भदौ १६ मा दर्ता भएको निवेदनले विशेष साधरणसभा रोक्न अनुरोध गर्दै वार्षिक साधरणसभा नबोलाइएको कारण सोधेको छ।
काठमाडौँ — नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी भदौ २४ गते गर्न लागेको विशेष साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सोमबार नाडालाई चिठ्ठी पठाउँदै प्रशासनले विशेष साधारणसभा बोलाउनका लागि गरिएका निर्णयहरूसहित सात दिनभित्र प्रशासन कार्यालयमा उपस्थित पनि अनुरोध गरेको छ ।
‘गैरकानुनी तरिकाले बोलाउन लागिएको विशेष साधरणसभा रोकी पाउँ भनी यस कार्यालयमा भदौ १६ गते निवेदन दर्ता भएकाले विधानबमोजिम वार्षिक साधरणसभा नबोलाई के–कति कारणले विशेष साधरण् सभा गर्न लागिएको हो ?,’ चिठ्ठीमा भनिएको छ, ‘जिल्ला प्रशासन कार्यालयमा पटक–पटक विधान संशोधनका विषयमा छलफल भएपनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो ? ’
यसैको सन्दर्भमा अटो व्यवसायीसँग मंगलबार छलफल भइरहेको जिल्ला कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईले बताए । छलफलकै क्रममै रहेकाले केही निर्णय भइनसकेको उनले सुनाए ।
