एआईको उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको सभामुख घिमिरेले बताएका छन् ।
What you should know
ललितपुर — सभामुख देवराज घिमिरेले दुई-तीन वर्षयता एआईसहित सूचना प्रविधि सेवा निर्यातमा नेपालले उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न सफल भएको बताएका छन् ।
डिजिटल मिडिया फाउन्डेसनद्वारा आज ललितपुरमा आयोजित 'राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलनमा' बोल्ने उनले नेपाली युवाले नेपालमै बसेर संसारभर आफ्नो बजार खोज्ने सक्ने यो अवसर आर्थिक हिसाबले मात्र नभई सामाजिक र राजनीति हिसाबले पनि महत्वपूर्ण रहेको बताए ।
संसद् तथा समितिमा हुने गतिविधिका साथै सदस्यहरुका अभिव्यक्तिलाई ‘स्पिच–टु–टेक्स्ट’ मा रूपान्तरण गर्ने, विधेयकसँग सम्बन्धित ‘डेटा’ शीघ्र पत्ता लगाउने तथा विश्लेषण गर्ने भएकाले एआई उपयोगी हुने उनले बताए ।
सभामुख घिमिरेले गलत सूचना, ‘ह्याकिङ’ र डेटा सुरक्षाको चुनौतीलाई दृष्टिगत गरी कृत्रिम बौद्धिकताको प्रयोग र नियमन गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्थाको तयारी भइरहेको पनि जानकारी गराए । 'प्राविधिक र व्यावहारिक रूपले जटिल यस्ता विषयमा कानुन निर्माणमा संसद् वा सरकारको क्षमताले मात्र नपुग्न सक्छ, यसमा विषयगत विज्ञ, सरोकार भएकाहरूको पहलकदमी र सक्रिय सहभागिता जरूरी छ,' उनले भने ।
एआईको उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको उनको भनाइ थियो । 'एआईसँगै अन्य प्रविधिलाई पनि समायोजन र नियमन गर्ने कानुन आवश्यक छन् । सरकारले आवश्यक विधेयक संसदमा ल्याउने तयारी गरेको जानकारी गराएको छ,' उनले भने, 'संसद्ले पनि समयले माग गरेका विषयलाई प्राथमिकता दिने र ती कानुन नागरिकमैत्री हुने प्रतिबद्धता व्यक्त गर्छु ।'
सभामुख घिमिरेले एआईका केही गम्भीर बेफाइदा रहेको भन्दै गलत सूचना र भ्रम फैलाउने ‘डिपफेक’ प्रविधि, साइबर ठगी तथा संवेदनशील व्यक्तिगत डेटा चोरी हुने समस्या बढिरहेको बताए । 'कृत्रिम बुद्धिमत्ताले मानव श्रमलाई विस्थापित गर्ने खतरा पनि छ, जसले बेरोजगारी बढाउन सक्छ,' उनले भने, 'यसको प्रयोग गर्दा सुरक्षात्मक र नैतिक मापदण्डमा विशेष ध्यान दिन जरुरी छ ।'
