प्रजनन केन्द्रका दुई हात्ती कतार पठाइँदै, एसीयुक्त वातावरणमा राखिने

कतारले २ वर्षअघि हात्तीको माग गरेको थियो, अब नेपालले दुई हात्ती र दुई माउतेलाई चाँडै पठाउने तयारी गरेको छ।

भाद्र १७, २०८२

नारायण शर्मा

Two elephants from the breeding center are being sent to Qatar, to be housed in an air-conditioned environment

What you should know

नवलपरासी — चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएका दुई हात्ती कतार पठाइने भएका छन् । प्रजनन केन्द्रमा हुर्किएर तालिमपछि सौराहा हात्तीसारमा रहेका रुद्रकली र खगेन्द्र प्रसादलाई आगामी कात्तिकभित्र कतार पठाइने भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता हरिभद्र आचार्यका अनुसार कतारले कूटनीतिक माध्यममार्फत २ वर्षअघि २ वटा हात्ती मागेको थियो । सम्पूर्ण प्रक्रिया पूरा गर्न २ वर्ष लागेको हो ।

कतारको चिडियाखानामा राख्नका लागि नेपालका दुई हात्ती पठाइने भएकाले त्यहाँ राख्ने स्थान र वातावरणसमेत अध्ययन गरिएको विभागले जनाएको छ । विशेषज्ञको प्रतिवेदनका आधारमा त्यहाँ हात्ती राख्दा बाँच्ने अवस्था देखिएकाले पठाउन लागिएको हो । हात्तीसँग दुई जना माउते पनि केही समयका लागि कतार जाने छन् ।

अत्यधिक गर्मी हुने कतारको चिडियाखानामा एसीयुक्त (चिसो) वातावरणमा हात्ती राख्ने व्यवस्था मिलाइएको छ । कतारमा तापक्रम प्रायः ४५–५० डिग्रीभन्दा माथि रहने भएकाले एसीमा राख्ने प्रबन्ध गरिएको हो । चितवन निकुञ्ज आसपासको जस्तै सुहाउँदो वातावरण बनाउन प्रबन्ध मिलाइएको विभागले जनाएको छ ।

हात्तीले खाने घाँस भारतबाट विमानमार्फत लैजाने व्यवस्था कतार सरकारले मिलाएको छ । पछि नेपालबाट पनि लैजान सकिने सम्भावना रहेको प्रवक्ता आचार्यले बताए ।

भैरहवा विमानस्थलबाट कतारमा हुने सिधा उडानमार्फत चार्टर विमान प्रयोग गरी हात्ती पठाइनेछ । कतारका सरकारी अधिकारी विमान चार्टर गरेर लिन आउनेछन् । कतारको राजधानी दोहामा रहेको चिडियाखानामा यी हात्ती राखिने छन् । निकुञ्जका प्राविधिकले त्यहाँ हात्ती राख्ने स्थान र अवस्थाको निरीक्षण तथा जाँचबुझ गरिसकेका छन् ।

चितवनबाट महेन्द्र राजमार्ग हुँदै नवलपरासीमार्फत भैरहवा विमानस्थलसम्म लगिनेछ । आचार्यका अनुसार दाउन्ने राजमार्ग बिग्रँदा हात्ती लैजान ढिलाइ भएको हो । सडक सहज भएसँगै प्राविधिकहरू हात्ती भैरहवा पुर्‍याउने तयारीमा रहेका छन् ।

कतारका अधिकारी र हात्तीका जानकार आएर चार्टर विमानमार्फत हात्ती लैजानेछन् । हात्ती राख्ने फलामे खोर निर्माणको प्रक्रिया सुरु भएको र निर्माण सम्पन्न भएपछि हात्ती पठाइने आचार्यले जानकारी दिए । भैरहवा पुग्दा लाग्ने सम्पूर्ण खर्च कतार सरकारले बेहोर्ने सम्झौता भएको छ ।

रुद्रकली (पोथी) ७ वर्षकी र खगेन्द्र प्रसाद (भाले) ६ वर्षका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले हात्तीको आकार नापेर खोर निर्माण प्रक्रिया अघि बढाएको छ । दुई वटा छुट्टाछुट्टै खोर र दुई वटा ट्रकमा राखेर हात्ती सौराहाबाट लुम्बिनीस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगिनेछ ।

कतार र नेपालबीचको सम्बन्ध बलियो बनाउन र नेपालको जैविक विविधताको महत्त्व अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन वन्यजन्तु उपहार दिन लागिएको आचार्यले टेलिफोनमा बताए ।

नेपाल सरकारले २०४४ सालमा भारतबाट १६, म्यानमारबाट २ र थाइल्यान्डबाट २ गरी २० वटा हात्ती ल्याएर चितवन निकुञ्जमा स्थापना गरेको हात्ती प्रजनन केन्द्रले हालसम्म ६८ वटा हात्ती जन्माइसकेको छ । प्रजनन केन्द्रमा जन्मिएका हात्ती उपहार दिन लागिएको यो पहिलो पटक हो ।

यसअघि विभिन्न देशमा अन्य वन्यजन्तु पठाइसकिएको छ । कतारको चिडियाखानामा पठाइने हात्तीलाई परिचित गराउन यहाँका दुई माउते पनि कम्तीमा एक महिनाका लागि कतारमा रहनेछन् । उनीहरूले त्यहाँका दुई माउतेलाई हात्तीको चालचलन र स्याहार गर्ने तरिका सिकाएर फर्किनेछन् । माउते लैजाने व्यवस्था समेत कतार सरकारले गर्नेछ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully