दमकस्थित आकाशे पुलबाट सुरु भएको जेन–जी प्रदर्शनमा लाठीचार्जपछि पनि आन्दोलन शान्त नहुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर घाइते भए।
झापा — प्रधानमन्त्री केपी शर्मा ओलीको गृहक्षेत्र दमकमा प्रहरीले गोली चलाएको छ । जेन–जीहरूको प्रदर्शन उग्र बनेको भन्दै प्रहरीले गोली चलाएको प्रत्यक्षदर्शीहरुले जनाएका छन् ।
प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । जेन–जी प्रदर्शनका कारण अहिले दमक तनावग्रस्त बनेको छ ।
आज बिहान ११ बजे दमकस्थित आकाशे पुलबाट सुरु भएको जेन–जी प्रदर्शन दमक नगरपालिका कार्यालय पुगेको थियो । प्रदर्शनकै क्रममा प्रहरीले लाठीचार्ज गरेको थियो । झापा प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काले दमक नगरपालिका अगाडि अवस्था तनावग्रस्त बनेको बताए ।
नगर परिसरमा तोडफोडको प्रयास भइरहेको खबर आएको र आफू घटनास्थलतर्फ गइरहेको उनले जानकारी दिए । दमकमा गोली चलेको सन्दर्भमा भने थप बुझ्ने प्रयास भइरहेको उनको भनाइ थियो ।
झापाको विर्तामोड र दमकमा यतिबेला जेनजी प्रदर्शन जारी छ । जेन–जीले प्रधानमन्त्रीकै गृहक्षेत्रमा प्रधानमन्त्रीविरुद्ध ओलीका विरुद्ध नारा लगाएका छन् ।
