गिद्धले मरेका जनावरका सिनो खाएर वातावरणीय सफाइमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ।
What you should know
कपिलवस्तु — पछिल्लो समय मुलुकभर गिद्धको संख्या बढ्दै गएको छ । संरक्षण र जनचेतनाको प्रभावका कारण संख्या बढेको संरक्षणकर्मीले बताएका छन् । जसले उनीहरूलाई उत्साहित पनि बनाइरहेको छ ।
सेप्टेम्बरको पहिलो शनिबार अर्थात् भदौ २१ मा नेपालसहित विश्वमा १७ औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइरहँदा यसको महत्त्व र उपादेयता अझ बढेको छ । सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार गर्दैन । मरेका जनावरको सिनो खाने हुँदा गिद्धलाई अहिंसाको पुजारी पनि भनिन्छ । प्राकृतिक मनोरम र सुन्दरता बढाउने काममा पनि गिद्ध प्रसिद्ध छन् ।
झट्ट हेर्दा गिद्ध अलि डर लाग्ने जस्तै देखिन्छ । बाहिरी बनावटै पनि राम्रो हुँदैन । त्यसैले पंक्षीको परिचयमा नकारात्मक प्रभाव पर्छ । अझ गाईबस्तुको सिनोको खोजीमा फोहर थुपारिएका ठाउँमा गिद्ध झुम्मिन्छन् । कावा खाँदै उड्छन् । सिनो लुछाचुँडी गर्दै खाँदै गरेको देख्दा गिद्धलाई हिंस्रक, फोहरी र घीनलाग्दो पंक्षीका रूपमा चित्रण गर्ने गरिन्छ । तर, परपरसम्म पुगेर सिनो खोज्दै आहारा बनाउँदा भने पर्यावरणीय महत्त्वको चर्चा जति गरे पनि कम हुन्छ ।
कुनै पनि पंक्षीलाई उसको बाहिरी आवरण नियालेर मात्रै उसका बारेमा धारणा बनाउनु उचित हुँदैन भनेर गिद्धले सन्देश दिइरहेको छ । दक्षिणी अफ्रिकी मुलुकमा गिद्धले प्रदान गर्ने पारिस्थितिकीय प्रणाली सेवाको आर्थिक पाटो हेर्नका लागि गरिएको वैज्ञानिक अध्ययनबाट प्राप्त नतिजालाई एकीकृत गरी पुनःमूल्यांकन गर्दा तीन देशका पारिस्थितिकीय प्रणाली सेवाको मूल्यमात्रै प्रतिवर्ष २ लाख ५१ हजार डलरभन्दा बढी रहेको पाइएको छ । वर्ड लाइफ इन्टरनेसनल अफ्रिकाले गरेको अध्ययन रिपोर्ट, २०२५ अनुसार बोत्सवाना, जाम्बिया र जिम्बाबेमा गरिएको अध्ययनले सरसफाइ, रोग व्याधि नियन्त्रण र पर्यापर्यटन लगायतका क्षेत्रमा बर्सेनि उक्त रकम बराबरको योगदान गरिरहेको उल्लेख छ । 
अफ्रिकामा ११ प्रजातिका गिद्ध पाइन्छन् । जसमध्ये ७ वटा संकटको सूचीमा छन् । १६ देश सदस्य रहेको दक्षिण अफ्रिकन डेभलप्मेन्ट कन्ट्री (एसएडीसी)मा गिद्धहरूले दिने पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न दिने सेवाको मूल्य प्रतिवर्ष १ अर्ब ८ करोड डलर बराबरको रहेको अनुमान छ । त्यहाँ गरिएको एक अध्ययनले एउटा गिद्धले ११ हजार अमेरिकी डलर बराबर सिनो सरसफाइमा योगदान गर्ने गरेको उल्लेख छ । त्यसैले गिद्धलाई बिनालगानीको प्राकृतिक सफाइकर्मी पनि भनिन्छ । गिद्धहरू नहुँदा छाडा कुकुरको संख्या बढेको र त्यसका कारण मानिसमा रेबिजको सङ्क्रमण बढेको भारतमा गरिएको अध्ययनले देखाएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘यसले मानवको अनावश्यक खर्च बढ्यो,’ उनले भने, ‘औषधि उत्पादनको चाप बढ्यो । गिद्धले यस्तो समस्या आउनै दिँदैन । अनावश्यक दुःख र कष्ट झेल्नु पर्दैन ।’
चुच्चो, नाङ्गो तथा लामो गर्धन देख्दा घीनलाग्दो र भद्दा जिउडाल रहे पनि गिद्ध वातावरणीय सरसफाइका लागि ठूलै भूमिका भएको पंक्षी हो । प्रकृतिको कुचिकार गिद्धले जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाएर वातावरणलाई प्रदूषण, दुर्गन्ध र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका खेलेको पंक्षी संरक्षण संघ (बीसीएन) का गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशीले बताए । ‘मांसाहारी जीवले करिब ३६ प्रतिशत मात्र सडेगलेका मासु र कंकाल खान्छन् । तर, गिद्धले अधिकांश सडेगलेका मासु र कंकाल खाएर वातावरणलाई प्रदूषणमुक्त गर्न मद्दत गर्छ,’ उनले भने ।
सन् १९९० को दशकमा नेपाल र भारत लगायत दक्षिण एसियाली मुलुकमा अप्राकृतिक र नाटकीय रूपमा ९१ प्रतिशत बढी गिद्धको संख्यामा गिरावट आएको थियो । सन् १९९० को दशकमा नेपालमा करिब १० देखि १६ लाख गिद्ध रहेको अनुमान गरिन्छ । तर, त्यति धेरै गिद्ध एकाएक ९० प्रतिशतले घटेर २० हजारभन्दा कम संख्या आइपुग्यो । नेपाल पंक्षी संरक्षण संघको सन् २००२ देखि २०११ सम्मको अध्ययनले डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको देखाएको थियो । पछि सरकारी/गैरसरकारी क्षेत्रबाट थालेको संरक्षण प्रयास, योजना र कार्यक्रमले गिद्धको संख्या बढाउदै लगेको हो ।
घरपालुवा पशुमा सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेक औषधि गिद्ध विनाश कारण बन्यो । यस्ता औषधि खुवाइएको पशुको सिनो खाँदा गिद्धको मिर्गौलामा असर गर्छ भन्ने पुष्टि भयो । डिक्लोफेनाक जनावरको दुखाइ कम गर्ने सस्तो गैर–स्टेरोइडल औषधि हो, जुन गिद्धका लागि भने घातक छ । यो औषधि प्रयोग भएका जनावरको मासु खाने चराको मृगौला बिग्रिन्थ्यो र मर्थे ।
डाइक्लोफेनेकको असर यतिसम्म डरलाग्दो देखियो कि ३० एमएलको एक भाइल प्रयोग भएको सिनोले ३५० देखि ८०० वटासम्म गिद्ध मरेको अध्ययनले देखाएको गिद्ध विशेषज्ञ कृष्णप्रसाद भुसालले बताए । त्यसपछि गिद्ध विनाशको कारक बनेको पशु उपचारमा प्रयोग गरिने पीडानाशक डाइक्लोफेनेक औषधि नेपालमा ०६३ को जेठ २३ देखि प्रयोग, उत्पादन, आयात र बिक्रीमा प्रतिबन्ध लागेपछि गिद्ध ह्रास घटेको हो । अझै पनि गिद्धलाई हानि पुर्याइरहेका निमुस्लाइड, किटोपोर्फेन र एसिक्टोफेनेकजस्ता औषधि पनि प्रतिबन्ध लगाउनुपर्ने उनले बताए । ‘भारत र बंगलादेशमा बेचबिखनमा रोक लगाइसके,’ उनले भने, ‘यहाँ ढिलो भइरहेको छ । त्यही साल गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन नवलपरासीमा विश्वमै पहिलो जटायु रेस्टुरेन्ट संचालन गरियो । पछि यसलाई बढाएर रूपन्देही, दाङ, कैलाली, कास्की र सुनसरीमा स्थापना गरियो ।’
सिकारी चरा समूहअन्तर्गत पर्ने गिद्ध ठूलो मांसाहारी पंक्षी हो । यसले आफैं सिकार गर्दैन र मरेका जनावरको मासु अर्थात् सिनो खान्छ । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाई वातावरण सन्तुलित, दुर्गन्धमुक्त र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गिद्धलाई ‘प्रकृतिको कुचिकार’ पनि भनिने गिद्धविज्ञ देउबहादुर रानाले बताए । गिद्धको पेटमा रहेको अत्यधिक अम्लीय रसले विभिन्न हानिकारक किटाणु भएको सडेगलेको मासु पनि सहजै पचाउँछ । तर, गिद्धको अनुपस्थितिमा सिनो वातावरणमा यत्रतत्र छरिएर रहने भएकाले परिणामस्वरूप यस्ता सिनो खाने कुकुर, स्याल, मुसा र झिंगामार्फत रेबिज, प्लेग, आउ, हैजा, झाडापखाला जस्ता सरुवा रोग मानिसमा फैलिने जोखिम हुन्छ । त्यस्तै, पशुचौपायामा एन्थ्रेक्स, ब्रुसेलोसिस र क्षयरोग सर्न सक्छ ।
विश्वमा २३ र नेपाललगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्ध पाइन्छन् । मानिसभन्दा आठ गुना टाढासम्म देख्ने गिद्धले औसत तीन दिनमा एक केजी सिनो खान्छ । सिनोको खोजीमा गिद्ध ३ सय किलोमिटर टाढासम्म उड्छ । गिद्धले ब्याक्टेरिया, भाइरस र रोगका कीटाणुयुक्त मरेका जनावरलाई खाएर स्वच्छ वातावरणका लागि सहयोग गर्छ । गिद्ध नहुने हो भने रोग फैलिने सम्भावना उत्तिकै हुन्छ । त्यसैले गिद्धले प्राकृतिक सफाइकर्मीको उपमा पाएको गिद्धविज्ञ रानाले बताए ।
नेपालमा पाइने गिद्धमध्ये ६ प्रजाति गिद्धले मात्र गुड बनाई बच्चा कोरल्छन् । डंगर, सानो खैरो र सुन गिद्ध रूखमा गुड बनाउने प्रजाति हुन् भने हिमाली, हाडफोर र सेतो गिद्धले पहरामा गुड बनाउने गर्छन् । अरू चरा प्रजातिजस्तै गिद्धको पनि भाले पोथी सजिलै छुट्याउन सकिन्न । गिद्धले आजीवन जोडी बनाउँछन् । गुँड निर्माण, बच्चा कोरल्ने र हुर्काउने काम भालेपोथीले साझेदारीमा गर्छन् । हाडफोर र सेतो गिद्धको केही अवस्थाबाहेक अन्य प्रजातिका गिद्धले एक वर्ष (एक प्रजनन अवधिमा) एउटा मात्र अन्डा पार्छ । गिद्धले कोरलेको बचेरा ५५ देखि ७० प्रतिशतसम्म मात्रै हुर्काउन सक्ने तथ्यांक छ ।
पछिल्लो समय गिद्धको अध्ययन अनुसन्धान बढ्दै गरेको छ । यसको संरक्षणमा चासो बढ्दै गएको छ । सरकारको वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट गिद्ध संरक्षणको कार्ययोजना २०२३–२०२७ बनाएर काम गरिरहेको छ । यसले वैज्ञानिक अनुसन्धान, वासस्थानको संरक्षण र सचेतना गरेर गिद्ध संरक्षण गर्ने कम भइरहेको छ । गत वर्ष नेपालका मुख्य ठाउँमा पंक्षी संरक्षण संघ (बीसीएन)ले गिद्धको गुँड अनुगमन गर्दा ७ सय १५ गुँड भेट्टाएकामा यस वर्ष ८ सय गुँड पहिचान गरेको बीसीएनका गिद्ध संरक्षण अधिकृत जोशीले बताए ।
सेभिङ एसियाज भल्चर्स फ्रम एक्स्टिन्सन’ (सेभ) ले नेपाललाई ०७८ मंसिरमा गिद्धका लागि विश्वकै पहिलो सुरक्षित क्षेत्र घोषणा गरेको छ । गिद्ध सुरक्षित क्षेत्र भनेर गिद्धको वासस्थानसहित त्यस आसपासको चरन र विचरण गर्ने क्षेत्रलाई मानिन्छ । ‘सेभ’ एसियाको खतरामा परेका गिद्धहरूलाई बचाउन सहकार्य गर्ने २४ साझेदारहरूको ‘कन्सोर्टियम’ हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) र नेपाल पंक्षी संरक्षण संघ (बीसीएन) सेभका प्रमुख साझेदार हुन् । लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँलाई गिद्ध सुरक्षित क्षेत्र घोषणा गरिएको छ ।
