खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा गत असार २२ मा बेलिब्रिज निर्माण भएपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । गाडी पुगेसँगै सस्तो ढुवानीले उपभोग्य वस्तुको मूल्य आधा घटेको व्यवसायी बताउँछन् ।
What you should know
सुर्खेत — हुम्लाको सिमकोट गाउँपालिका–७ का पदमबहादुर रोकायालाई एक वर्षअघिसम्म ५ किलो चामलका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा दिनभर लाइन बस्नुपर्ने बाध्यता थियो । ‘महँगीले बजारको चामल किन्नै नसकिने, खाद्यमा दिनभरि लाइन बसेर पनि कहिलेकाहीँ रित्तो हात फर्किनुपर्ने बाध्यता,’ उनले भने, ‘गाडी पुगेपछि पुस्तौंदेखिको चामलको टन्टाबाट मुक्ति पाएका छौं ।’
उनका अनुसार सडक सुविधा नहुँदा यसअघि जहाजमा प्रतिकिलो १ सय २५ रुपैयाँ ढुवानी भाडा तिरेर खाद्यान्नको जोहो गर्नुपर्ने बाध्यता थियो ।
सिमकोट–७ कै रघुवीर बुढाले दुई वर्षअघिको दसैंमा प्रतिकिलो २ सय ५० रुपैयाँमा चामल किनेर गर्जो टारेका थिए । अहिले सदरमुकाम सिमकोटमा ३० किलोको प्रतिबोरा मसिनो चामल २ हजार ५ सय रुपैयाँमा पाइन्छ । ‘अहिले गाडीले घरमै खाद्यान्न पुर्याउँछ, सडक पुगेसँगै भान्सा सस्तियो,’ उनले भने, ‘महँगी घटेपछि गरिबी पनि घट्दै गएको छ ।’ बजारमा मोटा चामलको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको उनले जानकारी दिए । उनका अनुसार पोहरसम्म मोटा चामलकै मूल्य प्रतिकिलो १ सय २० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म थियो ।
कर्णाली कोरिडोरअन्तर्गतको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलास्थित कर्णाली नदीमा गत असार २२ मा बेलिब्रिज निर्माण भएपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । सडक पुगेसँगै सस्तो ढुवानीले उपभोग्य वस्तुको मूल्य आधा घटेको व्यवसायी बताउँछन् ।
सिमकोटका व्यापारी सुन्दर लामाका अनुसार अहिले खाद्यान्नको मूल्य प्रतिकिलो कम्तीमा ८० देखि १ सय रुपैयाँसम्म घटेको छ । ‘कहाँ जहाजको प्रतिकिलो १ सय २५ रुपैयाँ ढुवानी भाडा, कहाँ गाडीको प्रतिकिलो २० देखि २५ रुपैयाँ !’ उनले भने, ‘अहिले नेपालगन्ज र सुर्खेतमा पाइने सबै सामान यहीँ पाइन्छ, त्यो पनि भाडा र नाफा २०/३० रुपैयाँ जोडेर ।’
सुन्दरका अनुसार जहाजमा भनेका बेला ढुवानी गर्न नपाइने भएकाले खाद्यान्नको मूल्य अचाक्ली महँगो थियो । अहिले प्रतिकिलो ९० रुपैयाँमा मैदा, १ सय ३० मा चिनी र १ सय रुपैयाँमा चिउरा पाइने उनले जानकारी दिए । एक वर्ष अघिसम्म यी सबै खाद्यान्नको भाउ प्रतिकिलो २ सय रुपैयाँभन्दा माथि थियो । यातायात सञ्चालनमा आएपछि चामल, दाल, तेल, चिनी, एलपी ग्यासलगायत दैनिक उपभोग्य वस्तुको मूल्य कम्तीमा ४० प्रतिशतले घटेको उनको भनाइ छ । उनका अनुसार अहिले गाडीबाट ३० रुपैयाँदेखि ४५ रुपैयाँ प्रतिकिलोमा सामान ढुवानी भइरहेको छ ।
अर्का व्यवसायी झलक बुढाका अनुसार खाने तेलको मूल्य पनि ६० देखि ८० रुपैयाँसम्मले घटेको छ । पहिले आधा लिटरको २ सय ३० रुपैयाँमा पाइने खाने तेल अहिले १ सय ६० मै पाइन थालेको छ । एक वर्षअघिसम्म नयाँ ग्यास सिलिन्डर ७ हजारमा पाइने गरेकामा अहिले ४ हजार ५ सय र भरेको सिलिन्डर ५ हजार रुपैयाँमा पाइनेमा २ हजार ७ सयमा झरेको उनले जानकारी दिए । ‘ग्यास सस्तिएपछि धेरैजसोले भान्सामा दाउराको प्रयोग गर्न छोड्न थालेका छन्,’ उनले भने, ‘सडक बनेसँगै धूवाँरहित भान्सा पनि बढिरहेका छन् ।’ सदरमुकाममा ग्यास र तेलको व्यवसाय गर्ने उनले एक महिनामा झन्डै ५ ट्रक सिलिन्डर बिक्री गरिसकेको बताए ।
बुढाका अनुसार सडक पुगेसँगै हुम्लाका गाउँ साना बजारमा परिणत हुन थालेका छन् । सदरमुकामसँग अन्य पालिकाहरू पनि सडक सञ्जालमा जोडिएपछि घोडा, खच्चड व्यवसाय गर्नेहरूले धमाधम ट्र्याक्टर, बस, मिनिट्रक किन्न थालेका छन् भने किसानहरू होटल, ढुवानी व्यवसाय, पसललगायतमा लगानी गर्न थालेका छन् । ‘सडकले महँगी हटायो, सुविधा भित्र्यायो,’ उनले भने, ‘सदरमुकामसम्म ठूला गाडीमा पुगेको खाद्यान्न साना गाडीमा उपभोक्ताको घरसम्म पुर्याउन थालेका छौं ।’
अहिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम र डिपोमा झन्डै ७ हजार क्विन्टल खाद्यान्न मौज्दात छ । कम्पनीका हुम्ला शाखा प्रमुख कृष्णबहादुर पुन मगरले खाद्यमा चामलको बिक्री घट्दै गएको बताए । ‘अब त बजारमै चामल सस्तियो, सबैले बजारकै चामल खान थाले,’ उनले भने, ‘पोहरसम्म दिनभर चहलपहल हुने खाद्य गोदाम सुनसान बन्न थाल्यो ।’ उनले अहिले दैनिक ५० जनासम्म स्थानीय चामल ल्याउन आउने गरेको बताए । उनका अनुसार गत वर्षसम्म यही समयमा दैनिक ५ सयदेखि ८ सय जनासम्मले खाद्यबाट चामल लिने गरेका थिए । गत आर्थिक वर्ष २०८२/८३ मा कार्यालयबाट १३ करोड रुपैयाँको झन्डै १४ हजार क्विन्टल खाद्यान्न बिक्री भएको थियो ।
अत्यधिक चिसो ठाउँ भएकाले हुम्लाका बासिन्दाले उत्पादन गरेको अन्नले मुस्किलले ३ महिना खान पुग्छ । त्यसैले हुम्लाका बासिन्दाले बाहिरकै खाद्यान्न उपभोग गर्छन् । स्थानीय बासिन्दाको जीविकोपार्जनको आधार नै जडीबुटी, पशुपालन र फलफूल व्यवसाय हो । हुम्लामा कटुकी, चिराइतो, भोल्ते, पाँचऔलेलगायत जडीबुटीको राम्रो उत्पादन हुन्छ ।
स्थानीय बासिन्दा नजिकैका सामुदायिक वनमा गई जडीबुटी संकलन गरेर आफ्नो खर्च टार्छन् । स्थानीयस्तरमा उत्पादित जडीबुटी प्रतिकिलो २ सयदेखि १ हजार रुपैयाँ प्रतिकिलोमा बिक्री हुने गरेको जडीबुटी व्यवसायी गुरु लामाले बताए । उनका अनुसार सडकले जडीबुटीको ढुवानी पनि सहज भएको छ ।
‘अहिले २० देखि ५० रुपैयाँ प्रतिकिलो गाडीमा ढुवानी गरेर जडीबुटी सुर्खेत र नेपालगन्ज पुर्याउँछौं,’ उनले भने, ‘पहिले त डेढ सय रुपैयाँ प्रतिकिलोमा जहाजमा जडीबुटी पठाउनुपर्थ्यो, जहाजले बोक्नै नमान्दा आधाजसो जडीबुटी त यहीँ कुहिन्थ्यो ।’
गाडी पुगेपछि हुम्लामा उत्पादन भइरहेको सिमी, स्याउ, मार्सी, आलु, उवा र चिनोलगायत अर्गानिक उत्पादनले सजिलै बजार पाउन थालेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । ‘अहिले खाद्यान्न र उपभोग्य सामान ल्याएका ट्रकहरूमा यताको स्याउलगायत हुम्लाको उत्पादन सहर गइरहेको छ,’ उनले भने, ‘सडकले सहरसम्मको दूरी मात्रै छोट्याएन, भान्सा सस्तियो, स्थानीयलाई जीविकोपार्जनको आधार दियो ।’
अहिले नेपालगन्जबाट आएका व्यापारीले बगैंचामै गएर प्रतिकिलो ५० रुपैयाँमा स्याउ खरिद गरी लिइरहेको उनले जानकारी दिए । सिमकोटका किसान हेम रावतका अनुसार सिमी प्रतिकिलो १ सय ५०, आलु ५० देखि ७०, उवा १ सय ५०, चिनो १ सय ६० रुपैयाँमा बाहिर गइरहेको छ । ‘यो वर्ष हुम्ली स्याउ पहिलोपल्ट व्यावसायिक रूपमा बाहिर गएको छ,’ उनले भने, ‘सडक नहुँदा अधिकांश उत्पादन कुहिएर जान्थ्यो, पशुचौपायालाई कुँडो ख्वाएर सकिन्थ्यो ।’
सडक पुगेसँगै हुम्लामा निर्माण सामग्री पनि सजिलै पाइन थालेको उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार सिमेन्ट प्रतिबोरा साढे ८ हजार रुपैयाँ पर्नेमा अहिले २ हजार रुपैयाँमा झरेको छ । त्यस्तै पहिले ३ सय ५० पर्ने किलाकाटा प्रतिकिलो १ सय ७०, ३ सय पर्ने ग्याबिन जाली १ सय ४० रुपैयाँमा झरेको छ । प्रतिकिलो २ सय ८० पर्ने फलामे डन्डी १ सय २२ र प्रतिबन्डल २२ हजार पर्ने जस्तापाता १३ हजार ५ सय रुपैयाँमा झरेको उनले जानकारी दिए ।
उनका अनुसार निर्माण सामग्रीको मूल्य घटेसँगै सदरमुकाम र आसपासका व्यापारिक केन्द्रमा स्थानीयले धमाधम पक्की घर निर्माण गर्न थालेका छन् । उनले डिजेल प्रतिलिटर ४ सय पर्नेमा अहिले १ सय ६५ र पेट्रोल प्रतिलिटर ५ सय पर्नेमा अहिले २ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । ‘निर्माण सामग्री सस्तिएपछि ठूला पूर्वाधार निर्माणको बाटो खुल्यो, १/२ महिनामै जिल्लामा विकासको अनुभूति हुन थालेको छ,’ उनले भने, ‘विकास निर्माणका कारण स्थानीयले गाउँमै रोजगारी पाइरहेका छन्, व्यापार व्यवसाय बढ्दा आर्थिक कारोबार उकासिएको छ ।’
दक्षिणतर्फ नेपाल–भारत सीमाको नेपालगन्ज–जमुनाहादेखि उत्तरतर्फ हिल्सा हुँदै चीनतर्फको नाका जोड्ने कर्णाली करिडोर ६ सय ८२ किलोमिटर लामो छ । गत वर्ष कालीकोटको खुलालुबाट नेपाली सेनाले २ सय ८६ किलोमिटर सडकको ट्र्याक खोलेपछि हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । २०५७ सालबाट निर्माण सुरु गरिएको यो सडकले कालीकोट, बाजुरा र हुम्लालाई जोडेको छ ।
