प्राकृतिक मनोरम र सुन्दरता बढाउँदै गिद्ध

गिद्धले मरेका जनावरका सिनो खाएर वातावरणीय सफाइमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ।

भाद्र २१, २०८२

मनोज पौडेल

Vulture enhancing natural charm and beauty

What you should know

कपिलवस्तु — पछिल्लो समय मुलुकभर गिद्धको संख्या बढ्दै गएको छ । संरक्षण र जनचेतनाको प्रभावका कारण संख्या बढेको संरक्षणकर्मीले बताएका छन् । जसले उनीहरूलाई उत्साहित पनि बनाइरहेको छ ।

सेप्टेम्बरको पहिलो शनिबार अर्थात् भदौ २१ मा नेपालसहित विश्वमा १७ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा यसको महत्त्व र उपादेयता अझ बढेको छ । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार गर्दैन । मरेका जनावरको सिनो खाने हुँदा गिद्धलाई अहिंसाको पुजारी पनि भनिन्छ । प्राकृतिक मनोरम र सुन्दरता बढाउने काममा पनि गिद्ध प्रसिद्ध छन् । 

झट्ट हेर्दा गिद्ध अलि डर लाग्ने जस्तै देखिन्छ । बाहिरी बनावटै पनि राम्रो हुँदैन । त्यसैले पंक्षीको परिचयमा नकारात्मक प्रभाव पर्छ । अझ गाईबस्तुको सिनोको खोजीमा फोहर थुपारिएका ठाउँमा गिद्ध झुम्मिन्छन् । कावा खाँदै उड्छन् । सिनो लुछाचुँडी गर्दै खाँदै गरेको देख्दा गिद्धलाई हिंस्रक, फोहरी र घीनलाग्दो पंक्षीका रूपमा चित्रण गर्ने गरिन्छ । तर, परपरसम्म पुगेर सिनो खोज्दै आहारा बनाउँदा भने पर्यावरणीय महत्त्वको चर्चा जति गरे पनि कम हुन्छ । 

कुनै पनि पंक्षीलाई उसको बाहिरी आवरण नियालेर मात्रै उसका बारेमा धारणा बनाउनु उचित हुँदैन भनेर गिद्धले सन्देश दिइरहेको छ । दक्षिणी अफ्रिकी मुलुकमा गिद्धले प्रदान गर्ने पारिस्थितिकीय प्रणाली सेवाको आर्थिक पाटो हेर्नका लागि गरिएको वैज्ञानिक अध्ययनबाट प्राप्त नतिजालाई एकीकृत गरी पुनःमूल्यांकन गर्दा तीन देशका पारिस्थितिकीय प्रणाली सेवाको मूल्यमात्रै प्रतिवर्ष २ लाख ५१ हजार डलरभन्दा बढी रहेको पाइएको छ । वर्ड लाइफ इन्टरनेसनल अफ्रिकाले गरेको अध्ययन रिपोर्ट, २०२५ अनुसार बोत्सवाना, जाम्बिया र जिम्बाबेमा गरिएको अध्ययनले सरसफाइ, रोग व्याधि नियन्त्रण र पर्यापर्यटन लगायतका क्षेत्रमा बर्सेनि उक्त रकम बराबरको योगदान गरिरहेको उल्लेख छ । Vulture enhancing natural charm and beauty

अफ्रिकामा ११ प्रजातिका गिद्ध पाइन्छन् । जसमध्ये ७ वटा संकटको सूचीमा छन् । १६ देश सदस्य रहेको दक्षिण अफ्रिकन डेभलप्मेन्ट कन्ट्री (एसएडीसी)मा गिद्धहरूले दिने पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न दिने सेवाको मूल्य प्रतिवर्ष १ अर्ब ८ करोड डलर बराबरको रहेको अनुमान छ । त्यहाँ गरिएको एक अध्ययनले एउटा गिद्धले ११ हजार अमेरिकी डलर बराबर सिनो सरसफाइमा योगदान गर्ने गरेको उल्लेख छ । त्यसैले गिद्धलाई बिनालगानीको प्राकृतिक सफाइकर्मी पनि भनिन्छ । गिद्धहरू नहुँदा छाडा कुकुरको संख्या बढेको र त्यसका कारण मानिसमा रेबिजको सङ्क्रमण बढेको भारतमा गरिएको अध्ययनले देखाएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘यसले मानवको अनावश्यक खर्च बढ्यो,’ उनले भने, ‘औषधि उत्पादनको चाप बढ्यो । गिद्धले यस्तो समस्या आउनै दिँदैन । अनावश्यक दुःख र कष्ट झेल्नु पर्दैन ।’ 

चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घीनलाग्दो र भद्दा जिउडाल रहे पनि गिद्ध वातावरणीय सरसफाइका लागि ठूलै भूमिका भएको पंक्षी हो । प्रकृतिको कुचिकार गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरणलाई प्रदूषण, दुर्गन्ध र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पंक्षी संरक्षण संघ (बीसीएन) का गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशीले बताए । ‘मांसाहारी जीवले करिब ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन् । तर, गिद्धले अधिकांश सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई प्रदूषणमुक्त गर्न मद्दत गर्छ,’ उनले भने । 

सन् १९९० को दशकमा नेपाल र भारत लगायत दक्षिण एसियाली मुलुकमा अप्राकृतिक र नाटकीय रूपमा ९१ प्रतिशत बढी गिद्धको संख्यामा गिरावट आएको थियो । सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध रहेको अनुमान गरिन्छ । तर, त्यति धेरै गिद्ध एकाएक ९० प्रतिशतले घटेर २० हजारभन्दा कम संख्या आइपुग्यो । नेपाल पंक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको थियो । पछि सरकारी/गैरसरकारी क्षेत्रबाट थालेको संरक्षण प्रयास, योजना र कार्यक्रमले गिद्धको संख्या बढाउदै लगेको हो । 

घरपालुवा पशुमा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेक औषधि गिद्ध विनाश कारण बन्यो । यस्ता औषधि खुवाइएको पशुको सिनो खाँदा गिद्धको मिर्गौलामा असर गर्छ भन्ने पुष्टि भयो । डिक्लोफेनाक जनावरको दुखाइ कम गर्ने सस्तो गैर–स्टेरोइडल औषधि हो, जुन गिद्धका लागि भने घातक छ । यो औषधि प्रयोग भएका जनावरको मासु खाने चराको मृगौला बिग्रिन्थ्यो र मर्थे ।

डाइक्लोफेनेकको असर यतिसम्म डरलाग्दो देखियो कि ३० एमएलको एक भाइल प्रयोग भएको सिनोले ३५० देखि ८०० वटासम्म गिद्ध मरेको अध्ययनले देखाएको गिद्ध विशेषज्ञ कृष्णप्रसाद भुसालले बताए । त्यसपछि गिद्ध विनाशको कारक बनेको पशु उपचारमा प्रयोग गरिने पीडानाशक डाइक्लोफेनेक औषधि नेपालमा ०६३ को जेठ २३ देखि प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लागेपछि गिद्ध ह्रास घटेको हो । अझै पनि गिद्धलाई हानि पुर्‍याइरहेका निमुस्लाइड, किटोपोर्फेन र एसिक्टोफेनेकजस्ता औषधि पनि प्रतिबन्ध लगाउनुपर्ने उनले बताए । ‘भारत र बंगलादेशमा बेचबिखनमा रोक लगाइसके,’ उनले भने, ‘यहाँ ढिलो भइरहेको छ । त्यही साल गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन नवलपरासीमा विश्वमै पहिलो जटायु रेस्टुरेन्ट संचालन गरियो । पछि यसलाई बढाएर रूपन्देही, दाङ, कैलाली, कास्की र सुनसरीमा स्थापना गरियो ।’ 

सिकारी चरा समूहअन्तर्गत पर्ने गिद्ध ठूलो मांसाहारी पंक्षी हो । यसले आफैं सिकार गर्दैन र मरेका जनावरको मासु अर्थात् सिनो खान्छ । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाई वातावरण सन्तुलित, दुर्गन्धमुक्त र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भनिने गिद्धविज्ञ देउबहादुर रानाले बताए । गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले विभिन्न हानिकारक किटाणु भएको सडेगलेको मासु पनि सहजै पचाउँछ । तर, गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकाले परिणामस्वरूप यस्ता सिनो खाने कुकुर, स्याल, मुसा र झिंगामार्फत रेबिज, प्लेग, आउ, हैजा, झाडापखाला जस्ता सरुवा रोग मानिसमा फैलिने जोखिम हुन्छ । त्यस्तै, पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग सर्न सक्छ । 

विश्वमा २३ र नेपाललगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइन्छन् । मानिसभन्दा आठ गुना टाढासम्म देख्ने गिद्धले औसत तीन दिनमा एक केजी सिनो खान्छ । सिनोको खोजीमा गिद्ध ३ सय किलोमिटर टाढासम्म उड्छ । गिद्धले ब्याक्टेरिया, भाइरस र रोगका कीटाणुयुक्त मरेका जनावरलाई खाएर स्वच्छ वातावरणका लागि सहयोग गर्छ । गिद्ध नहुने हो भने रोग फैलिने सम्भावना उत्तिकै हुन्छ । त्यसैले गिद्धले प्राकृतिक सफाइकर्मीको उपमा पाएको गिद्धविज्ञ रानाले बताए । 

नेपालमा पाइने गिद्धमध्ये ६ प्रजाति गिद्धले मात्र गुड बनाई बच्चा कोरल्छन् । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुड बनाउने गर्छन् । अरू चरा प्रजातिजस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न । गिद्धले आजीवन जोडी बनाउँछन् । गुँड निर्माण, बच्चा कोरल्ने र हुर्काउने काम भालेपोथीले साझेदारीमा गर्छन् । हाडफोर र सेतो गिद्धको केही अवस्थाबाहेक अन्य प्रजातिका गिद्धले एक वर्ष (एक प्रजनन अवधिमा) एउटा मात्र अन्डा पार्छ । गिद्धले कोरलेको बचेरा ५५ देखि ७० प्रतिशतसम्म मात्रै हुर्काउन सक्ने तथ्यांक छ ।

पछिल्लो समय गिद्धको अध्ययन अनुसन्धान बढ्दै गरेको छ । यसको संरक्षणमा चासो बढ्दै गएको छ । सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट गिद्ध संरक्षणको कार्ययोजना २०२३–२०२७ बनाएर काम गरिरहेको छ । यसले वैज्ञानिक अनुसन्धान, वासस्थानको संरक्षण र सचेतना गरेर गिद्ध संरक्षण गर्ने कम भइरहेको छ । गत वर्ष नेपालका मुख्य ठाउँमा पंक्षी संरक्षण संघ (बीसीएन)ले गिद्धको गुँड अनुगमन गर्दा ७ सय १५ गुँड भेट्टाएकामा यस वर्ष ८ सय गुँड पहिचान गरेको बीसीएनका गिद्ध संरक्षण अधिकृत जोशीले बताए ।

सेभिङ एसियाज भल्चर्स फ्रम एक्स्टिन्सन’ (सेभ) ले नेपाललाई ०७८ मंसिरमा गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्र घोषणा गरेको छ । गिद्ध सुरक्षित क्षेत्र भनेर गिद्धको वासस्थानसहित त्यस आसपासको चरन र विचरण गर्ने क्षेत्रलाई मानिन्छ । ‘सेभ’ एसियाको खतरामा परेका गिद्धहरूलाई बचाउन सहकार्य गर्ने २४ साझेदारहरूको ‘कन्सोर्टियम’ हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र नेपाल पंक्षी संरक्षण संघ (बीसीएन) सेभका प्रमुख साझेदार हुन् । लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully