सामाजिक सञ्जाल प्रतिबन्ध : 'कन्टेन्ट क्रियटर' चिन्तित, कसले के भने ?

'सरकारको यो निर्णयमा म केही 'रियाक्ट' गर्नै सकिरहेको छैन । मेरो पूरा काम नै युट्युबमा हो । अहिले विस्तारै फेसबुकमा पनि सिफ्ट भएको थिएँ । आफूले जति समय जेका लागि मिहिनेत गरेँ त्यो नै बन्द हुँदा त अलिकति 'काइन्ड अफ डिप्रेस' मै छु ।'

भाद्र १९, २०८२

दया दुदराज

Social media ban: 'Content creator' worried, who said what?

What you should know

काठमाडौँ — सरकारले सामाजिक सञ्जाल बन्दको निर्णय गरेसँगै कन्टेन्ट क्रियटरहरु चिन्तित बनेका छन् । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले युट्युब, फेसबुकलगायत २६ वटा सामाजिक सञ्जालहरुलाई बन्द गर्ने निर्णय गरेसँगै उनीहरु चिन्तित बनेका छन् । 

युट्युबमा एक्सप्रेनर भिडियो, 'ट्राभल भ्लग', 'फुड भ्लग' लगायतका सामग्री उत्पादन गर्दै आएका उनीहरुले सरकारको कदमको निन्दा गर्दै चिन्ता व्यक्त गरेका हुन् । सामाजिक सञ्जाल 'रुटिन अफ नेपाल बन्द' नामक पेजका सञ्चालक भिक्टोर पौडेलले सरकारले गलत कार्य गरेको भन्दै यसले आम मानिसको जीवनमा पनि प्रभाव पार्ने बताए । 'मैले मेरो लागि मात्रै भनेको होइन, हाम्रो सामान्य मान्छेको जीवनसँग यो जोडिएको छ । यो सबैका लागि समस्याको विषय हो । किन ब्याण्ड गर्‍यो भनेर सरकार आफै स्पस्ट छैन । यो सरकारको गलत निर्णय हो,' उनले कान्तिपुरसँग भने, 'नियमन हुनु राम्रो विषय हो तर यो नियन्त्रण स्विकार्य हुँदैन ।' 

'दि नेपाली कमेन्ट'का क्रियटर दिपेश त्रिपाठीले सरकारको निर्णय हास्यास्पद रहेको बताए । सरकारको व्यांग्य गर्दै उनले भने, 'यो २५/२६ सामाजिक सञ्जाल मात्रै किन ? बरु इन्टरनेट नै ब्याण्ड भनम् न । 'सरकारले कुनै तयारीबिना नै यो निर्णय लिनु हास्यास्पद र गैरजिम्मेवार रहेको उनले बताए । 'यो व्यक्तिगत रुपमा लिएको निर्णय होइन । यो नेपाली कांग्रेस वा एमालेले लिएको निर्णय होइन । यो नेपाल सरकारले लिएको निर्णय हो,' त्रिपाठीले भने, 'हामीले यो निर्णयबाट के चाहेका छौँ ? यसको जवाफ छ राज्यसँग ?'

यस्तै 'प्रोजेक्ट कुरा' नामक युट्युब च्यानलका क्रियटर सरोज कार्कीले पनि सरकार गलत बाटोमा हिँडेको बताए । 'सरकारको यो कदमसँग डराउनुपर्छ । सरकार गलत बाटोमा हिँडेको छ,' उनले भने, 'बोल्नचाहिँ बोल भन्ने तर अँध्यारो कोठामा लगेर थुनेर कसैको पनि आवाज नसुनोस् भन्ने खालको वातावरण सिर्जना गर्नु गलत हो ।' कार्कीले दर्ताको पाटोमा नै सरकारले बदमासी गरेको हुनसक्ने आशंका व्यक्त गरे । उनले थपे, 'दर्ता हुनुपर्छ । त्यो राम्रो कुरा हो । तर कसरी दर्ता गर्ने, के-के पाटोमा दर्ता हुने भन्ने पनि त हुन्छ । मलाई लाग्छ सरकारले यसैमा बदमासी गरेको छ।' 

'माइ डार्लिङ फुड' नामक 'फुड भ्लग'की क्रियटर मञ्जिमा मानन्धरले सरकारको नियन्त्रण गलत रहेको बताइन् । उनले आफू टिकटकमा ठगिएको किस्सा सुनाउँदै सरकारले राम्रोसँग नियमन गर्छ भन्ने कुनै आधार नभएको बताइन् । 'ल मानौं सरकारको यो निर्णय नियमनका लागि होला । हाम्रो 'डेटा' सुरक्षित होस् भनेर होला, तर टिकटक त दर्ता छ र पनि त्यहाँबाट स्क्यामहरु भइरहेको छ । भोलि युट्युब वा फेसबुक दर्ता भयो भने पनि सुरक्षित हुन्छौं भन्ने ग्यारेन्टी के छ ?' मञ्जिमाले प्रश्न गरिन् । 

अधिवक्ता तथा 'र्‍यान्डम नेपाली' नामक युट्युब च्यानलका क्रियटर राष्ट्रविमोचन तिमल्सेनाले सरकारसँग २६ वटा सामाजिक सञ्जालमात्रै बन्द हुनुको कारण खोजेका छन् । '२६ वटा मात्रै सामाजिक सञ्जाल सूचीकरण हुनुपर्ने कारण के हो ? तिनीहरु चाहिँ किन सूचीकरण हुनुपर्ने । सामाजिक सञ्जाल त अन्य पनि छन्। ती किन बन्द नभएको ?,' तिमल्सेनाले भने, 'यी २६ वटा बन्द हुनुको 'थ्रेसहोल्ड'के हो ? यो चाहिँ शंकास्पद छ ।'

यस्तै कलाकार तथा क्रियटर सञ्जोक कोइरालाले सरकारको यो निर्णयले अन्य अनलाइन व्यवसायीहरुलाई पनि असर पर्ने बताए । 'यसले गर्दा कन्टेन्ट क्रियटरहरुलाई मात्रै होइन । अन्य व्यापार विजनेसमा पनि निकै समस्या पार्छ,' कोइरालाले भने, 'केही व्यक्तिहरु नेपालमै केही गरौंला भनेर बसेका छन् उनीहरुलाई पनि लखेट्ने भयो ।' 

'इन्डेफ्त स्टोरी' नामक युट्युब च्यानलका क्रियटर सुदिप सुवेदीले पनि सरकारको निर्णय गलत भन्दै यसले सरकारको आयुसमेत निर्धारण गर्न सक्ने बताए । बिहीबार आफ्नै युट्युब च्यानलमार्फत प्रसारित लाईभमा बोल्दै उनले भने, 'यसले धेरै विषयको आयु निर्धारण गर्छ । यसले सरकारको आयु पनि निर्धारण गर्ने छ ।'

कमेडियन तथा क्रियटर सजन श्रेष्ठ भने सरकारको निर्णयका कारण आफू चिन्तित भएको बताए । उनले भने, 'सरकारको यो निर्णयमा म केही 'रियाक्ट' गर्नै सकिरहेको छैन । मेरो पूरा काम नै युट्युबमा हो । अहिले विस्तारै फेसबुकमा पनि सिफ्ट भएको थिएँ । आफूले जति समय जेका लागि मिहिनेत गरेँ त्यो नै बन्द हुँदा त अलिकति 'काइन्ड अफ डिप्रेस' मै छु ।'

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully