टिकटककर्ता किरण साह अदालतमा पेस, थुनछेक बहस सकियो

थुनछेक बहस प्रयोजनका लागि उनलाई अदालतमा पेस गरिएको हो ।

भाद्र १९, २०८२

शंकर आचार्य

Tiktokkarta Kiran Sah submitted to the court, the debate ended after arrest

What you should know

पर्सा — संघीय खानेपानी मन्त्री प्रदीप यादवलाई टेलिफोनबाट ज्यान मार्ने धम्की दिएको आरोपमा पर्सा प्रहरीले पक्राउ गरेकी टिकटककर्ता किरण साहलाई बिहीबार पर्सा प्रहरीले जिल्ला अदालतमा पेस गरेको छ । थुनछेक बहस प्रयोजनका लागि उनलाई अदालतमा पेस गरिएको हो ।

जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले साहलाई न्यायाधीश कमलकान्त जोशीको इजलासमा पेस गरिएकोमा दिउँसो करिब ३ बजे बहस सकिएको बताए । ‘दिउँसो करिब ३ बजे बहस सकिएको हो,’ उनले भने, ‘अब खाजा खाएपछि श्रीमान्ले यो मुद्दामा आदेश गर्नुहुने छ ।’

साहलाई थुनामै राख्ने, साधारण तारेखमा छोड्ने वा धरौटी मागेर तारेखमा छोड्ने हो तीमध्ये एक आदेश न्यायाधीश जोशीको इजलासबाट हुने छ । उनलाई शनिबार पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो । बाराको कलैया उपमहानगरपालिका–२६ घर भई हाल वीरगन्ज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएकी साहले वीरगन्जमा हैजा संक्रमण फैलिएको र आफ्ना परिवारजन अस्पतालमा भर्ना भएको तर मन्त्री यादवले हैजा नियन्त्रणका लागि कुनै प्रयास नगरेको आरोप लगाउँदै टेलिफोनबाट उनलाई गालीगलौज गर्दै ज्यान मार्नेसम्मको धम्की दिएकी थिइन् ।

मन्त्री यादवका स्वकीय अधिकृत हरेन्द्र साहको जाहेरीका आधारमा घटनापछि पर्सा प्रहरीले शनिबार किरण साहलाई नियन्त्रणमा लिएको थियो । साहविरुद्ध साइबर क्राइम, संघीय सांसदलाई ज्यान मार्ने धम्की र झुटा अफवाह फैलाएको गरी तीन कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट दुईपटक अनुसन्धानका लागि भन्दै तीन–तीन दिनको म्याद लिइसकेको छ ।

यसबीचमा साहले स्वास्थ्यमा समस्या भएको भनेपछि उनलाई लगातार दुईपटक अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या आएपछि साहलाई वीरगन्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मंगलबार रातिनै अस्पताल भर्ना भएको केही समयपछि स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरेर उनलाई पुनः जिल्ला प्रहरी कार्यालय लगिएको थियो । बुधबार बिहान फेरि स्वास्थ्यमा समस्या आएपछि उनलाई पुनः अस्पतालमा भर्ना गरी सोही दिन दिउँसो २ बजे फिर्ता ल्याइएको थियो ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले किरण साहले सोधपुछको क्रममा आफूले आवेगमा आएर मन्त्री यादवलाई ज्यान मार्ने धम्की दिएकोसम्म स्वीकार गरेको बताएका छन् । बुधबार साहले वीरगन्ज महानगरका प्रमुख राजेशमान सिंहलाई पनि मन्त्री यादवकै शैलीमा फोन गरेको टेलिफोन संवाद सामाजिक सञ्जालको माध्यमबाट बाहिरिएको छ । बुधबार नै साह र अर्की एक अज्ञात महिलाले मन्त्री यादवसँग साहले टेलिफोन संवाद गरेपछि सामाजिक सञ्जालबाट उक्त संवाद सार्वजनिक गर्नु अघि आपसमा टेलिफोनमै कुराकानी गरेको टेलिफोन संवाद पनि भाइरल भइरहेको छ ।

अर्की एक महिलासँग साहले गरेको व्यक्तिगत संवाद उनकै मोबाइलबाट प्रहरीले प्राप्त गरेको र प्रहरीबाटै लिक भएको हो कि भनी अड्कलबाजी समेत गरिँदै छ । किरणको रिहाइ र उनलाई कारबाहीको माग गर्दै वीरगन्जमा महिलाले छुट्टाछुट्टै प्रदर्शन गरिसकेका छन् ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully