बेसहरा नागरिकलाई आश्रय उपलब्ध गराउँदै आएको समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु-याएबापत पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ ।
काठमाडौँ — यस वर्षको ‘रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार’ मानव कल्याण समाज (सेवा घर) लाई प्रदान गरिएको छ । रामबाबु–ज्ञानु सामाजिक सेवा पुरस्कार कोषले आज आयोजना गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले समाजका संस्थापक सुमित्रा चौलागाई (सुमी मानव) लाई पुरस्कार प्रदान गरे ।
पुरस्कारको राशि दुई लाख रहेको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–२ झौखेलमा बेसहरा नागरिकलाई आश्रय उपलब्ध गराउँदै आएको समाजलाई सामाजिक सेवाको क्षेत्रमा उल्लेख्य योगदान पु-याएबापत उक्त पुरस्कार प्रदान गरिएको कोषले जनाएको छ ।
कार्यक्रममा बुढानीलकण्ठ नगरपालिका–४ डाँडागाउँमा रहेको अनाथ असहाय बाल सुधार समाज, नुवाकोटको विदुर नगरपालिका–७ देवीघाटस्थित देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अनुसन्धान प्रतिष्ठान, चितवनको रत्ननगरपालिका–११ मङ्गलपुरस्थित गामबेँसीको चेपाङ संरक्षण केन्द्र र ललितपुरको ललितपुर महानगरपालिका–२५ नख्खुस्थित तुलसी फाउन्डेसन (तुलसालय आश्रम) लाई जनही एक लाख राशिको पुरस्कार प्रदान गरियो ।
सो अवसरमा शिक्षा तथा सीप विकासको अवसर प्रदान गर्न सामाजिक संस्थाको योगदानका शोधकर्ता पूर्वसहसचिव गेहनाथ गौतमद्वारा लिखित ‘सामाजिक सेवा प्रचनमाला–८’ लोकार्पण गरिएको थियो । कार्यक्रममा सम्मानित व्यक्तित्व चौलागाईंले बेसहरा नागरिकलाई जीवनयापनमा सहजीकरण गर्न समाज क्रियाशील रहेको बताइन् ।
