आगजनी र तोडफोडले स्थानीय तहमा सेवा सुरु गर्न अन्योल

कञ्चनपुरमा मात्रै प्रदर्शनकारीले मंगलबार ३० वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएका छन् ।

भाद्र २६, २०८२

अर्जुन शाह, भवानी भट्ट

कञ्चनपुर, धनगढी — जेन–जीको अगुवाईमा भएको आन्दोलनपछि भएका प्रदर्शनपछि थुप्रै सरकारी कार्यालय तोडफोड र आगजनी भएका स्थानीय तह र वडा कार्यालयहरूमा सेवा सञ्चालन गर्न कठिनाइ भएको छ ।

कञ्चनपुरमा मात्रै प्रदर्शनकारीले मंगलबार ३० वटा सरकारी कार्यालयमा आगजनी र तोडफोड भएका छन् । केहीमा सामान्य क्षति भएको छ भने कतिपय ध्वस्त भएका छन् । वडा कार्यालय र स्थानीय तहका कार्यालयमा पनि आगजनी र तोडफोड हुँदा अहिले जनप्रतिनिधिहरू सेवा सुरु गर्ने विषयमा अन्योल भएको छ । ‘सेवा कहिलेदेखि सुचारु हुन्छ त्यो बेग्लै कुरा छ,कम्प्युटरदेखि कागजात सबै जलेका छन् कसरी सेवा दिने,’शुक्लाफाँटा नगरपालिका–११ का अध्यक्ष शेरबहादुर साउदले भने,‘यस्तो अवस्थामा हामीले कसरी सेवा दिने ।’



शुक्लाफाँटा नगरपालिकाको कार्यालयसँगै वडा १,४,५,६,७,८,९,१०, ११ र १२ का कार्यालयमा आगजनी र तोडफोड गरिएको प्रहरीले जनाएको छ ।



कृष्णपुर नगरपालिकाको कार्यालयमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरेका छन् । २४ गते दिउँसो र २५ गते रातिसमेत आगजनी गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । उनका अनुसार कार्यालयबाट तत्काल सेवा दिन सकिने अवस्था छैन । ‘भित्र सबै जलेर नष्ट भएको छ,कम्प्युटर,कागजात केही बाँकी छैन, सबै शून्य छ,’उनले भने,‘त्यो घरभित्र अहिले बस्न सकिने अवस्था पनि छैन ।’



नगर प्रमुख ओझाले नजिकै रहेको वनदेवी आधारभूत विद्यालयको खाली भवनबाट सेवा सुरु गर्ने योजना बनाएका छन् । तर त्यसका लागि पुरानो डाटाहरू तथा कागजात केही पनि छैन । सबै जलेका कारण समस्या भएको उनले बताए । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा पनि आगजनी र तोडफोड गरिएको छ । उक्त नगरपालिकाका सवारी साधनसमेत जलाइएको प्रहरीले जनाएको छ ।



कैलालीमा सात पालिका कार्यालय जलाइयो



मंगलबार उग्र बनेको प्रदर्शनका क्रममा कैलालीका सात पालिका कार्यालयसहित वडा कार्यालयहरूमा आगजनी भएको छ । घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिकामा पालिका र सम्पूर्ण वडा कार्यालय जलाइएको सम्बन्धित स्थानीय तहका पदाधिकारीहरूले बताएका छन् ।



घोडाघोडी नगरपालिका कार्यालय भवनसहित १२ वटै वडा कार्यालयमा आगजनी गरिएको छ । कैलारी गाउँपालिकाको कार्यालयसहित ९ वटै वडामा आगजनी गरिएको छ । यस्तै, गोदावरी नगरपालिकाको भवनमा आगजनी गरिएको छ । गौरीगंगा नगरपालिकाको भवनसहित वडा १,६ र १० नम्बर वडा कार्यालयमा पनि आगजनी गरिएको छ । टीकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका,जानकी गाउँपालिकाको कार्यालयमा आंशिक तोडफोड गरिएको छ । लम्कीचुहाको १ नम्बर वडा कार्यालयमा तोडफोड भएको छ ।


अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully