ल्हेन्दे खोलामा पिलर राखेर ५० मिटरभन्दा लामो बेलिब्रिज बनाउनुपर्ने भएकाले दसैंअघि नाका नखुल्ने भएको छ।
What you should know
काठमाडौँ — गत असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले नाका जोड्ने पुल बगाएसँगै यति बेला रसुवागढी नाका ठप्प छ । कहिलेबाट नाका सञ्चालनमा आउँछ ? यसबारे सम्बन्धित अधिकारी पनि अझै अनभिज्ञ छन् । नाका सञ्चालनमा आउन पहिला ल्हेन्दे खोलामा बेलिब्रिज बन्नुपर्छ । चीनले अहिले बेलिब्रिज निर्माण सुरु गरे पनि काम सकिएको छैन ।
गत असार २४ र साउन १४ मा भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक अझै पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन । स्याफ्रबेंसीदेखि टिमुरेसम्मको सडक साताअघिबाट सञ्चालनमा आएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठले बताए ।
‘पहिला जति सडक बनाए पनि खोलाले खोतलेर समस्या थियो,’ उनले भने, ‘अहिले यो समस्या छैन, टिमुरेदेखि रसुवागढी नाका जोड्ने खण्ड पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।’ उक्त खण्डमा दुई ठाउँमा गरेर करिब ५० मिटर सडक बनाउन बाँकी रहेको उनले सुनाए ।
कडा चट्टान भएकाले त्यसलाई फोरेर काम गर्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । जहाँ अहिले काम भइरहेको छ । ‘स्याउ पार्किङ र निकुञ्ज चेकपोस्टमा बाढीले सडक बगाएका कारण समस्या भएको हो, त्यो ठाउँमा एक साताभित्र त्यही ठाउँमा नयाँ ट्र्याक खोलेर सडक सञ्चालनमा ल्याउनेछौं,’ श्रेष्ठले भने । यस खण्डमा पहिरोका कारण नयाँ ट्र्याक खोलेर सडक सञ्चालन गर्न लागिएको उनले बताए ।
अहिले सडक खोलिसकेकाले स्याफ्रुबेंसीदेखि टिमुरेसम्म सवारीसाधन सञ्चालनमा आएका छन् । ‘सञ्चालनमा आएको सडकमा बेला–बेलामा पहिरो खस्ने भएका कारण हिलो पन्छाउँदै यातायात सञ्चालन गर्ने गरिएको छ,’ श्रेष्ठले भने, ‘ठूलो समस्या भने छैन ।’ केही समस्या आए सडक सञ्चालन गर्न मेसिन तयारी अवस्थामा राखिएको उनले सुनाए । नदीबाट हुने कटान कम भएकाले पहिला जस्तो समस्या नरहेको उनको भनाइ छ ।
स्याफ्रुबेंसीदेखि रसुवागढी जोड्ने सडक दसैंअघि नै सञ्चालनमा आए पनि नाका जोड्ने पुल बनिनसक्ने जानकारी आएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
‘पहिला ल्हेन्दे खोलामा ५० मिटर पुल बनाउने कुरा थियो, बीचमा पिलर राख्नेबारे छलफल भएको थिएन,’ उनले भने, ‘अहिले ५० मिटरभन्दा लामो ‘बेलिब्रिज’ बनाउनुपर्ने भएकाले बीचमा पिलर थप्नुपर्ने भयो, त्यसैले दसैंअघि पुल बनाउन समस्या हुने चिनियाँ पक्षबाट जानकारी पाएका छौं ।’ पुल बनाउन सुरु गरिएको भए पनि अझै कति समय लाग्ने हो, यकिन छैन ।
‘कति मिटर बनाउनुपर्ने हो, यकिन भइसकेको छैन, हाम्रो अनुमान ८० देखि सय मिटर लामो हुन सक्छ,’ उनले भने, ‘दसैंमा बेलिब्रिज बनिनसक्ने भएका कारण चीनबाट तयारी वस्तु ल्याउन कठिन हुने भएको छ ।’ चीनबाट धेरै लोड भएका कन्टेनर आउने हुँदा त्यहीअनुसारको पुल निर्माण गर्नुपर्ने भएकाले खोलाको बीचमा पिलर आवश्यक भएको शर्माले जनाए । ‘दसैंअघि पुल नबन्ने भएपछि नाकाबाट सामान आउँदैन,’ उनले भने, ‘हाम्रो अनुमान तिहारसम्म बनिसक्छ भन्ने छ ।’ यो नाका भएर दिनको सयभन्दा बढी कन्टेनर ओहोरदोहोर गर्छन् । अहिले रसुवागढी नाका ठप्प छ ।
ल्हेन्दे खोलामा पुल बन्न समय लाग्ने भएकाले तिहारसम्म नै नाका ठप्प हुने देखिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले पनि बताए । ‘दसैंका बेला लत्ताकपडा रसुवागढी र तातोपानी नाकाबाट नेपाल भित्रन्छ,’ उनले भने, ‘स्याउ पनि चाडबाडमै बढी खपत हुन्छ, त्यो पनि यही नाका भएर भित्रने हो, तर अहिले यो नाका ठप्प छ ।’ चाडबाडमा यही नाका भएर नयाँ सवारीसाधन भित्र्याउने गरिएको भए पनि अहिले बन्द छ । सबैभन्दा धेरै विद्युतीय सवारीसाधन यही नाकाबाट भित्रने गरे पनि अहिले यो नाकाबाट आयात बन्द छ ।
‘कति अटो व्यवसायीले चाडबाडमा अफर राखेर गाडी मगाएका थिए । र, यो नाकाबाट लग्न असम्भव भयो,’ भट्टराईले भने, ‘नाका ठप्प हुँदा धेरै कुराको आयात रोकिएको छ ।’ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य ४० अर्ब १६ करोड रुपैयाँ राखेको छ । ‘साउन र भदौमा राजस्व संकलनको लक्ष्य ७ अर्ब रुपैयाँ हो,’ उनले भने, ‘यी दुई महिनामा केही पनि उठेको छैन, असोजमा पनि लक्ष्यअनुसार राजस्व उठ्ने सम्भावना छैन, किनकि दसैंअघि नाका नै खुल्दैन ।’
असोजमा मात्र राजस्व संकलनको लक्ष्य साढे ३ अर्ब रुपैयाँ छ । चालु आर्थिक वर्षको तिहारपछि नियमित रूपमा नाका खुलेर सामान आए पनि वर्षभर राखिएको कुल लक्ष्यमा १२ अर्ब कम राजस्व संकलन हुने भट्टराईको भनाइ छ । ‘दसैंअघि नाका खुलेको भए यति ठूलो राजस्व गुम्ने थिएन,’ उनले भने, ‘फेरि चाडबाडका बेला अघिपछिभन्दा बढी राजस्व संकलन हुन्थ्यो, त्यो पनि यो पटक नहुने भयो ।’
