जेनजी आन्दोलनमा बल प्रयोग गरेपछि कांग्रेसका मन्त्रीले राजीनामा दिने क्रम जारी रहेको छ ।
काठमाडौँ — युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन् ।
जेनजी आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि कोइरालाले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।
यसअघि आजै बिहान कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिएका थिए । मंगलबार बिहान काग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । तर नेताहरू उपस्थित हुन नसकेपछि स्थगित गरेका थिए । बैठकका लागि पुगेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सरकारबाट बाहिरनुपर्ने सुझाव दिएका थिए । तर देउवा भने सरकार छोड्ने मुडमा छैनन् ।
