जेन–जीको आन्दोलनपछि धेरै मानिस घाइते भएको र १९ जनाको निधन भएपछि रगत अभाव हुने भन्दै रक्तदान गर्ने लहर बढेको छ ।
काठमाडौँ — केन्द्रीय रक्त सञ्चार सेवाले अहिले आवश्यकता भन्दा धेरै मात्रामा रगत संकलन भइसकेकाले आत्तिएर रक्तदान नगर्न सर्वसाधारणलाई अपिल गरेको छ ।
चाहिनेभन्दा बढी मात्रामा रगत संकलन हुँदा प्रयोग नै नभइ खेर जाने जोखिम हुने भन्दै सेवाले आश्यकता अनुसार मात्र रक्तदान गर्न र संकलन गर्न आव्हान गरेको छ ।
जेन–जीको अन्दोलनपछि धेरै मानिस घाइते भएको र १९ जनाको निधन भएपछि रगत अभाव हुने भन्दै रक्तदान गर्ने लहर बढेको छ । ‘सोमबार हामीले ४ सय पिन्ट रगत अस्पतालहरुलाई उपलब्ध गरायौं । आज माग खासै छैन । माग भएको अवस्थाका लागि हामी तयार नै छौं,’ सेवाका वरिष्ठ प्राविधिक अधिकारी सञ्जीवकुमार यादवले भने ।
रगत संकलन गरिदिन पर्यो भन्ने उच्च दबाब बढेको भन्दै उनले भविष्यमा पनि रगतको आवश्यकता हुने भन्दै जथाभावी संकलन नगर्न उनले आग्रह गरेका छन् । एक–पटक रगत दिएपछि तीन महिनासम्म निकाल्न नहुने भएकाले र यस बीचमा कुनै आपतकालीन अवस्था र दशैं तिहार जस्ता चाडपर्व पनि पर्ने भएकाले संयमित हुन उनले अनुरोध गरे ।
चोक–चोकमा रगत संकलनको क्रम बढेको र विभिन्न जिल्लाहरुबाट समेत रगत संकलन गर्दै विमानस्थलमा पठाउने क्रम बढेपछि सेवाले यस्तो अनुरोध गरेको हो ।
