संवेदनाहीन सरकारको विरोधमा भन्दै प्रतिनिधिसभा सदस्यद्वय कार्की र डाँगीले राजीनामाको घोषणा गरेका हुन्
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. तोसिमा कार्की र निशा डाँगीको राजीनामा दिने घोषणा गरेका छन् । कार्की ललितपुरबाट निर्वाचित सांसद हुन् भने डाँगी समानुपातिक सांसद हुन् ।
जेनजी प्रदर्शनकारीमाथि भएको दमनको विरोध गर्दै सांसदहरूले राजीनामाको घोषणा गरेका हुन् । कार्कीले आधिकारीक रूपमा सभामुखलाई राजीनामा पत्र बुझाउने तर अब सांसद पदमा नरहने घोषणा सामाजिक संजालबाट गरेकी छन् ।
'संवेदनाहीन सरकारको कटपुतली बनेको संसदको जिम्मेवरीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु,' कार्कीको घोषणा छ । उनले आफू जेनजी प्रदर्शनकारीको साथमा रहेकी लेखेकी छन् ।
त्यस्तै, रास्वपा सचेतकसमेत रहेकी सांसद निशा डाँगीले पनि पदबाट राजीनामा गर्ने घोषणा गरेकी छन् । 'देशको ढुकुटी युवालाई मासेर देश बनाउन सकिँदैन । देशका युवा सडकमा लास बन्दै गर्दा, संसद र सरकार कस्का लागि ? म यो सांसद पदमा बस्न सक्दिनँ,' डाँगीको घोषणा छ, 'म एक जेनजीको प्रतिनिधित्व गर्ने भएकाले समेत यो पदमा बस्न सक्दिनँ । म मेरो पुस्तासँगै सडकमा जान चाहन्छु ।'
यसअघि रास्वपाका सांसद असिम शाहले पदबाट राजीनामा दिने घोषणा गरेका थिए । सांसदले राजीनामा सभामुखलाई बुझाउनुपर्छ ।
