ट्रायथलनका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र घोडचढीका अध्यक्ष रवि राजकर्णिकारलाई दुई वर्षे प्रतिबन्ध
काठमाडौँ — सरकार समर्थित नेपाल ओलम्पिक कमिटी तदर्थ समितिका दुई महत्त्वपूर्ण सदस्यलाई ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले दुई वर्षको प्रतिबन्ध लगाएको छ ।
ओसीएले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकार कारबाही गरेको हो ।
ओसीएले त्यसअघि तदर्थ समितिका संयोजक ध्रुवबहादुर प्रधानलाई पत्र लेख्दै आफ्नो लोगो प्रयोग नगर्न र प्रयोग गरिरहे कानुनी कारबाही गर्ने चेतावनी दिएको थियो । ओसीएको अगस्ट २८ मा बसेको बैठकको निर्णयअनुसार श्रेष्ठ र राजकर्णिकारलाई पत्र लेख्दै अबको दुई वर्ष ओसीएसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको हो ।
ओसीएले एथिक्स कमिटीको निर्णय र सिफारिसमा यो निर्णय गरेको जनाएको छ । यो प्रतिबन्ध तत्काल लागू हुनेछ । एथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारंगीले पत्र लेख्दै प्रतिबन्धबारे जानकारी दिएको थियो । यसअघि श्रेष्ठ र राजकर्णिकार दुवैलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरू दुवै प्रधान नेतृत्वको तदर्थ समितिका सदस्य छन् ।
ट्रायथलनका अध्यक्ष निलेन्द्रराज नेपाल ओलम्पिक कमिटीको पछिल्लो कार्यसमितिका महासचिव थिए । उनी अहिले तदर्थ समितिले बनाएको सचिवालय प्रमुख पनि हुन् । राजकर्णिकार यसअघि ओलम्पिक कमिटीको विभिन्न पदमा रहेर काम गरिरहेका व्यक्तित्व हुन् । उनीहरूमाथिको कारबाहीले विशेषतः नेपालमा हुने ट्रायथलनका अन्तर्राष्ट्रिय गतिविधिमा पनि प्रभावित हुनेछ । यस्तै उनीहरू आ–आफ्नो संघको अध्यक्षमा कायम नरहन सक्छन् ।
