जेनजीको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको भन्दै सांसद शाहले सांसद पदबाट राजीनामा दिएका हुन् ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले पदबाट राजीनामा दिएका घोषणा गरेका छन् । सभामुख देवराज घिमिरेको सचिवालयले भने सांसद शाहले राजीनामा बुझाइनसकेको जनाएको छ ।
सांसद शाहले सामाजिक संजालमा आफूले पदबाट राजीनामा दिएको लेखेका छन् । 'म असिम शाह प्रतिनिधिसभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद् सदस्य पदबाट राजीनामा बुझाएको जानकारी गराउँछु,' उनले लेखेका छन् ।
रास्वपाका समानुपातिक सांसद शाहले जेनजी प्रदर्शनलाई समर्थन गर्दै पदबाट राजीनामा दिएको लेखेका छन् । 'जेनजी आन्दोलनलाई सरकारले दमन गर्ने कार्य, शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउनेजस्ता अमानवीय कदम र नागरिक अधिकारमाथिको ठाडो हस्तक्षेप मेरो विवेक र जनताप्रतिको उत्तरदायित्व विपरीत भएको छ,' उनले लेखेका छन्, 'मैले पटक–पटक सदनमा युवाको आवाज बोलेँ, चेतावनी दिएँ— सडक विद्रोह हुन सक्छ, यदि युवाको भावना बुझिएन भने । तर, सरकार चलाउनेहरूले कहिल्यै सुन्न चाहेनन्, कहिल्यै गम्भीरतापूर्वक लिन चाहेनन् ।'
सांसद शाहले संसद् भवनको सुरक्षाभन्दा युवाहरूको ज्यान ठूलो भएको पनि लेखेका छन् ।
संविधानको धारा ८९ मा सांसदले पदबाट राजीनामा दिनसक्ने व्यवस्था गरिएको छ । प्रतिनिधिसभा सदस्यले सभामुखलाई राजीनामा बुझाउनुपर्ने लेखिएको छ ।
