काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले श्रम सम्झौता भएका मुलुकसँग हुलाक सम्झौता गर्नुपर्ने बताए, जसले हुलाकको प्रभावकारिता बढाउनेछ।
काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले श्रम सम्झौता भएका सबै मुलुकसँग हुलाक सेवासम्बन्धी सम्झौता गर्नुपर्ने बताएका छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालको हुलाकप्रतिको विश्वास र प्रभावकारिता बढाउन श्रम सम्झौता भएका मुलुकसँग हुलाक सम्झौता गर्नुपर्ने अपरिहार्य आवश्यकता रहेको बताए । उनले नेपाली नागरिक बसोबास गर्ने देशमा समेत हुलाक सेवा विस्तार गर्नुपर्ने बताए । उनका अनुसार नेपाली नागरिक भएका सबै देशमा हुलाक सेवा विस्तार भए मात्र संस्थाप्रतिको विश्वास र प्रभावकारिता बढ्नेछ ।
मन्त्री गुरुङले भने, ‘नेपालसँग श्रम सम्झौता भएका सबै देशमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्छ । जहाँ जहाँ नेपाली डायस्पोरा छ, ती ती देशमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्छ । यति गर्न सकियो भने मात्र यो हुलाकको काम हुन्छ । त्यसो गर्न सकियो भने मात्र हुलाकप्रतिको विश्वास र प्रभावकारिता पनि बढ्छ । अर्को कुरा, नेपाली नागरिक बसोबास गरेका सम्पूर्ण देशसँग पनि हुलाक सम्झौता गर्नुपर्छ । यति काम गर्न सकियो भने हामीले हुलाकलाई राम्रो संस्थाको रूपमा विकास गर्न सक्छौँ ।’
उनले हुलाक सेवा विभागले तिर्नुपर्ने बाँकी बक्यौताको लागि अर्थ मन्त्रालयसँग आवश्यक पहल गर्ने आश्वासन दिए ।
