महाकाली र जोगबुडामा पानीको बहाव घट्दै, विस्थापित भने विद्यालयमै

वर्षा कम भएपछि पनि त्रासका कारण विस्थापित अहिले नै घर फर्किन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

भाद्र १७, २०८२

भवानी भट्ट

Water flow is decreasing in Mahakali and Jogbuda, displaced people are in schools

कञ्चनपुर — लगातारको वर्षापछि आएको बाढीका कारण दोधारा चाँदनी नगरपालिकाका विभिन्न वडाका विस्थापित बासिन्दा अझै विद्यालयमै बसिरहेका छन् ।

वर्षा कम भएपछि महाकाली र जोगबुडा नदीको बहाव घटे पनि त्रासका कारण विस्थापित अहिले नै घर फर्किन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । 

‘बहाव घटदै गएको छ, साँझसम्म वर्षा नभए केही विस्थापित घर फर्किन सक्ने अवस्था हुन्छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराले भने, ‘अहिले महाकाली र जोगबुडा दुवै नदीको बहाव घटिरहेको छ, बिस्तारै डुबान पनि कम हुन्छ ।’ महाकालीको बाढीले जोगबुडा नदीको बहाव रोकिँदा नदी किनारका आधा दर्जन बस्तीहरु डुबानमा परेका थिए । 

वडा नं. ३ को पटेराखल्ला, वडा नं. ८ को रामपुरे टापु र जर्गा टोल तथा वडा नं. १० को शन्ति टोल लगायतका क्षेत्रबाट ५४ परिवार विस्थापित भएको प्रहरीले जनाएको छ । साथै वडा नं. ७ र १० मा रहेको सशस्त्र प्रहरीको बीओपीसमेत विस्थपित भएको छ । 

‘नदी किनारमा डुबान अझै घटिसकेको छैन,’ दोधारा चाँदनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुले भने, ‘नदीको बहाव घट्दै गएपछि साँझसम्म डुबान पनि घट्न सक्छ ।’ उनले विस्थापितहरु सबै विद्यालयमा बसिरहेको बताए । 

प्रहरीका अनुसार महाकाली नदीको बहाव पनि घटदै गएको छ । सोमबार साँझ २ लाख ३८ हजार क्युसेक पुगेकामा मंगलबार बिहान ७ बजेको मापन अनुसार १ लाख ७४ हजार क्युसेकमा झरेको छ ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully