यो घटनामा ओलीको अधिनायकवादी प्रवृति जिम्मेवार छ, तत्काल राजीनामा दिनुपर्छ : पुन

प्रधानमन्त्री ओलीकै अहंकार र अधिनायकवादी चरित्रका कारण आजको घटना भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिएर पदबाट राजीनामा गर्नुपर्ने पुनले बताएका छन् ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Oli's authoritarian tendency is responsible for this incident, he should resign immediately: again

काठमाडौँ — जेन-जी प्रदर्शनका क्रममा सरकारले गरेको बल प्रयोगको जिम्मा लिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा गर्नुपर्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माग गरेका छन् । 

सरकारले बल प्रयोग गरेर दमन र हत्या गरेको भन्दै यसको जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने पुनको भनाइ छ । प्रधानमन्त्री ओलीकै अहंकार र अधिनायकवादी चरित्रका कारण घटना भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी लिएर पदबाट राजीनामा गर्नुपर्ने पुनले बताए ।

सोमबार भएको घटनाको नैतिक जिम्मेवार भएकाले पनि प्रधानमन्त्रीको पदमा ओली बसिरहन नमिल्ने पुनको भनाइ छ । ‘जेनजी पुस्ताको आन्दोलनमा भएको बल प्रयोग र हत्याको जिम्मेवारी प्रधानमन्त्री केपी ओली र उनको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले लिनुपर्छ,' पुनले भने, ‘यो परिस्थिति उत्पन्न हुनुमा ओलीको अधिनायकवादी, निरंकुश र स्वेच्छाचारी प्रवृति जिम्मेवार छ । घटनाले ओलीको असली चरित्र उदांगो पारेको छ, पदमा बस्ने नैतिकता गुमाएकाले तत्काल राजीनामा दिनुपर्छ ।’

जेनजीले उठाएका जायज मागको समर्थन गर्दै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हटाउन पनि पुनले माग गरे । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने गरी सामाजिक सञ्जालमा लगाइको बन्देज अस्वीकार्य भएको उनको भनाइ छ । 

शान्तिपूर्ण प्रदर्शन जनताको संवैधानिक अधिकार भएको उल्लेख गर्दै पुनले प्रदर्शनकारी युवामाथि भएको अत्याधिक बल प्रयोग तथा दमनको स्वतन्त्र र न्यायिक छानबिनको हुनुपर्ने माग गरे । आन्दोलनरत जेनजीलाई सार्वजनिक वा व्यक्तिका सम्पत्तिमाथि तोडफोड र आगजनी नगर्न पनि पुनको अपिल छ ।  

कान्तिपुर

Link copied successfully