आमाको कुरुवा बसेकी २८ वर्षीया रिना मल्लिकका अनुसार घरअगाडिको झाडी सफा गर्न खोज्दा जग्गा कब्जा गर्न खोजेको भन्दै स्थानीय सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, रिना महतो, श्यामसुन्दर महतोलगायतले कुटपिट गरेका हुन् ।
What you should know
सिरहा — सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्मा चोककी ५० वर्षीया सुमित्रा मल्लिकको जिउभरि नीलडाम छन्। स्थानीय क्लिनिकमा भर्ना भएर उपचार गराइरहेकी उनी अहिलेसम्म अझै ठीकसँग बोल्न सक्ने अवस्थामा छैनन्। कान्तिपुरकर्मीले कुरा गर्दा उनले मसिनो स्वरमा भनिन्, ‘के कुरा गरौँ सर, हामी त मान्छे नै होइनौँ ।’
शरीरका ती नीलडामले दिएको पीडाभन्दा सुमित्रा जातका कारण समाजबाट भोगेको अमानवीय व्यवहार र ज्यादतिका कारण भित्रभित्रै गलिरहेकी बताइन्। सुमित्राको यो पीडाको कारण हो- जातकै कारण अछुत भन्दै बुधबार बिहान उनको परिवारमाथि भएको निर्घात कुटपिट।
विश्वकर्मा चोकस्थित सडक छेउमै पश्चिमपट्टि खोला किनारमा बसोबास गर्दै आएका उनको परिवारमाथि छिमेकीहरूले नै कुटपिट गरेका हुन् । कुटपिटबाट सुमित्रासहित ज्वाइँ संजय मल्लिक घाइते छन् । सुमित्रालाई बढी चोट लागेको छ भने सामान्य घाइते भएका ज्वाइँ संजय बुधबार सोही अस्पतालमा प्राथमिक उपचारपश्चात् घर फर्किसकेका छन् ।
आमाको कुरुवा बसेकी २८ वर्षीया छोरी रिना मल्लिकका अनुसार घरअगाडिको झाडी सफा गर्न खोज्दा जग्गा कब्जा गर्न खोजेको भन्दै स्थानीय सहदेव महतो, सुकदेव महतो, नागेन्द्र महतो, दुखरन महतो, रिना महतो, श्यामसुन्दर महतोलगायतले उनको परिवारमाथि कुटपिट गरेका हुन् ।
सुमित्राको परिवार १५ जनाको छ। यसअघि गोलबजार नगरपालिका–१३ दुर्गापुर बस्दै आएकोमा त्यहाँ पनि पटक-पटक जातकै कारण दुर्व्यवहारमा परेपछि उनीहरू १५ वर्षअघि गागन खोला किनारको सार्वजनिक जग्गामा आएर बसेका थिए । सुमित्राका श्रीमान् गणपति मल्लिक डोमका अनुसार उनीहरू यहाँ सरेर आउँदा आसपासमा खासै घर थिएनन् ।
सडक र बजारको विकाससँगै छेउछाउमा घरहरू बाक्लिँदै गए । आफूहरूमाथि कुटपिट गर्ने छिमेकीहरू करिब ७–८ वर्षअघि यहाँ आएर बसेको र त्यसयता उनीहरूले दुःख दिन सुरु गरेको गणपतिले बताए ।
उनका अनुसार ती छिमेकीहरूले आफ्ना घर अगाडि अछुत बस्दा अशुभ हुने भन्दै यहाँबाट घर सारेर गागन खोलाको बगरमा एकान्तमा गएर बस्न पटक-पटक धाकधम्की तथा दुर्व्यवहार गर्दै आएका छन् । गणपतिको घर सडकभन्दा पश्चिमपट्टि छ भने कुटपिट गर्ने छिमेकीहरूको घर पूर्वपट्टि छ ।
‘उनीहरूले कहिले एकाबिहानै डोमको मुख हेरेर दिन बिग्रियो भनेर गाली गर्छन्, कहिले देउता बिग्रियो भनेर गाली गर्छन्, कहिले यिनीहरू गन्हाउँछन् भनेर अपमान गर्छन्,’ गणपति भन्छन्, ‘हामीलाई उनीहरूले सात–आठ वर्षदेखि यस्तो दुख दिँदै आएका छन्, उनीहरूको एउटै मक्सद हामीलाई यहाँबाट भगाउनु हो ।’
करिब चार वर्षअघिको कुरा हो, गणपतिका १८ वटा सुँगुर अचानक मरे । घरमा कोही नभएको अवस्थामा कसैले सुँगुरलाई विष खुवाइदिएको उनको आशंका छ । ‘कसले विष खुवायो भन्ने कुरा हाम्रो मनलाई थाहा छ,’ उनी भन्छन्, ‘तर, बोल्दा विवाद होला भनेर भित्रभित्रै रोएर चित्त बुझायौँ ।’
जति गर्दा पनि आफूहरू त्यहाँबाट नसरेपछि ती छिमेकीहरूले एक वर्षअघि घर छेउमै रहेको हाते कलबाट पानी खान पनि रोक लगाएको गणपति सुनाउँछन् । ‘त्यस बेला हामीले केही समय त खोलाकै पानी खायौँ,’ उनी भन्छन्, ‘त्यसले स्वास्थ्यमा समस्या निम्त्याउनथालेपछि कल गाडेका छौँ ।’
सुखीपुर नगरपालिका-१० का वडाध्यक्ष देवनारायण यादवले पनि डोम परिवारमाथि पटक-पटक ज्यादति हुँदै आएको बताए। ‘डोम परिवारको घरतिर कहिले शौचालयको फोहोर पानी बगाइदिने, कहिले दुर्व्यवहार गरिदिने काम भएको छ,’ उनले भने, ‘यो एकदम गलत काम हो ।’
यता, आरोपित पक्षका दुखरन महतोले भने अछुत भनेर विवाद भएको कुरा सत्य नभएको दाबी गरे। वर्षौँदेखि रहेको सडक आफूहरूको निजी जग्गा भएको र सडकको जग्गा डोम परिवारले कब्जा गरेर राखेका कारण विवाद हुँदै आएको उनको दाबी छ । घटना विषयमा पीडित परिवारले जिल्ला प्रहरीमा बुधबार नै उजुरी दिएका छन् । तर, अहिलेसम्म प्रहरीले आरोपित पक्षसँग कुनै सोधखोज पनि गरेको छैन ।
सिरहा प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले यस विषयमा बुझ्ने काम भइरहेको बताए । ‘उहाँहरु बुधबार उजुरी लिएर आउनुभएको थियो, यस विषयमा बुझ्ने काम भइरहेको छ,’ शर्माले भने, ‘उहाँहरुको पुरानो विवाद देखिन्छ, हामी हेर्छौँ।’
