झण्डै दुई शताब्दीपछि काठमाडौंमा देखियो सानो सावरी

चरामा रुचि राख्ने नेपालका लागि बेलायतका तत्कालीन आवासीय प्रतिनिधि ब्रयान हडसनले उक्त चरा काठमाडौं उपत्यकामा पहिलो पटक सन् १८२९ र दोस्रो पटक १८४४ मा देखिएको कुरा पुस्तकमा उल्लेख गरेका छन् ।

भाद्र २२, २०८२

मनोज पौडेल

After almost two centuries, a small Savari was seen in Kathmandu

What you should know

लुम्बिनी — काठमाडौं उपत्यकामा झण्डै दुई शताब्दीपछि सानो सावरी जलपन्छी अभिलेख गरिएको छ । काठमाडौं उपत्यकाको कागेश्वरी मनोहरा खोलानजिक रहेको सीमसार क्षेत्रमा उड्दै गरेको बेला शनिबार सावरी देखिएको हो ।

अंग्रेजीमा ग्लोसी आईबिस भनिने चरा वन्यजन्तु फोटोग्राफर प्रताप गुरुङ, दीपक बुढाथोकी, हितमान गुरुङ र सम्याङ रुम्बाले मनोहरा खोलामा देखेर तस्बिर खिचेका हुन् । मनमोहक कलरमा देखिएको यो चरा प्रजननपछि भारततिर फर्किने क्रममा यहाँ देखिएको हुन सक्ने वरिष्ठ चराविद् डा. हेमासगर बरालले बताए ।

‘भारत मात्र नभएर यो चरा थाइल्याण्ड, कम्बोडिया, मलेसिया र लाओससम्म नेपालको भूभाग हुँदै पुग्छ,’ उनले भने । समुद्र सतहदेखि १ हजार २ सय ५० मिटर उचाइमा यो चरा देखिएको थियो । यो लम्बिएको पातलो घाटी, आकर्षक उडान, गाढा कटुस, बैजनी र हरियो रंगले मनमोहक र चित्ताकर्षक देखिन्छ । 

चरामा रुचि राख्ने नेपालका लागि बेलायतका तत्कालीन आवासीय प्रतिनिधि ब्रयान हडसनले उक्त चरा काठमाडौं उपत्यकामा पहिलो पटक सन् १८२९ र दोस्रो पटक १८४४ मा देखिएको कुरा पुस्तकमा उल्लेख गरेका छन् । त्यसपछि अहिले अभिलेख गरिँदा १ सय ८१ वर्षपछि उक्त चरा उपत्यकामा अभिलेख भएको चराविद्हरू बताउँछन् । दुई शताब्दीपछि भए पनि यस्तो चरा अभिलेख गर्न पाउँदा खुसी लागेको वाइल्डलाइफ फोटोग्राफर प्रताप गुरुङले बताए । ‘लामो समय उपत्यकाबासीले देख्न नपाएको चरा अभिलेख गर्न पाउँदा निकै खुसी लागेको छ,’ उनले भने । 

यो चरा बटुवाका रूपमा देखिएको हो । नेपालका नदी, होचा उपत्यका पछयाउँदै यो चराले उडान भरिरहेको छ । तर, नेपालमा बस्दैन । दिशा पत्ता लगाउन नसक्दा, मौसम बिग्रिएका बेला बाटो बिराएर र उड्दा उड्दै थाकेर फाट्टफुट्ट नेपालमा देखिन्छ ।

सवारी चराका ३० प्रजाति विश्वभरि छरिएर रहेको मानिन्छ । नेपालमा पाइने ३ प्रजातिका सावरीमा सबैभन्दा कम यो सानो सावरी पाइन्छ । त्यस्तै नेपालमा सावरीका सेतो र कर्रा सावरी प्रजाति पाइन्छ । सेप्टेम्बर अक्टुबरमा यसले उडान भर्छ ।After almost two centuries, a small Savari was seen in Kathmanduकाठमाडौं उपत्यकाको कागेश्वरी मनोहरा खोलामा देखिएको सानो सावरी । तस्बिर सौजन्यः  प्रताप गुरुङ

सेन्टर एसियन रिपब्लिक मुलुक (कजाकस्तान, उज्बेकिस्तान र अजरबैजान लगायत)मा प्रजनन गर्छ । यो सावरी नेपालदेखि उत्तर पश्चिम हिमालको छेउछाउ हुँदै भारत वा दक्षिण पूर्वी एसिया जान लागेको चराविद्हरू बताउँछन् । यो चराको डिस्ट्रिब्युसन विश्वभरि फैलिएको चराविद् हठन चौधरीले बताए । सवारीमा ३० प्रजातिमा सानो सावरी दक्षिण अमेरिका, उत्तर अमेरिका, अस्ट्रेलिया, युरोप, एसिया र अफ्रिका गरी ६ महादेशसम्म फैलिएको उनले बताए । नेपालमा पनि कोशी आरक्ष, शुक्लाफाँटा र चितवन राष्ट्रिय निकुञ्जमा यो चराको अभिलेख गरिएको छ । 

यसअघि गत साउन २८ मा काठमाडौं उपत्यकामा पहिलो पटक विश्वमै दुर्लभ चरा कँसे घाँसेचरी अभिलेख गरिएको थियो ।  गृष्मकालीन आगन्तुक चरा पनि मनोहरा खोलामा अभिलेख गरिएको थियो । यो पनि वाइल्ड लाइफफोटोग्राफर प्रताप गुरुङसहित ३ जनाको टोलीले देखेर तस्बिर खिचेको थियो ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully