युट्युब बन्दको प्रभाव : संसद्को प्रत्यक्ष प्रसारणको विकल्प भेटिएन 

राष्ट्रय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल भन्छन्– 'कुनै न कुनै विकल्प सरकारले सोच्नैपर्छ । यो सदनको मात्रै नभई आम जनतासँग जोडिएका विषयवस्तु छन् । व्यापार व्यवसाय लगायतका कुरा छन् । सरकारले केही विकल्प खोज्नैपर्छ, दुई चार दिनमै यसको विकल्प खोज्नुपर्छ ।'

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

Effect of YouTube ban: No option was found for live broadcasting of Parliament

What you should know

काठमाडौँ — सरकारले पूर्वतयारीबिना युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्दा संघीय संसद्का बैठकको प्रत्यक्ष प्रसारण बन्द हुने भएको छ ।

युट्युब बन्द गरेको तीन दिन हुँदा पनि संघीय संसद्ले आगामी बैठकहरू कसरी प्रत्यक्ष प्रसारण गर्ने र संसदीय गतिविधि आम नागिरककहाँ पुर्‍याउने भन्ने विकल्प भेटेका छैनन् । 

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को प्रत्यक्ष प्रसारणको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे सचिवालयका अधिकारीहरूसँग पटक-पटक परामर्श गरेका छन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालले सचिवालयले युट्युबको विकल्पमा के कस्ता उपाय छन् भन्नेबारे संसद् सचिवालयले निरन्तर छलफल गरिरहेको जानकारी दिए । 'राष्ट्रिय सभाको सोमबारको बैठकको प्रत्यक्ष प्रसारण हुने कि नहुने भन्ने यकिन भइसकेको छैन,' दाहालले भने, 'कुनै न कुनै विकल्प सरकारले सोच्नैपर्छ । यो सदनको मात्रै नभई आम जनतासँग जोडिएका विषयवस्तु छन् । व्यापार व्यवसाय लगायतका कुरा छन् । सरकारले केही विकल्प खोज्नैपर्छ, दुई चार दिनमै यसको विकल्प खोज्नुपर्छ ।' संसद् बैठकमा सांसदले सामाजिक सञ्जाल बन्दका विषयमा कुरा राख्ने सम्भावना रहेको पनि दाहालको भनाइ थियो, 'सांसदले आफ्ना कुरा राख्नुहोला, सारा सर्वसाधारणले पनि बोलिरहेका छन् ।' 

सरकारले सामाजिक सञ्जाल बन्द गर्दा संसद्‌मा के कस्तो प्रभाव पर्छ भन्ने कुनै चासो नराखी र विकल्प चयन नगरी युट्युब बन्द गर्दा समस्या भएको संसद् सचिवालयका अधिकारीले जनाएका छन् ।

राष्ट्रिय सभा र प्रतिनिधिसभाका हरेक बैठक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने गरेका छन् । सर्वसाधारणले संसद्‌मा हुने गतिविध युट्युबमा गएर हेर्न पाएका थिए । तर, भाद्र १९ गते सरकारले युट्युब, फेसबुकलगायत २६ सामाजिक सञ्जाल बन्द गरेको थियो । त्यसयता संसद्का अधिकारीहरू प्रतनिधिसभा र राष्ट्रिय सभाको प्रत्यक्ष प्रसारण कसरी गर्ने भन्ने छलफलमा जुटेका हुन् । 'हामी विभिन्न विकल्पबारे छलफल गरिरहेका छौं । सरकारले नै युट्युबलाई निष्क्रिय बनाइसकेपछि त्यसमा लाइभ गर्न मिल्ने भएन । लाइभ गर्ने सम्भावना पनि छैन । संसद्को युट्युब च्यानल निष्क्रिय भएको छ । विकल्प भनेको वेबसाइटमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको छ,' संसद्का प्रवक्ता एकराम गिरिले भने, 'टिभीमा लाइभ गर्दा रेकर्ड बस्दैन । भिडियो हामीसँग हुन्छ तर आम नागरिकले संसद्को गतिविधि हेर्न सक्ने सम्भावना रहँदैन । वेबसाइटमा नै जाँदा सकेसम्म संसद्कै वेबसाइटबाट लाइभ गर्न सकिन्छ कि भन्ने तयारीमा छौं । हामीलाई तयारीका लागि समय कम भयो । हामी प्रत्यक्ष प्रसारण गर्ने कोसिसमै छौं ।' सभामुख र राष्ट्रिय सभाका अध्यक्षले सकेसम्म सभाका बैठक प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता गिरिले बताए । 

संसद्का बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रविधि खरिदका लागि समयसमेत पर्याप्त नरहेको प्रवक्ता गिरिले बताए । सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार प्राविधिक सामग्री खरिद गर्नुपर्नेमा त्यसका लागि समय अभाव रहेको उनको भनाइ थियो । 'समय अति छोटो भयो, केही नयाँ प्रविधिजन्य सामग्री खरिद गर्नुपर्ने भएकाले वेबसाइटबाट प्रत्यक्ष प्रसारणमा समस्या छ । प्रत्यक्ष प्रसारणको नयाँ सेटअपमा जाँदाखेरि व्यवस्थापन गर्नुपर्‍यो । एकैपटक गएर पछि समस्या होला जस्तो छ,' गिरिले भने ।  

कान्तिपुर

Link copied successfully