झुम्का कारागारमा अज्ञात रोगको संक्रमण : चार दिनमै तीन कैदीबन्दीको मृत्यु

सुरुवातमा कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएको र उपचारको क्रममा मृत्यु हुने भइरहेको हो।

भाद्र १९, २०८२

अर्जुन सुवेदी

Infection of an unknown disease in Jhumka Jail: Three prisoners died in four days

What you should know

सुनसरी — अज्ञात रोगका कारण सुनसरीको झुम्का कारागारमा चार दिनमै तीन जना कैदीबन्दीको मृत्यु भएको छ। सुरुवातमा कैदीबन्दीहरूमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र वान्ता हुने जस्ता लक्षण देखिएको र उपचारको क्रममा मृत्यु हुने भइरहेको हो।

पछिल्लो पटक बुधबार दिउँसो अचानक बेहोस् भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएका सप्तरीको राजविराज-८ का ४६ वर्षीय जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो। उनी जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका थिए।

यसअघि गत सोमबार एकैदिन दुई जना कैदीबन्दीको मृत्यु भएको थियो। कारागार प्रशासनका अनुसार सुनसरीको गढी गाउँपालिका-६ बस्ने ४८ वर्षीय रामदेव उराव र धरानका २४ वर्षीय सागर राईको मृत्यु भएको थियो। उराव कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए भने राई लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका थिए ।

शनिबार राति श्वासप्रश्वासमा समस्या देखिएपछि उराावलाई उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उरावको उपचारकोक्रममा सोमबार बिहान सवा १२ बजे मृत्यु भएको थियो । लागूऔषध मुद्दामा पुर्पक्षको लागि कारागारमा रहेका अर्का कैदी राईलाई वान्ता हुने, शरीर नचल्ने समस्या आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उनको पनि उपचारकोक्रममा सोमबार बिहान मृत्यु भएको थियो ।

कारागारमा चार दिनको अवधिमा तीन जनाको मृत्यु भएपछि जिल्ला सुरक्षा समिति सुनसरीको टोलीले अनुगमन गरी बुधबार रातिदेखि नै स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कारागारको दुवै ब्लकका कैदीहरूको स्वास्थ्य परीक्षण सुरु गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले जानकारी दिए।

मध्यरातसम्म १ सय ६० जनाभन्दा बढीको परीक्षण गरिएको उनीहरूको रिपोर्ट आएपछि बिरामीको कारण खुल्ने उनले बताए । झुम्का कारागारको दुबै ब्लकमा गरी १ हजार ७ सय ९४ जना कैदी रहेका छन्। 

अर्जुन सुवेदी

Link copied successfully