गोरखामा बढ्दै डेंगी र स्क्रब टाइफसको संक्रमण

समुदायस्तरमा सचेतना कार्यक्रमसहित सरसफाइ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जिल्ला दैविक प्रकोप उद्धार समितिले निर्देशन दिएको छ ।

भाद्र १९, २०८२

हरिराम उप्रेती

Dengue and scrub typhus infections on the rise in Gorkha

What you should know

गोरखा — गोरखाका ४५ जनामा डेंगी र १०४ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । साउनदेखि भदौ दोस्रो सातासम्म जिल्लामा डेंगी र स्क्रब टाइफसको संक्रमितको संख्या बढेको स्वास्थ्यकर्मी बताउँछन् । साउनयता प्रादेशिक अस्पताल गोरखामा परीक्षणका क्रममा १२ जनामा डेंगफ र ४० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

जिल्लाका अन्य ५ पालिकामा पनि परीक्षणका क्रममा डेंगी र स्क्रब टाइफस संक्रमित भेटिएको प्रदेश स्वास्थ्य कार्यालय गोरखाका नारायण अर्यालले जानकारी दिए । भीमसेन थापा गाउँपालिकाका १३ जनामा डेंगी र ३० जनामा स्क्रब टाइफस देखिएको छ । त्यस्तै आरुघाट गाउँपालिकाका १० जनामा डेंगी र १० जनामा स्क्रब टाइफस देखिएको छ । पालुङटार नगरपालिकाका ७ जनामा डेंगी र २३ जनामा स्क्रब टाइफस, सहिद लखनका ३ जनामा डेंगी र अजिरकोट गाउँपालिकाका १ जनामा स्क्रब टाइफस संक्रमण देखिएको उनले बताए । 

बुधबार बसेको जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले डेंगीको बढ्दो अवस्था रहेकाले स्थानीय तह र सरोकारवाला निकायलाई समुदायस्तरमा सचेतना कार्यक्रमसहित सरसफाइ अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएको छ ।

स्वास्थ्य संस्थाहरुलाई न्यूनतम औषधिको मौज्दातसहित तयारी अवस्थामा रहन पनि भनिएको छ । डेंगी संक्रमण देखिन थालेपछि पालिकाहरुले पनि लामखुट्टेको लार्भा खोज र नष्ट गर्न अभियान सञ्चालनका लागि सरोकारवाला निकायलाई आग्रह गरेका छन् । 

सहिद लखन गाउँपालिकाले शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयलाई साप्ताहिक रुपमा सरसफाइ अभियान सञ्चालन गर्न आग्रह गरेको छ । आ–आफ्नो क्षेत्रमा रहेका पानी जम्न सक्ने खाल्डाखुल्डी, सिसा/प्लास्टिकका बोतल, प्रयोगविहीन भाँडाकुँडा तथा पुराना टायरको व्यवस्थापन गर्न भनिएको हो । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully