चीन भ्रमणबाट स्वेदश फर्किए प्रधानमन्त्री ओली

‘चीनको ग्लोबल डेभलेपमेन्ट इनिसिएटिभ’ लाई समर्थन गरेको हो, अरू कुरामा समर्थन जनाएको छैन : अमृत राई, परराष्ट्र सचिव

भाद्र १८, २०८२

राजेश मिश्र

Prime Minister Oli returned home from his visit to China

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली बुधबार जनवादी गणतन्त्र चीनको भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली भदौ १४ देखि १८ गतेसम्म ५ दिने चीनको भ्रमण गरेका हुन् ।

चीनको तियानजिन सहरमा १५–१६ भदौमा आयोजित सांघाई सहयोग संगठन(एससीओ) को २५ औं शिखर सम्मेलनमा भाग लिन ओली चीन गएका थिए ।

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार तियानजिनमा भएको वार्ता पछाडि चीनको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालले जीएसआईलाई समर्थन गरेको चिनियाँ दाबीका कारण प्रधानमन्त्रीको भ्रमण विवादमा तानिएको छ । जीएसआई (ग्लोबल सेक्युरिटी इनिसिएटिभ) चीनको सुरक्षा रणनीति हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्रीको भ्रमण टोलीका सदस्य परराष्ट्र सचिव अमृत राईले नेपालले चीनको ‘ग्लोबल डेभलेपमेन्ट इनिसिएटिभ’ लाई समर्थन गरेका बताए । ‘अरू कुरामा समर्थन जनाएको छैन । त्यसमा स्पष्ट हुनु होला । हाम्रा कुराहरु स्पष्ट राखेका छौं,’ उनले भने ‘नेपाल सरकारको नीति जे छ, त्यही कायम हुन्छ ।’

Prime Minister Oli returned home from his visit to China

चीनबाट फर्किएपछि पत्रकारहरूसँग प्रधानमन्त्री ओलीले भने साक्षात्कार गरेनन् । परराष्ट्र सचिव राईले एससीओ शिखर संगठनमा नेपालको सहभागिता मार्फत नेपालको राष्ट्रिय हित प्रवर्द्धन भएको बताए । चिनियाँ राष्ट्रपति सीसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपालको भूभाग लिपुलेक नाकाबाट व्यापार गर्ने भारत र चीनबीच भएको सझदारीप्रति आपत्ति जनाएको उनले जानकारी दिए । ‘सम्मानीय प्रधानमन्त्रीज्यूले उक्त समझदारी कार्यान्वयन नगर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो,’ राईले उल्लेख गरे ।

Prime Minister Oli returned home from his visit to China

चिनियाँ राष्ट्रपति बाहेक प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए । त्यस अवसरमा प्रधानमन्त्री ओलीले पुटिनलाई नेपाल भ्रमणको निमन्त्रणा गरेको राईले जानकारी दिएका छन् । रूससँगको सम्बन्धलाई अझ सुदृढ तुल्याउने र व्यापार, लगानी, शिक्षा तथा संस्कृतिका साथै हवाई सम्पर्कका क्षेत्रमा परस्पर लाभदायक सहयोग प्रवर्द्धनका विषयमा दुई नेताबीच छलफल भएको उनले बताए । प्रधानमन्त्रीले लाओसका र माल्दिभ्सका राष्ट्रपति तथा भियतनाम र कम्बोडियका प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए ।

तियानजिन पछि प्रधानमन्त्री ओली भदौ १७ मा बेइजिङ पुगेका थिए । त्यहाँ चिनियाँ उपराष्ट्रपति हान चङ्गसँग द्विपक्षीय भेट गरी नेपाल चीन सम्बन्धका विविध विषयहरूमा छलफल गरेका थिए । भदौ १८(सेप्टेम्बर ३) मा जापानी अतिक्रमणविरुद्ध चिनियाँ युद्ध तथा विश्व फासिस्टवाद विरोधी युद्ध विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी भएर त्यही दिन नेपाल फर्किएका हुन् । प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपतिसँग गरेको द्विपक्षीय भेटघाट तथा अन्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग गरेको वार्ताबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा थप अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुगेको राईले बताएका छन् । प्रधानमन्त्रीको भ्रमण दलमा उनकी धर्मपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, शिक्षा मन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्री पाण्डे र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडा तथा सरकारका उच्च अधिकारीहरू सहभागी थिए ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully