सरकारबाट अलग हुन देउवालाई नेताहरुको दबाब 

बुढानिलकण्ठमा सम्पन्न बैठकमा अधिकांश नेताहरु उपस्थित हुन नसके पनि उपस्थितहरुले सभापति देउवालाई सरकारबाट अलग हुन दबाब दिएका थिए ।

भाद्र २४, २०८२

कान्तिपुर संवाददाता

Leaders pressure Deuba to separate from the government

काठमाडौँ — सत्ता साझेदर दल नेपाली कांग्रेसभित्र सरकारबाट अलग हुनुपर्ने दबाब बढेको छ । नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर नै यस्तो दबाब बढाएका हुन् ।

देउवाले सरकार र पार्टीको कदमबारे छलफल गर्न मंगलबार बिहान आफ्नै निवास बुढानिलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका थिए । बैठकमा सहभागी हुन पुगेका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले सरकारबाट अलग हुनुपर्ने भनेका थिए । 

बैठकमा सबै नेताहरुको उपस्थित हुन नसके पनि उपस्थित भएकाहरुले यस्तो सुझाव दिएका थिए । दलभित्र सरकारबाट अलग हुन दबाब आएसँगै देउवा अप्ठ्यारोमा परेका छन् तर उनले सरकारबाट अलग हुने कुरामा अटेर गरेपछि मन्त्रीहरुले आफ्नै रुपमा राजीनामा दिन थालेका छन् । 

देउवाले अहिले पनि सरकार छोड्न मानेका छैनन् त्यसैले आफूहरुले राजीनामा दिएको एक मन्त्रीले बताए । देउवाले बोलाएको कार्यसम्पादन समितिको बैठक नेता आउन नसकेपछि स्थगित भएको एक नेताले जानकारी दिए । 

सरकारबारे अब सभापति देउवाले नै निर्णय लिने छन् । महामन्त्री थापा र शेखर कोइराला पक्षका मन्त्रीहरु भने सरकारमा नबस्ने भन्दै धमाधम राजीनामा दिन थालेका छन् ।

त्यस्तै सहमहामन्त्री जीवन परियारले यो संकटको घडीमा नेपाली कांग्रेस सरकारबाट बाहिरिनुपर्ने बताए । संकट समाधानको लागि २०४६ पछिका राजनीतिक नेता, राजनीतिक नियुक्ति पाएका तथा राष्ट्रको सुविधा लिएका राष्ट्र सेवकहरुको सम्पत्ति छानबिन गरी भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने शक्तिशाली आयोग बनाउनु पनि उनले माग गरे ।

कान्तिपुर

Link copied successfully