं । अनि त ऊ हामीमाझ नरहेको थाहा भयो । आमा र बुहारी अझैसम्म बौरिन सकेका छैनन्,’ दाइ बलराम टोलाउँदै भन्छन् ।
उनलाई अनौठो लागेको छ– त्यो आन्दोलनको नेतृत्व गर्ने कुनै समूह हालसम्म अस्पताल आएका छैनन् । सोधखोज गरेका छैनन् । ‘यो कुराले दुःख लागेको छ । अब मेरो भाइ र भाइहरूलाई राज्यले सहिद घोषणा गरोस् । चाहना यति छ कि झन्डा ओडाएर सम्मान गरोस्,’ दाइ गाँठो परेको मन थम्थम्याउँदै भन्छन् ।
