दक्षिण कोरियामा इ–७ भिसामा श्रमिक पठाउने प्रक्रिया सुरु भइसकेको छैन : विभाग

विभागले सामाजिक सञ्जाललगायत अनाधिकृत तवरले इ–७ भिसामा दक्षिण कोरिया पठाउँछु भनी रकम माग गरेमा वा आश्वासन दिनेबारे जानकारी दिनसमेत अनुरोध गरेको छ ।

भाद्र १८, २०८२

कान्तिपुर संवाददाता

The process of sending workers on E-7 visas to South Korea has not yet started: Dept

काठमाडौँ — वैदेशिक रोजगार विभागले दक्षिण कोरियामा इ–७ भिसामार्फत श्रमिक पठाउने प्रक्रिया सुरु नभएको जनाएको छ । इ–७ भिसामार्फत दक्षिण कोरिया पठाइदिने भन्दै गैरकानुनीरुपमा प्रचार गरी रकम असुली भइरहेको सूचना आएकोले विभागले ध्यानाकर्षण भएको जनाएको हो ।

‘विभागबाट हालसम्म आधिकारिक रुपमा इ–७ भिसामा पठाउने प्रक्रियास्वरुप कुनै पनि संस्थालाई पूर्वस्वीकृति दिने कार्य सुरु नभएको जानकारी गराइन्छ,’ मंगलबार विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरियास्थित नेपाली राजदूतावासबाट मागपत्र प्रमाणीकरणका लागि कुनै पनि आवेदन नआएको व्यहोरा जानकारी गराइएको छ ।’

विभागले सामाजिक सञ्जाललगायत अनाधिकृत तवरले इ–७ भिसामा दक्षिण कोरिया पठाउँछु भनी रकम माग गरेमा वा आश्वासन दिनेबारे जानकारी दिनसमेत अनुरोध गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जारी गरिएको कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि–२०८० कार्यान्वयनको चरणमा रहेको विभागले जनाएको छ । कोरियास्थित नेपाली दूतावासका अनुसार रोजगारदाता मागपत्र प्रमाणीकरण गर्न आएपछि मात्रै श्रमिकको भर्ना प्रक्रिया सुरु हुनेछ । तर, अहिलेसम्म रोजगारदाता कम्पनी नेपालबाट सीपयुक्त जनशक्ति लैजाने भनेर मागपत्र पेस गरिसकेको छैन ।

रोजगारदाता अनुमति प्रणाली (ईपीएस)बाट अदक्ष श्रमिकमात्रै लैजाने गरेको छ । ईपीएसबाट दक्ष श्रमिक नलैजाने भएपछि सरकारले निजी क्षेत्रको संलग्नतामा दक्ष श्रमिक पठाउने बाटोलाई खुला गरेको श्रम मन्त्रालयले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully