इन्टनरेट सेवाको निरन्तरता सुनिश्चित गर्न सेवा प्रदायकले मागे प्राधिकरणसँग मार्गनिर्देशन

नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले सोमबार प्राधिकरणलाई पत्र पठाउँदै यस विषयमा ‍चाँडै मार्गनिर्देशन दिन माग गरेको हो ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

The service provider sought guidance from the authority to ensure continuity of internet service

काठमाडौँ — अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत उच्च हुन थालेपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूले सेवा निरन्तरता सुनिश्चित गर्न आवश्यक क्षमता कसरी र कहाँबाट व्यवस्थापन गर्ने भन्नेबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग स्पष्ट मार्गनिर्देशन मागेका छन् ।

नेपाल इन्टरनेट सेवा प्रदायक संघ (आईस्पान)ले सोमबार प्राधिकरणलाई पत्र पठाउँदै यस विषयमा ‍चाँडै मार्गनिर्देशन दिन माग गरेको हो । आईस्पानका अध्यक्ष सुधिर पराजुलीले हस्ताक्षर गरेको पत्रमा ब्यान्डविथको अस्वाभाविक वृद्धिका कारण नेटवर्क कन्जेसन (नेटवर्कमा असामान्य चाप) उत्पन्न भएको उल्लेख छ । यसले गर्दा ब्यान्डविथ क्षमता साँघुरिने (चोकिङ) समस्या देखा परेको भनिएको छ ।  

यसले इन्टरनेट गुणस्तरमा गम्भीर असर पार्ने र उपभोक्ताले लेटेन्सी बढ्ने, प्याकेट लस हुने, रियल-टाइम एप्लिकेसन, बैंकिङ तथा व्यावसायिक कारोबारमा समस्या भोग्नु परेको एसोसिएसनले जनाएको छ । साथै, यसबाट सेवा प्रदायकले बेहोर्नुपर्ने आर्थिक, प्राविधिक क्षतिको पूर्ति कसरी र कुन प्रक्रियाबाट उपलब्ध गराउन सकिन्छ भन्नेबारे मार्गनिर्देन दिन भनिएको छ । 

पत्रमा भनिएको छ, 'अत्यधिक ट्राफिकका कारण हाम्रो प्राविधिक स्रोतसाधन र नेटवर्क क्षमताले धान्नै नसक्ने दबाब परेको छ । यदि हालको अवस्था यस्तै रहिरहेमा प्रणालीमा गम्भीर असर पर्नसक्ने जोखिम उच्च रहेको छ, जसका कारण व्यापक रूपमा इन्टरनेट सेवा अवरुद्ध हुने खतरा उत्पन्न भएको छ ।'

कान्तिपुर

Link copied successfully