प्रहरी प्रधान कार्यालय पुगेर खापुङले आईजीपीको पदभार सम्हालिसकेका छन् ।
काठमाडौँ — गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा दुवाडीले नवनियुक्त आईजीपी खापुङलाई दर्ज्यानी प्रदान गरेका हु्न् ।
१३ भदौको मन्त्रिपरिषद् बैठकले खापुङलाई आईजीपीमा नियुक्ति गरेको थियो । आईजीपी दीपक थापा ३० वर्षे सेवा अवधिबाट अवकासमा जाने भएपछि खापुङलाई बिहीबार (१९ भदौ)बाट लागू हुने गरी प्रहरी प्रमुखमा नियुक्त गरेको थियो ।
दर्ज्यानी कार्यक्रमपछि सम्बोधन गर्दै नवनियुक्त आईजीपी खापुङले प्राप्त जिम्मेवारीलाई निष्ठापूर्ण रूपमा निर्वाह गर्ने बताए । उनले प्रहरी जस्तो पवित्र संगठनमा आफू स्वेच्छाले रोजेर प्रवेश गरेको भन्दै उनले हरेक जिम्मेवारीलाई निष्पक्ष र निष्ठापूर्ण रुपमा सम्पादन गर्ने बताए ।
